काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरु विरुद्ध आज दाबी विरोधको समय दिइएको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बुधबार परेको उम्मेदवारीमाथि दाबी विरोध गर्न आज १० बजेदेखि दिउँसो १ बजेसम्मको समय दिएको हो । सो समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिनेछ ।
त्यसपछि उजुरीमाथि छानबिन गरी शुक्रबार दिउँसो १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।
आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहे शुक्रबार साँझ ५ बजेसम्मको समय तोकेको छ । शनिबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ । शनिबार नै चुनाव चिह्नसमेत वितरण गरिने छ ।
प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि बुधबार १८ हजार २ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए ।



























