‘आचारसंहिता बेवास्ता गर्दै गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याऊ’

‘आचारसंहिता बेवास्ता गर्दै गरेको मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याऊ’

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद् विस्तारको निर्णयप्रति कडा प्रतिक्रिया जनाउँदै तत्काल सच्याउन सरकारलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको अवस्थामा गरिएको मन्त्रिपरिषद् विस्तार आचारसंहिताको गम्भीर उल्लंघन भएको आयोगको ठहर छ ।

निर्वाचन आयोगका पूर्व पदाधिकारीहरुले आयोगको आग्रह नमान्नुलाई संवैधानिक निकायको अस्तित्व सरकारले अस्वीकार गरेको रुपमा लिएका छन् ।

निर्वाचन आचारसंहिता पालनाका विषयलाई लिएर सरकारलाई बेलाबेला ध्यानाकर्षण गराउँदै आएको निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारको विषयमा विज्ञप्ति जारी गरेको यो दोस्रो पटक हो ।

यसअघिको मन्त्रिपरिषद् विस्तारलाई लिएर आयोगले सो विस्तार आचारसंहिता विपरित भएको र त्यसले निर्वाचनमा प्रभाव पार्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

सो ध्यानाकर्षणपछि आफ्नो निर्णयबाट सरकार पछि हट्ने विश्वास लिएको आयोगले त्यसको दुई साता नबित्दै पुनः सोमबार दुई राज्यमन्त्री थपिएपछि यसपटक भने उक्त निर्णय सच्याउन नै आग्रह गरेको छ ।

मन्त्रिपरिषद् विस्तारले निर्वाचनको ‘स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित’ हुने ठहर आयोगको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘पहिलोपटक ध्यानाकर्षण गराएको हो, अहिले सच्याउन नै भनेका छौं । यस्ता खालका नियुक्तिहरुले सम्बन्धित क्षेत्रको मतदातामा प्रभाव पर्न सक्छ भन्ने लागेर सच्याउन भनेका हौं ।’

आयोगले यस्तो आग्रह गरेपनि शपथ खुवाइसकेका मन्त्रीहरुलाई फिर्ता बोलाउने मनस्थितिमा सरकार देखिदैंन । सरकार गठनको अधिकार भएका प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय महासभामा भाग लिन मंगलबार अमेरिका गइसकेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आफूहरुलाई थाहै नदिए आचारसंहिता लागू गरिएको र सरकारकातर्फबाट गर्नुपर्ने कामहरु गर्नका लागि समय नदिएको भन्दै सरकारकै वरिष्ठ मन्त्रीहरुले समेत आयोगको आलोचना गर्दै आएका थिए ।