देशैभर बाढी पहिरोबाट ब्यापक जनधनको क्षति, २३ को मृत्यु, ४ जना बेपत्ता

देशैभर बाढी पहिरोबाट ब्यापक जनधनको क्षति, २३ को मृत्यु, ४ जना बेपत्ता

काठमाडौं । शुक्रबारराति देखि देशैभर आएको अविरल बर्षाका कारण आएका बाढी पहिरोका कारण ठूलो क्षति भएको छ ।

शनिबार बिहानसम्ममा मात्रै प्राप्त विवरणअनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ भने सयौं घरमा क्षति पुगेको छ ।

तराईका अधिकांश जिल्लामा सयौं विघामा लगाएको धानबालीमा क्षति पुगेको छ । गहमन्त्रालयले अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको मृत्यु भएको छ भने अन्य चार जना बाढीमा हराएका छन् ।

गृहमन्त्रालयले झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेको जानकारी दिएको छ । त्यसैगरी राप्ती नदीपारिको वस्ती समेत डुबानमा परेको छ ।

हालसम्म प्राप्त विवरण अनुसार सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा मृत्यु भएका बालबालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ ।

बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।

मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति पुर्याएको छ ।

त्यस्तै केराबारी–५ मा समेत बाढी पसेको छ । केराबारीको डाँगी र मुगुमा बाढीले क्षति पुर्याएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।

अविरल बर्षाका कारण विराटनगर महानगरपालिका पूरै जलमग्न बनेको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ । मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

लोहोन्द्रा, बक्राहा लगायतका खोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् ।

सिन्धुलीमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु भएको छ । दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ ।

बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ । पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् ।