काठमाडौं । भारतीय विस्तारवादका दलालहरु सत्तामा रहेकाले उनीहरुलाई सत्ताबाट नखसालेसम्म राष्ट्रघातको शृङखला नरोकिने राजधानीमा आयोजिक एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गरेको भारत भ्रमणका क्रममा भारतलाई खुसी पार्नका लागि कोशी उच्च बाँध निर्वाचन, महाकाली सम्झौता कार्यान्वयन गर्ने सहमति गरेर असमान सन्धी सम्झौतालाई खारेज गर्नुको साटो राष्ट्रघात गरेको उनीहरुको भनाई छ ।

नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माले), नेकपा (मसाल) राष्ट्रिय जनमोर्चालगायतका ९ वटा वामपन्थी पार्टीले सोमबार राजधानीमा सडक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा असमान सन्धी सम्झौतालाई वैधानिकता दिने काम भएको भन्दै त्यसको खारेज नभएसम्म संघर्ष गर्नुपर्नेमा जोड दिए ।

उनले भारतीय विस्तारवादले आफ्ना दलालहरु उभ्याएर तिनै दलालबाट राष्ट्रघात गराइरहेको भन्दै उनीहरुको भण्डाफोर गर्नुपर्ने बताए । उनले नेपालका सत्तामा रहेका भारतीय विस्तारवादका दलालहरुका विरुद्ध संघर्ष केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

यसैगरी क्रान्तिकारी माओवादीका कार्यालय सदस्य रामसिंह श्रीसले अहिलेको राष्ट्रियताको मूल समस्या भनेको यहाँको राजनीतिक सत्तामा रहेको समस्या भएको भन्दै यसमा आमूल परिवर्तन नल्याएसम्म यो समस्या कायमै रहने बताए ।

आफूहरुले विद्यार्थीकालदेखि नै भारतको हेपाहा र मिचाहा प्रवृत्तिकाविरुद्ध संघर्ष गर्दै आएको स्मरण गर्दै उनले राष्ट्रयताको मूल समस्या भनेको यहाँको राजनीतिक सत्तामा रहेको समस्या भएको भन्दै यसमा आमूल परिवर्तन नल्याएसम्म यो समस्या कायमै रहने बताए ।

आफूहरुले विद्यार्थीकालदेखि नै भारतको हेपाहा र मिचाहा प्रवृत्तिकाविरुद्ध संघर्ष गर्दै आएको स्मरण गर्दै उनले राष्ट्रघाट, जनघात, भ्रष्टाचार जस्ता समस्या जतिपटक राजनीतिक परिवर्तन भएपनि घट्नुको साटो झनै बढेको भन्दै क्रान्तिकारी शक्तिको हातमा राज्यसत्ता नआएसम्म यो समस्या कायमै रहने बताए ।

सबै पार्टीले सत्तामा नपुगुन्जेलसम्म असमान सन्धी सम्झौता खारेजीको कुरा गरेपनि सत्तामा पुगेपछि त्यही असमान सन्धी सम्झौता कार्यान्वयनतिर लाग्ने गरेका तीतो यथार्थ प्रस्तुत गरे ।

राष्ट्रघात, जनघात र भ्रष्टाचारमा अहिले सत्तामा रहेका र प्रतिपक्षमा रहेका एमालेसहित मुख्य तीन पार्टीबीच मिलेमतो रहेको बताउँदै उनले राष्ट्रियतालाई बलियो बनाउनका लागि पहिले भारतीय विस्तारवादका दलालको भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।

सीमा मिचिरहँदा र सीमाको रक्षाका लागि उत्रिएका जनता मारिदा सरकार चुँ सम्म नबोलेको उदाहरण दिँदै नेता श्रीसले यस प्रकारको दलाल सत्ताका विरुद्ध संघर्ष गर्नुबाहेक अर्को विकल्प नभएको स्पष्ट पारे ।

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले नेपाललाई उपनिवेश कायम गर्ने मनसायबाट देउवाको भारत भ्रमणका क्रममा ४६ बुँदे संयुक्त वक्तव्य आएको टिप्पणी गरे ।

भारतलाई असल छिमेकीका नाताले सबै सही कुरा बताएको भन्ने प्रधानमन्त्रीको भनाईलाई लक्षित गर्दै उनले भारतलाई साँचो भनेका प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँटेको बताए ।

उनले प्रधानमन्त्रीले कालापानी–लिम्पियाधुराबाट भारतीय सेना फिर्ता हुनुपर्ने, सुस्ता महेशपुर, इलाम, दार्चुलालगायतका जिल्लामा भारतले सीमा मिचेर सयौं वर्गकिलोमिर नेपाली भूभाग भारततिर पार्दापनि एक शब्द आफ्नो भ्रमणका क्रममा उठाउन नसकेको बताए ।

नेता बास्तोलाले भारतसँग भएका असमान सन्धी सम्झौताविरुद्ध लड्नुअघि यस्ता असमान सन्धी सम्झौता गर्ने भारतीय विस्तारवादका दलालहरुलाई ठीक पार्न जरुरी रहेको बताए । उनले सिंहदरबारमा बसेका दलालहरुले लत्याएको संविधानलाई नेपाली जनताले मान्नैपर्छ भन्ने बाध्यता नभएको समेत बताए ।

कार्यक्रममा जनमोर्चा नेपालका अध्यक्ष साध्यवहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका रामप्रकाश पुरी, नेकपा (माले) का प्रवक्ता कुमार बेलबासे लगायतले पनि भारतसँग भएका असमान सन्धी सम्झौताको चर्को आलोचना गरेका थिए ।

कार्यक्रममा बोल्दै परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले जनसांख्यिक अतिक्रमण, पानी अतिक्रमणलगायतबाट नेपालमाथि सुरक्षाको खतरा उत्पन्न भएको बताए ।

नेपालबाट बिबाह गरी भारत गएकाले ८ वर्ष नभएसम्म नागरिकताका लागि आवेदन दिन नपाउने तर भारतीयले नेपालमा बिबाह गर्नेवित्तिकै अंगिकृत नागरिकता लिने र उपप्रधानमन्त्री सम्म तत्काल बन्न सक्ने व्यवस्था खोटपूर्ण भएको बताए ।

अहिलेको २१ औं शताब्दीमा हतियारसहितको सेना बुट बजारेर आउन नपर्ने भन्दै जनसांख्यिक अतिक्रमका माध्यबाट सिंगो राष्ट्रको सुरक्षा खतरामा परेको, भारतले एयर मार्शलका नाममा सेनालाई स्थायी बसोबास गराउन खोजेको आदि घटनाबाट फिजीकरणतर्फ धकेल्ने प्रयत्न भइरहेकोमा चिन्ता व्यक्त गरे ।

नेपालमा नदेखिदो गरी सुरक्षा खतरा रहेको भन्दै सबै नागरिकलाई अनिवार्य सैनिक तालिम दिनुपर्ने र आवश्यक परेको खण्डमा सबैले राष्ट्र बचाउनका लागि मोर्चा कसेर लड्नुपर्ने उनको भनाई थियो ।

एक अर्को प्रसंगमा उनले भारतले सीमा क्षेत्रमा प्राकृतिक बहाबलाई रोकेर नदी थुन्दा तराईमा बाढी पहिरोले ठूलो बिनास निम्त्याएको भन्दै मधेस डुब्दा नबोल्ने नेता मधेसको नभएर लैनचौरको भएको आरोप पनि लगाए ।

जलस्रोतविद दिपक ज्ञवालीले २१ वर्षअघि भएको महाकाली सन्धी मृत अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले त्यसलाई अघि बढाउने सहमति गरेपनि नयाँ संसदले पारित नगरेसम्म त्यो मान्य नहुने बताए ।

६ महिनामा डिपीआर तयार पारिने सन्धीमा उल्लेख भएपनि २१ वर्षसम्म काम हुन नसकेपछि त्यो सम्झौता मृत अवस्थामा पुगेको उनको भनाई थियो ।

यस्तै अर्का जलस्रोत विद डा.गोपाल सिवाकोटी ‘चिन्तन’ ले चुनाव पैसा र गुण्डाले मात्रै जित्ने अवस्था आएको भन्दै यही राजनीतिक प्रणाली र अहिलेका पार्टीबाट देश नचल्ने ठोकुवा गरे ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कोशी उच्चबाँधजस्तो राष्ट्रघाती सम्झौता भएको भन्दै यसको खारेज गर्नुको विकल्प नभएको बताए । उनले अब सडक अन्तक्र्रिया गरेर समस्या समाधान नहुने भन्दै गैरकानुनी रुपमा बनेका बाँधहरु भत्काउन आफैं लाग्नुपर्नेमा जोड दिए ।

मोदीको गलत निर्णयका कारण केपी ओली रातारात राष्ट्रवादी बनेको बताउँदै उनले राष्ट्रघाती महाकानी सन्धी, कोशी, गण्डकलगायतका सन्धी प्रधानमन्त्री हुँदा किन खारेज गर्न नसकेको भन्दै प्रतिप्रश्न गरे ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारतले सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म सयौैं वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गर्दापनि नेपाली पक्षले जोडदार रुपमा त्यसप्रति खबरदारी गर्न नसक्नु दुःखद भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर