नेकपा (क्रान्तिकारी माओवादी) को संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संगठन निर्माणको आधार तयार क्रान्तिको वातावरण निर्माण र प्रतिक्रियावादी संविधानको भण्डाफोर गर्न स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति अनुरुप पहिलो र दोस्रो चरणमा गरिएको निर्वाचनलाई क्रान्तिकारी उपयोग गरी असोज २ गते तेस्रो चरणको स्थानीय तहको चुनावलाई पनि क्रान्तिकारी उपयोग गर्दैछ । जस अनुरुप प्रदेश नम्बर २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेस, एमाले, माके र मधेशवादी दललगायतले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । जसका कारण सबैले आफ्नो पल्लाभारी बनाउनका लागि साम, दाम, दण्ड र भेदको नीति अनुरुप मैदानमा खटिएका छन् ।
यहाँ सबै दलका आ–आफ्नै दाउपेच रहेको देखिन्छ । कांग्रेस पहिलो र दोश्रो चरणमा भएको निर्वाचनको क्षतिपुर्ति प्रदेश नं. २ को निर्वाचनबाट पुरा गर्ने र जसरी पनि पहिलो दल बन्ने दाउमा देखिन्छन् । एमाले अहिलेसम्म प्राप्त नतिजालाई निरन्तरता र मधेशमा पनि आफ्नो वर्चस्व छ भन्ने कुरा देखाउन चाहन्छ । माके पहिलो र दोश्रो चरणमा भएको निर्वाचनले विचलित भएका नेता कार्यकर्ता पंक्तिलाई थामथुम पार्ने रणनीति अनुरुप प्रदेश नं. २ को निर्वाचनबाट केहि राहत प्राप्त गरी मधेशमा आफ्नो साख अझैं बाँकी छ भन्ने देखाउन चाहन्छ ।
संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी लगायतका मधेशवादी दलहरु क्षेत्रीय दल भएकोले आफ्नो प्रभुत्व छ भन्ने प्रमाणित गर्न चाहन्छन् । जसका कारण पार्टीका प्रमुख नेता लगायत अधिकांश केन्द्रीय स्तरका नेताहरु सप्तरी देखि पर्सा सम्म र जिल्लाकै वरिपरी परिक्रमा गरिरहेका छन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली, माकेका अध्यक्ष प्रचण्ड लगायत नेताहरु रोदन गरिरहेका देखिन्छन् । चौतर्फी चर्का चर्का भाषण गर्दै र भोटको लागि हारगुहार गर्दै हिंडिरहेका छन् । ‘जसरी पनि हामीलाई जिताईदिनु प¥यो’ भन्दै रोईकराई समेत गरिरहेका छन् ।
तराई मधेशका जनतालाई भ्रम सिर्जना गराउनका लागि मरिहत्तेका साथ जस्ता सुकै प्रतिबद्धतामा पनि देउवा, ओली र प्रचण्ड तछाडमछाड गरि प्रतिस्पर्धा गरिरहेका छन् । तर बिडम्बना खोक्रा भाषण र चिल्ला कुरा बाहेक अरु केहि नभएको प्रष्ट देखिन्छ । आज भन्दा १ महिना अघि तराई मधेशमा डुबान हुँदा कोही कसैको खासैं चासो र चिन्ता नहुनु र अहिले भोटको लागि मरिहत्ते गर्नुले जनतामा यि दलहरु प्रति घृणा रहेको पाइयो भने साँच्चै क्रान्तिकारी विकल्प खोजिरहेको पनि देखियो । जनताले नै प्रश्न गर्ने गर्छन् के हामी साँच्चै भेडा बाख्रा नै हौं त ।
गाउँका केहि टाठावाठाहरुले एकमुष्ठ पैसा लिने र भोट खरिद विक्री गर्ने गरेको स्थिति रहेको समेत पाइयो । निर्वाचन आयोग आचार संहिताको कुरा गर्छ तरा आचारसंहिता पहुँच र पैसावालाहरुहरुलाई लागेको देखिदैन । प्रशासन शक्तिको सेवा गर्न झैं तल्लिन देखिन्छ । सबै नीति नियम पहुँच विनाका सामान्य मान्छेहरुलाई मात्र लागेको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका मन्त्रीहरु खुलेआम भाषण गर्दै र भोट माग्दै हिँडिरेका छन् तर निर्वाचन आयोग मौन छ र प्रशासन निरिह छ ।
वास्तवमै पैसाको खोलो बगाउनमा तछाँड–मछाड गरिरहेका छन् । कसले भन्दा कसले बढि खर्च गर्ने भन्नेमा प्रतिस्पर्धा देखिन्छ होटल, लजहरुमा निशुल्क रक्सी, मासु लगायत खाना बस्नको लागि व्यवस्था गरिएको छ । मोटर साइकलमा पेट्रोल देखि दैनिक ज्याला र भत्ताको समेत व्यवस्था गरेको छ । पतकर जसरी पैसा विच्छाइएको अवस्था छ । कसले को भन्दा बढि पैसा खर्च गर्ने भन्ने होडबाजी देखिन्छ । समग्रमा हेर्दा पैसाको खोला नै बगाईएको छ । साँच्चै प्रदेश नं. २ को निर्वाचनको सेरोफेरोलाई नियाल्दा एउटा विचित्रको जात्रा जस्तो देखिन्छ भने दलका नेताहरुको गतिविधि र चुनाव प्रचार प्रसारको स्थितिलाई हेर्दा ताण्डव नृत्य जस्तो लाग्छ ।
अचम्म र बुझ्नै कठिन नाटक जस्तो लाग्छ । जनताको जीवनस्तर साह्रै कष्टकर छ भने जीवन पीडाग्रस्त छ । ‘रोम जलिरहेको छ तर निरो बाँसुरी बजाईरहेको छ’ भन्ने कुरा यहाँको वास्तविकता र चुनावी गतिविधिले स्पष्ट गर्दछ । वास्तवमा बाढी र डुवानका कारण बाटोघाटो अस्तव्यस्त छ । सडकहरु जीर्ण छन् । कतिपय स्थानहरुमा खानेपानीको समस्या गम्भीर छ, बिजुली छैन । घरमा खानेकुरा छैन । औषधी उपचारको अभाव छ तर दलका नेताहरु र उम्मेदवारहरु भोज भतेर, जात्रा गरेर आफ्नै दुनियाँमा मस्त छन् ।
कस्तो अचम्म २÷४ प्रतिशत मुठ्ठी भरका दलाल, सामन्त र तस्करहरुको संरक्षण गर्ने लोकतन्त्र, जनतालाई शोषण गर्ने लोकतन्त्र, लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाईरहेका कुरा स्वतः पुष्टि हुन्छ । कांग्रेस, एमाले, माके, राप्रपा र मधेशवादी दलका नेताहरु जनताको कुरा गर्छन, विकासका कुरा गर्छन्, उन्नती, सम्वृद्धि र स्वाधिनताका कुरा गर्छन् तर नेपालका सबै स्रोत र साधनहरु विदेशीलाई सुम्पन्छन् । कस्तो विचित्रको कुरा छ यहाँ । यी सब गतिविधिले मधेशका जनता पनि वाक्क दिक्क मात्र होइनन् क्रान्तिकारी विकल्प खोजिरहेका छन् । संसदीय व्यवस्थाको घिनलाग्दो र फोहोरी खेल र नेताहरुको गतिविधिले स्थिति झन् जटिल र गम्भिर बन्ने प्रष्ट हुन्छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल दिनप्रतिदिन जटिल र संवेदनशील बन्दै गइरहेको छ । मुलुक दिन प्रतिदिन सिक्किमीकरणको दिशामा अघि बढिरहेको छ । भारतको नेपाल प्रतिको हेपाहा र मिचाहा प्रवृत्तिले नेपालीहरुको स्थिति असाध्यै दयनीय र कष्टप्रद छ । त्यसमा पनि भारतले घोषित र अघोषित रुपमा बनाएका पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका बाँध र सिमामा निर्माण गरेका अग्ला सडकहरुका कारण नेपालका तराई मधेशमा भूभागहरु डुबानमा पर्दै आईरहेका छन् । तर नेपाल सरकार र कथित ठूला दलका नेता भन्नेहरु यी र यस्ता गम्भीर समस्या प्रति मौन छन् ।
केबल आफ्नो सत्ता टिकाउन र पुनः सत्तामा पुग्नकै लागि लम्पसार पर्ने बाहेक अरु केहि गर्दैनन् । कांग्रेस, एमाले, माके, राप्रपा र मधेशवादी दलहरु वास्तवमै एउटै सिक्काका दुइटा पाटा मात्र छन् । रुपमा फरक देखिएता पनि सारमा एउटै छन् । सत्ताको निम्ति लम्पसार पर्नमा काही भन्दा कोहि कम छैनन् । यी सबै मधेशी र मधेशी जनताका नाममा शोषण गर्न र लुटतन्त्रलाई कायम राख्न चाहन्छन् । आज यी दलहरुमा बाहिर हेर्दा केहि भिन्नता जस्तो देखिन्छ । कांग्रेस, माके र मधेशवादी दलहरु संविधान संशोधनको विपक्षमा । तर सारमा न त यो संविधान वास्तविक मधेशी जनताको पक्षमा नै छ र न त संविधान संशोधनले मधेशी जनताको अधिकार सुनिश्चित गर्छ । संविधान संशोधन गर्नु र नगर्नुले यहाँ केहि भिन्नता राख्ने देखिदैन ।
केहि नेताहरुको स्वार्थ पुरा होला र केहि पार्टी हावी बन्ला तर मुख्यतः जनताको जीवनस्तरमा परिवर्तन संविधान संशोधनले मात्र कदापी सम्भव छैन । त्यसकारण दलाल र प्रतिक्रियावादी राज्यव्यवस्थाको पक्षमा रहेको यो संविधान पूर्ण रुपमा खारेज गरि सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको अधिकार सुनिश्चित भएको संविधान निर्माण गरिनुपर्दछ । किसान, महिला, मजदुर, आदिवासी जनजाति, मधेशी, मुस्लिम, पिछडावर्ग लगायतको अधिकार सुनिश्चित भएको संविधान निर्माण गरिनुपर्दछ ।
यो मुलुकलाई वास्तवमै एउटा सुन्दर, समुन्नत, स्वाधीन र विकसित मुलुकको रुपमा रुपान्तरण गर्नुपर्दछ । त्यसको निम्ति नेपालमा नयाँ जनवादी क्रान्तिको अपरिहार्य दिनप्रतिदिन बढ्दै गइरहेको प्रदेश नं. २ को चुनावी सेरोफेरोलाई नियाल्दा प्रष्ट हुन्छ । नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र सो पार्टीको नेतृत्वको संयुक्त मोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले क्रान्तिकारी विकल्प दिनुपर्दछ ।
नयाँ जनावादी क्रान्तिको नेतृत्वदायी भूमिका निर्वाहको निम्ति वातावरण तयार गर्नु पर्दछ । आम उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनतालाई संगठित र एकतावद्ध गरि सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने दिशामा दृढताका साथ अघि बढ्नु पर्दछ । कुहिएको र मक्किएको संसदीय व्यवस्थालाई सशस्त्र जनविद्रोह मार्फत सदाका लागि अन्त्य गर्दै नेपालमा नया जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवाद सम्मको उदात्त लक्ष्यलाई आत्मसाथ गर्नुपर्दछ । नेपालमा क्रान्ति अपरिहार्य छ र सम्भव छ ।