काठमाडौं । वैकल्पिक राजनीतिक धारको निर्माण गर्ने भन्दै माओवादी आन्दोलनबाट बाहिरिएका डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा एक वर्षभित्रै खैलाबैला मच्चिन थालेको छ ।
केही समयअघि भएको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत जनताको साथ नपाएको नयाँ शक्ति पार्टीलाई भरपर्दा मानिएका नेताहरुले नै छाड्न थालेका छन् ।
दुई साताअघि सम्पन्न भएको सो पार्टीको राष्ट्रिय परिषदको बैठककै क्रममा प्रवक्ता खिमलाल देवकोटाले राजीनामा दिएका थिए भने त्यसअघि अर्का अभियन्ता रामेश्वर खनालले नयाँ शक्ति परित्याग गरेका थिए ।
फेरि हाल आएर सो पार्टीका संगठन विभागका प्रमुख देवेन्द्र पौडेल सहित १५ जनाले बेग्लै पत्रकार सम्मेलनको आयोजना गरेपछि उनीहरुलाई २४ घन्टे स्पष्टिकरण सोधिएको छ ।
सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार जारी गरेको विज्ञप्तिमा पार्टीका संघीय परिषद् सदस्य पौडेलसहित १५ जनाले बिहीबार पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्यादिशाकाबारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको उल्लेख छ ।
विज्ञप्तिमा उनीहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोड–कोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टी हितविपरीत हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोचलाई पार्टीले सहन गर्नसक्ने छैन ।’
भर्खरै सम्पन्न पार्टीको संघीय परिषद् बैठकमा १५ जना नेताहरुले कुनै फरक धारणा दर्ज नगराएको तथा पार्टी संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाएको विज्ञप्तिमा दाबी गरिएको छ ।