देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले स्थानीय तह निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति अनुरुप पहिलो र दोश्रो चरणको निर्वाचनको उपयोग क्रान्तिकारी तरिकाले गरेको छ । जुन उपयोगले संगठन निर्माणको राम्रो आधार बनेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललाई आम जनताको विचमा स्थापित गराउने नीति अनुरुप तेश्रो चरणमा यही असोज २ गते हुन गइरहेको स्थानीय तहको चुनाव अन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महत्तोरी, सर्लाही, रौतहट, बारा र पर्साका १ सय ३६ स्थानीय तहमा हुन गइरहेको निर्वाचनमा नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले क्रान्तिकारी उपयोग गर्न गइरहेको छ ।
आगामी असोज २ गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई क्रान्तिकारी उपयोगले संगठन निर्माणको राम्रो आधार बन्ने देखिन्छ । आम जनताकै बिचमा संगठनलाई स्थापित गर्ने माध्यम बन्ने छ । तर दृढ एवं दत्तचित्त भएर मैदानमा खटिनु पर्ने आवश्यकता अपरिहार्य छ । यसमा विभिन्न तह र तप्कामा रहेका जिम्मेवार कमरेडहरुले एकरुपताका साथ मैदामा खटिनु पर्दछ । चुनावमा जसरी पनि जित्नु पर्दछ भन्ने मानसिकतालाई दिलदिमागबाट हटाई मुख्य संगठन निर्माणको आधार र संगठनलाई जनताको बिचमा स्थापित गराउनु पर्दछ भन्ने मानसिकताबाट अघि बढ्नु पर्दछ । जित नै सबै चिज हो, हारियो भने सबै ईज्जत र प्रतिष्ठा नै गुम्छ भन्ने चिन्तनलाई त्याग्नु पर्दछ । पार्टीको नीतिलाई दृढताका साथ कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुपर्दछ ।
प्रदेश नं २ अन्तर्गतका जिल्लाहरुमा पुगी वस्तुगत अध्ययन गर्दा क्रमशः कतिपय जिल्लाहरुमा स्थिति सन्तोषजनक र कतिपय जिल्लाहरुमा मेहनत गर्नु पर्ने स्थिति छ । मधेशका उत्पीडित जनताहरु वास्तवमा नयाँ विकल्प, साँच्चै भन्नुपर्दा क्रान्तिकारी विकल्प खोजिरहेका छन् । क्रान्तिकारी पंक्तिको आशा, भरोसा र अपेक्षामा देखिन्छन् । काँग्रेश, एमाले, माके र मधेशवादी दलहरुलाई वास्तविक रुपमा तिरस्कार गरिरहेका छन् । तर विडम्बना सामदाम, दण्डभेदको नीति अंगालिरहेका छन् । उनीहरु जनतालाई खसी, बोका सरह किनबेच गरी चुनाव जित्ने दाउपेचमा लागिरहेका छन् ।
पैसाको खोलो बगाउनमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्ता तमासा र ताण्डव नृत्य देख्दा कुनै जात्रा पो हो कि जस्तो लाग्छ । वास्तवमै संसदीय व्यवस्था फोहोरी रहेको कुराको पुष्टि समेत हुन्छ यो स्थितिको अवलोकन गर्दा । सप्तरी देखि पर्सा सम्मको परिस्थितको आंकलन गर्दा केही सीमित मुठ्ठीभरका मान्छेहरुले आफ्नो दलगत र निजी स्वार्थको लागि जनतलाई भुलभुलैया र गुमराहमा पार्न षड्यन्त्र गरिरहेका छन् । बाटाघाटा, खानेपानी, स्वास्थ्य समस्याको पीडाबाट जनता प्रताडित छन् । जनताको जीवनस्तर अत्यन्तै कठिन अभाव र कष्टकर छ तर नेताहरुको सयर, चुनावी प्रचार प्रसार र तामझाम देख्दा बेफ्वाँकमा ठूलो धनराशीको दुरुपयोग गरिरहेको यहाँको बस्तुगत यथार्थताले पुष्टि गर्छ ।
चुनाव भनेको पैसाको प्रतिस्पर्धा रहेको कुरा यहाँको परिवेशले पुष्टि गर्दछ । तर अझै दृढताका साथ खटाईलाई दह्रो बनाउन जरुरी छ । यहाँका अधिकांश स्थानीय तहमा देजमो, नेपालले मोर्चाको नीति अनुरुप संगठन निर्माणको आधार तयार, चुनावलाई क्रान्तिकारी उपयोग गरी क्रान्तिको वातावरण तयार गराउनको लागि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका विभिन्न पंक्तिहरु अझ सशक्त, दृढ एवं गम्भीर भएर लाग्नु पर्दछ ।
काँग्रेस, एमाले, माके लगायतका दलहरुले जनतालाई चिल्ला, मिठा र गुलिइा नाराहरु बाँड्नु सिवाय अरु केही गरेको देखिदैन । वस्तुगत धरातललाई नियाल्दा यहाँका जनताको स्थिति सा¥है कष्टकर र दयनीय छ । केही समय अघिको बाढीपहिरो र डुबानले मर्माहत भएका जनताको अवस्थाप्रति कोही कसैको चासो र चिन्ता देखिदैन । जसरी पनि चुनाव जितेर आफ्नो दबदबा र रबैया कायम गर्ने मनस्थितिमा रहेका छन् ।
वास्तवमा यहाँ मजदुर, किसान, उत्पीडित, उपेक्षित र गरिखाने जनता क्रान्तिकारी छन् । उनीहरु क्रान्तिकारी पंक्तिलाई माया गर्छन । क्रान्तिको पक्षमा आवाज बुलन्द गर्छन । तर उनीहरु माझ सच्चा क्रान्तिकारी पंक्तिहरु पुगेर संगठित गर्नुपर्दछ । जुन कार्यभार हाम्रो दायित्व बन्न पुगेको छ । आमजनता र क्रान्तिकारी नेतृत्व पंक्ति बिचको खाडल फराकिलो बन्दै गइरहेको अवस्था देखिन्छ । अब तेश्रो चरणमा हुन गइरहेको प्रदेश नं २ को स्थानीय तह निर्वाचन उपयोग गर्ने सवालमा हामी ती पंक्ति माझ पुगेर मोर्चाको नीति, कार्यक्रम स्पष्ट पारी उनीहरुलाई संगठित गर्नुपर्दछ ।
अहिले क्रान्तिकारी पंक्तिले धैर्यताका साथ धेरै मेहनत गर्नुपर्ने अवस्थामा छ । अब नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले पहलकदमी लिनुका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्ने आँट गर्नै पर्दछ । सच्चा देशभक्त वामपन्थी, जनगणतन्त्रवादी, आमूल परिवर्तनका पक्षपातीहरुलाई एकताबद्ध गरी क्रान्तिको मूल प्रवाहमा समाहित गराउन क्रान्तिकारीहरुको दायित्व एवं कार्यभार बन्न पुगेको छ । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको लागि देजमो नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ । सशस्त्र जनविद्रोह मार्फत नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नीतिलाई दृढताकासाथ कार्यान्वयन लैजानु पर्दछ । नेपालमा क्रान्ति अपरिहार्य छ र सम्भव छ ।






























