सप्तरी । नयाँ निर्वाचन क्षेत्र निर्धारणमा उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार नै असन्तुष्ट देखिएका छन् ।

शनिबार सप्तरीको राजविराजमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री गच्छदारले निर्वाचन क्षेत्र निर्धारण आयोगले बनाएको नयाँ निर्वाचन क्षेत्रप्रति चित्त नबुझेको बताएका हुन् ।

उनले क्षेत्र निर्धारण गर्दा आयोगका पदाधिकारीहरुले आफूहरुसँग कुनै छलफल नगरेको समेत बताए । तराई मधेसका जिल्लामा पाँच वटासम्म क्षेत्र घटाएको बताउँदै यसबारेमा आफूले जोडदार रुपमा आवाज उठाउने बताए ।

उनले भने, ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्दा हामीहरुसँग सरसल्लाह, छलफल गरेको छैन र आयोगको प्रतिवेदनप्रति चित्त बुझेको छैन ।’

संविधानको मर्म र भावना विपरीत जातीय क्लस्टरलाई भत्काएर निर्वाचन क्षेत्र निर्धारण गरिएको उनको आरोप छ ।

अर्को फरक प्रसंगमा उनले निर्वाचन आयोगले पनि सरकारलाई काम गर्न नदिएको बताए । उनले निर्वाचनको तीन महिनाअघि नै आचारसंहिता लागु गरेर सरकारका कामकाजलाई प्रभावित पारेकाले सच्याउनु आवश्यक रहेकोमा जोड दिए ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष समेत रहेका गच्छदारले मंसिर २१ गते हुने चुनावका लागि अहिले नै आचार संहिता लागु गर्न उचित नभएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर