काठमाडौं । सरकारले आज पनि मौसम बदली भई देशैभर बर्षा हुने भएकाले सतर्क रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

केही दिनदेखि लगातार परेको वर्षाका कारण तराईका जिल्ला डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोका कारण जनधनको क्षति भएको छ । जल तथा मौैसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।

भारी वर्षा हुने भएकाले पूर्वका कन्काई, कोशी, कमला, बिरिङ, त्रियुगा, बाग्मती, खाडो, रातु, लालबकैया र पूर्वी राप्तीमा बाढीका कारण पानीको सतह बढेकाले जोखिम बढेको छ ।

यसैगरी पश्चिमममा महाभारत र चुरे क्षेत्रबाट बहने नदी तथा खोलाहरुमा शनिबार बेलुकासम्म बहाव उच्च हुने हुुँदा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आह्वान गरेको छ । पश्चिम राप्ती, बबई, बाणगंगालगायत नदीमा जल सतह बढ्दो क्रममा छ ।

बाढी पूर्वानुमान शाखाले गएराति साढे ८ बजे जारी गरेको विशेष अपिल अनुसार कन्काई नदीको मैनाचुलीस्थित केन्द्रमा जलसतहले खतराको तह पार गरिसकेको छ ।

शुक्रबार बेलुकी ७ बजेर १५ मिनेटमा जल सतर्कताको तह र ८ बजेर १० मिनेटमा खतराको सतह पार गरिसकेको छ ।

‘भिषण बाढी हुने देखिएकाले कन्काई नदीको तल्लो तटीय डुबान भइराख्ने क्षेत्रमा बस्नेहरुलाई सुरक्षित स्थानमा रहनुहुन यो विशेष बुलेटिन जारी गरिएको छ,’ बाढी पूर्वानुमान शाखाले भनेको छ ।

कन्काईमा जलसतह ३.७ लाई सतर्कता र ४.२ लाई खतराको तह निर्धारण गरिएको छ । यस्तै सप्तकोशी नदीको पानीको बहाव यस वर्षकै उच्च भएको छ ।

पहिरोले ताप्लेजुङमा क्षति

अविरल वर्षाका कारण पहिरो झर्दा ताप्लेजुङमा एक घर भत्किएको छ भने दुई घर पहिरोको जोखिममा परेका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका– ३, माखाथोकमा शुक्रबार राति करिब साढे ६ बजे पहिरो झर्दा कुमार रसाईलीको घर भत्किएको छ । रसाईलीको परिवार समयमै भागेकाले मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

पहिरोले घरमा क्षति पुर्याएसँगै रसाईलिको छ जनाको परिवार छिमेकीको शरणमा पुगेको छ ।

पहिरोका कारण स्थानीय लिलबहादुर विश्वकर्मा र चन्द्र बहादुर पाख्रिङको घर पनि जोखिममा परेको छ । पहिरोले कुमार रसाईलीको एकहल गोरु र घरभित्र भएको अन्न समेत पुरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर