बेनजिर भुट्टो हत्याकाण्ड : पूर्वराष्ट्रपति मुसर्रफ भगौडा घोषित, २ जनालाई जेल

बेनजिर भुट्टो हत्याकाण्ड : पूर्वराष्ट्रपति मुसर्रफ भगौडा घोषित, २ जनालाई जेल

एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीकी नेतृ बेनजिर भुट्टोको हत्याकाण्डमा पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई भगौडा घोषित गरेको छ ।

सन् २००७ मा पाकिस्तानको रावलपिन्डीमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला बम विस्फोट गराएर भुट्टोको हत्या गरिएको थियो ।

पाकिस्तानको आतंकवाद निरोधक अदालतले करिब एक दशकपछि सो मामलामा फैसला सुनाउँदै दुई जनालाई १७ वर्षको जेल सजाय र ५ लाख जरिवाना गरिएको छ भने अन्य पाँच जनाले सफाइ पाएका छन् ।

दुईपटक पाकिस्तानी प्रधानमन्त्री बनेकी भुट्टोको ५४ वर्षको उमेरमा २७ डिसेम्बर २००७ मा रावलपिन्डीमा हत्या भएको हो ।

सो घटनालगत्तै अदालतमा मुद्दा दर्ता गरिए पनि करिब १० वर्षपछि सो घटनाको सुनुवाइ अन्त्य भएको हो ।

अदालतले यसअघि नै पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको सम्पत्ति जफत गर्न आदेश दिएको थियो । उनी गत वर्षदेखि नै पाकिस्तानबाहिर रहेका कारण उनलाई भगौडा घोषित गरिएको हो ।

न्यायाधीशले पाँच आरोपी ऐतजाज शाह, शेर जमान, हसनैन गुल, अब्दुल रासिद र रफाकत हुसैनलाई सफाइ दिएको हो । गिरफ्तार भएका पाँच संदिग्ध अडियाला जेलमा रहेका छन् ।

सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस नगरी जेलमा नै सुनुवाइ गरिएको हो । पूर्वप्रहरी अधिकारी सउद अजिज र खुर्रम शहजादलाई पूर्वप्रधानमन्त्रीजस्तो विशिष्ट व्यक्तिको सुरक्षामा लापर्बाही गरेको आरोपमा १७ वर्षको जेल सजाय सुनाइएको हो ।