कोरिया र साउदी छनौट भएसँगै एसियाबाट विश्वकप खेल्ने चार टोलीको टुंगो

कोरिया र साउदी छनौट भएसँगै एसियाबाट विश्वकप खेल्ने चार टोलीको टुंगो

काठमाडौं । एसियाबाट आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागि बन्ने चारै टोलीको टुंगो लागेको छ ।

मंगलबारराति भएको एसियाली छनौटमा विजयी बन्दै दक्षिण कोरिया र साउदी अरबले आगामी रुस विश्वकपका लागि स्थान सुरक्षित गरेका हुन् ।

योसँगै एसियाबाट सिधै छनोट हुने चार टिमको टुंगो लागेको छ । यसअघि इरान र जापानले विश्वकपमा स्थान बनाइसकेका थिए ।

एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ए को खेलमा मंगलबार राति उज्वेकिस्तानसँग गोलरहित बराबरी खेल्दै दक्षिण कोरिया विश्वकपका लागि छानिएको हो ।

समूह ‘बी’ मा रहेको साउदी अरेबियाले जापानलाई १–० ले हराएर विश्वकपमा स्थान सुरक्षित गरेको हो । साउदी अरेबियाको १० खेलबाट १९ अंक भएको छ ।

जापानको २० अंक छ । साउदी अरेबिया पाँचौं पटक विश्वकपका लागि छनोट भएको हो । एसियाली क्षेत्रका अन्य छनोट खेलमा इरानले सिरियासँग २–२ गोलको बराबरी खेल्यो ।

अर्को खेलमा अस्ट्रेलियाले थाइल्याण्डलाई २–१ ले हरायो । अस्ट्रेलिया र सिरिया एसिया क्षेत्रको प्लेअफका लागि छानिएका छन् । दुई लेगमा हुने सो खेलको विजेताले विश्वकप छनोटका लागि अर्को क्षेत्रको टोलीसँग अन्तिम प्ले अफ् खेल्नेछ ।
रुसमा अर्को वर्ष हुने विश्वकपका लागि अहिलेसम्म साउदी अरब, दक्षिण कोरिया, इरान, जापान, रुस, बेल्जियम, ब्राजिल र मेक्सिको रहेका छन् ।