प्रदेश २ को स्थानीय निर्वाचनका लागि मौन अवधि सुरु

प्रदेश २ को स्थानीय निर्वाचनका लागि मौन अवधि सुरु

काठमाडौं । असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

सोमबार प्रदेश नम्बर दुईका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । मौन अवधिभर निर्वाचन प्रचारसम्बन्धी कुनै पनि काम गर्न पाइने छैन ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री हटाउनु पर्ने व्यवस्था छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, प्रतीक चिह्न, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि निर्वाचन आचार संहितामा उल्लेख छ ।

निर्वाचन आयोगले शुक्रबार देखि मतदाता परिचयपत्र वितरण समेत गर्न थालेको छ ।