महोत्तरी । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले महोत्तरी जिल्लाको बर्दिबास ४ मा कोणसभाको आयोजना गरेको छ ।
आगामी असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लामा हुने स्थानीय तह निर्वाचनको क्रान्तिकारी उपयोगको तयारीमा रहेको देजमोले स्थानीय जनतासँग अन्तक्र्रिया तथा संविधान निर्माण र परिचालन अभियान जारी राखेको छ ।
कोणसभामा बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा देजमोका कार्यालय सचिव हरिकृष्ण गजुरेलले संगठन निर्माणका आधार तयार गर्न तथा जनताका बिचमा अहिलेको संविधानको गलत पक्षको भण्डाफोरका लागि आफूहरुले क्रान्तिकारी उपयोग गर्न लागिएको बताए ।
यो संविधानमा जनताको अधिकार प्रत्याभुत नभएको र सीमित हुनेखाने तथा राष्ट्रघाती दलाल प्रतिक्रियावादीको संरक्षणको पक्षमा रहेका बताउँदै काँग्रेस, एमाले र माओवादी केन्द्रपनि रुपमा फरक देखिएपनि प्रतिक्रियावादी कित्ताकै प्रतिनिधि भएको टिप्पणी गरे ।
नेपालमा जनवादी राज्यसत्ता स्थापनाका लागि जनवादी क्रान्ति अत्यावश्यक रहेको भन्दै त्यसका लागि देजमोले नेतृत्वदायी भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।






























