अमेरिकाले सैन्य उन्माद देखाए विश्वव्यापी बिनास निम्तिने पुटिनको चेतावनी

अमेरिकाले सैन्य उन्माद देखाए विश्वव्यापी बिनास निम्तिने पुटिनको चेतावनी

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाले पछिल्लो समयमा आइतबार गरेको छैटौं परमाणु परीक्षणलाई लिएर ‘सैन्य उन्माद’ प्रदर्शन नगर्न चेतावनी दिएका छन् ।

उनले सैन्य उन्मादले विश्वव्यापी विनाश निम्त्याउने चेतावनी दिएका छन् ।

चीनको फुजियान प्रान्तको सिमामेनमा भएको ब्रिक्स शिखर सम्मेलनको समाप्तीपछि बोल्दै उनले उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध लगाउनु ब्यर्थ हुने उल्लेख गर्दै भनेका छन्, ‘उनीहरुले बरु घाँस खान्छन् तर आफ्नो परमाणु कार्यक्रम छाड्दैनन् ।’

उनले उत्तर कोरियाबारे अमेरिकाले अपनाउँदै आएको कूटनीतिको पनि कडा आलोचना गरेका छन् । सुरक्षित रहेको प्रत्याभूति नभएसम्म उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम नरोक्ने भन्दै उनले अमेरिकी कदमले झनै उत्तर कोरियालाई परमाणु हतियार निर्माणको दिशातर्फ धकेलिरहेको बताए ।

उसको परमाणु कार्यक्रमविरुद्ध सैनिक कारबाही गरिनु घातक हुने बताउँदै राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि सैनिक कारबाही गरिए त्यसले विश्वव्यापी रूपमा विनास ल्याउने चेतावनी दिए ।

उनले भनेका छन्, ‘उत्तर कोरियाको परमाणु कार्यक्रमबारे शान्तिपूर्ण वार्ताबाट कूटनीतिक समाधान गर्नुको अर्को विकल्प छैन ।’

उत्तर कोरियासँग सीमा जोडिएका रुस र चीनले संयुक्त रूपमा वार्ताका माध्यमबाट समस्या समाधान गर्न तथा दक्षिण कोरियामा गर्दै आएका संयुक्त गतिविधि रोक्न आग्रह गर्दै आएका छन् ।

दुवै राष्ट्रले उत्तर कोरियालाई पनि आफ्नो आणविक कार्यक्रम स्थगित गर्न भन्दै आएका छन् । रुसले उत्तर कोरियासँग वार्ताबाट समस्या समाधानको कुरा गरिरहँदा जापानले भने राष्ट्रसंघलाई कडा प्रतिबन्ध लगाउन माग गर्दै आएको छ ।

जापानका विदेशमन्त्री तारो कोनोले उत्तर कोरियामाथि परमाणु कार्यक्रम रोक्न दबाब दिने र उत्तर कोरियासँग व्यापारिक सम्बन्ध भएका राष्ट्रलाई समेत सम्बन्ध तोड्न लगाउनुपर्ने बताएका छन् ।

यसबीच राष्ट्रसंघका निम्ति उत्तर कोरियाका राजदूत हान ते सङले आफ्नो देशले हालै गरेका परमाणु तथा क्षेप्यास्त्र परीक्षण अमेरिकाको निम्ति उपहार भएको बताएका छन् ।