क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयको बैठक बस्दै, के के हुँदैछन् निर्णय ?

क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालयको बैठक बस्दै, के के हुँदैछन् निर्णय ?

माेहन वैद्य ‘किरण’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा ११ बजेपछि बस्ने बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारी र आगामी मंसिरमा हुने प्रादेशिक र संघीय निर्वाचनमा सहभागी हुने या नहुने भन्ने विषयमा निर्णय हुने बताइएको छ ।

‘पार्टीको आगामी असोज २१ देखि २५ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको आवश्यक तयारी कहाँ पुग्यो र थप तयारी के गर्न बाँकी रहेको छ, त्यसबारेमा छलफल हुन्छ’, पार्टी प्रवक्ता हरिभक्त कँडेल ‘प्रतिक’ ले भने, ‘निर्वाचनको उपयोग गर्ने या बहिस्कार गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ ।’

क्रान्तिकारी माओवादीले पार्टीको भावी कार्यनीति, कार्यदिशा, नेपाली समाजको वर्गअन्तर्विरोधको पहिचानसहित नयाँ जनवादी क्रान्तिको आधारलाई मजबुत बनाउनका लागि राजनीतिक, विचारधारात्मक र सांगठनिक तयारीका लागि राष्ट्रिय सम्मेलन गर्न लागेको हो ।

पार्टी दर्ता नगर्ने नीति बनाएको क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचनको भने देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत क्रान्तिकारी उपयोगका रुपमा सहभागिता जनाएको छ ।

जनतासँग प्रत्यक्ष रुपमा जोडिने भएकाले स्थानीय तहको निर्वाचनमा सहभागी भएपनि अब संघीय र प्रादेशिक निर्वाचनमा जाने या नजाने भन्ने विषयमा पार्टीले निर्णय गरिसकेको छैन ।