बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता, ३४ हजार घर डुवानमा

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७० पुग्यो, ५० जना बेपत्ता, ३४ हजार घर डुवानमा

काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न जिल्लामा गएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

बाढी र पहिरोमा परेर कम्तिमा ५० जना बेपत्ता भएका छन् । त्यसैगरी ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको छ । रौतहटमा ७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी झापामा ४, मोरङमा ५, महोत्तरीमा १, धनुषामा १, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।

सिन्धुली, झापा र बाँकेमा ४–४ जना, सर्लाही र सुर्खेतमा ३–३ जना, बर्दिया, दाङमा २–२ जना र कैलाली, पाल्पा, मकवानपुर, धनुषा र पाँचथरमा १–१ जनाको मृत्यु भएको छ ।

यसैगरी, सुनसरीमा ५ जना बेपत्ता भएका रहेका छन् भने, झापामा ४ जना पाँचथर र मोरङमा ३–३ जना तथा सुर्खेत र मकवानपुरमा १–१ जना हराइरहेका छन् ।

गर्भवतीसहित ६ जनाको मृत्यु
लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको ठाउँमा डुबेको थियो । राजपुर अस्पतालको सय मिटर नजिकै बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु हो ।
मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्ति भने पौडिएर ज्यान बचाउन सफल भएका छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा आएको बाढीले गौर, गरुडा र चन्द्रपुर नगरपालिका डुबानमा परेका छन् ।
लालबकैया नदीको बहाव उच्चबिन्दुमा पुगेपछि करुनिया र देवाहीसहित आधा दर्जन स्थानमा तटबन्ध भत्किएको छ । गौर चन्द्रनिगाहपुर सडकखण्डको सखुअवामा समेत बाढीले १० मिटर सडक कटान गरेको प्रहरीले जनाएको छ ।