
एजेन्सी । मेक्सिकोको राजधानी मेक्सिको सिटीमा आएको शक्तिशाली भूकम्पमा परी कम्तिमा पनि १ सय ४० जनाको मृत्यु भएको छ भने दर्जनौं भत्किएका भवनबाट उद्दारकार्य जारी रहेको छ ।
उद्दारकर्मीहरुले भूकम्पबाट भत्किएका भवनहरुमा जीवित रहेका मानिसहरुको खोजी कार्य जारी राखेका छन् । अधिकारीहरुले घाइतेहरुको संख्या धेरै रहेको र भत्किएका भवनहरुमा खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने जनाएका छन् ।




७.१ रेक्टर स्केलको भूकम्पका कारण राजधानी मेक्सिको सिटी, मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । मेक्सिकोमा ३२ वर्षअघि ठीक यसै दिन आएको शक्तिशाली भूकम्पमा परी १० हजार मानिसको मृत्यु भएको थियो ।
मंगलबार मेक्सिको सिटीमा मानिसहरुले भूकम्पको समयमा कसरी उद्दारकार्य कसरी गर्ने भन्नेबारेमा अभ्यास भइरहेका बेला नै आएको भूकम्पले यो विनास निम्तिएको जनाइएको छ ।
भूकम्पपछि केही समयका लागि विमानहरुको उठान र अवतरण रोकिएको थियो भने घरहरु समेत खाली गराइएको थियो । मेक्सिको धेरै भूकम्प जाने देशमध्ये एक हो ।
यसै महिनाको सुरुमा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी क्षेत्रमा जाँदा ९० जनाको मृत्यु भएको थियो । मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एटेन्सिगो नजिक थियो ।
यो इलाका मेक्सिको सिटीदेखि करिब १ सय २० किलोमिटर टाढा रहेको छ । अमेरिकी जियोलोजिकल सर्भेले भूकम्पको गहिराई ५१ किलोमिटर रहेको जनाएको छ । भूकम्पबाट मोरलियोस राज्यमा ५४ जना र पुएब्लोमा २६ जनाको मृत्यु भएको छ ।
मेक्सिकोका राष्ट्रपति एनरिक पेना नेइटोले सडकमा नबस्न र आपतकालीन सेवालाई प्रभावित क्षेत्रसम्म पुर्याउन सहयोग गर्न आम जनतालाई अपिल गरेका छन् ।
भूकम्पका कारण राजधानीमा टेलिफोन सेवा अवरुद्ध भएको छ भने ४० लाख मानिस बिजुली बिना अन्धकारमा बस्न बाध्य छन् ।