दक्षिणपन्थीकी कट्टर आलोचक भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या

दक्षिणपन्थीकी कट्टर आलोचक भारतीय पत्रकार गौरी लंकेशको गोली हानी हत्या

एजेन्सी । भारतकी वरिष्ठ पत्रकार तथा दक्षिणपन्थीकी कट्टर आलोचक गौरी लंकेशको गोली हानी हत्या भएको छ ।

उनले लंकेश पत्रिकाका माध्यमबाट ‘कम्युनल हार्मनी फोरम’ लाई अघि बढाएकी थिइन् । उनका बाबुले ४० वर्षअघि सुरु गरेको लंकेश पत्रिकालाई उनले निरन्तर प्रकाशन/सञ्चालन गर्दै आएकी थिइन् ।

बैंग्लोर प्रहरीका कमिश्नर सुनील कुमारले मंगलबार साँझ गौरी आफ्नै घर फर्किइरहेका बेला घर बाहिर उनीमाथि हमला भएको बताएका छन् । गौरीमाथि कुन कारणले हमला भएको हो भन्नेबारेमा अहिले नै यसै भन्न नसकिने प्रहरीको भनाई छ ।

एक प्रहरी अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भनेका छन्, ‘गोरी राज राजेश्वरी नगरमा आफ्नो घर फर्किएर ढोका खोल्न लागेका बेला उनको छातीमा दुई गोली र टाउँकोमा एक गोली प्रहार भएको थियो ।’

दक्षिणपन्थीविरुद्ध कडा रुपमा कलम चलाउँदै आएकी गौरीलाई हालै भारतीय जनता पार्टीका सांसद प्रहलाद जोशीसँग जोडिएको मानहानीको मुद्दामा दोषी ठहर गरिएको थियो ।