आठ दिन देखि लुक्ला विमानस्थल अवरुद्ध, रोकिए पर्यटक

आठ दिन देखि लुक्ला विमानस्थल अवरुद्ध, रोकिए पर्यटक

३२ साउन, सोलुखुम्बु । मौसमको खराबीका कारण गएको आठ दिनेदेखि पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलको उडान प्रभावित हुँदा पर्यटकहरु रोकिएका छन् ।
लगातारको वर्षा र बाक्लो हुस्सुका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जानकारी दिएको छ ।

उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए ।

तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाका अनुसार अहिले पर्यटक आउने मौसममा दैनिक चारपाँचवटा उडान हुने गरेकामा आठ दिनदेखि ठप्प छ । लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकोप्टर मगाएर राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।

लुक्लाबाट फाप्लु पुग्न सामान्तया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ । जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकोले यात्रुले विकल्प पाइरहेका छन् ।