अब २ नं. प्रदेशमा ५९ गाउँपालिका र १ महानगरसहित ७७ नगरपालिका

अब २ नं. प्रदेशमा ५९ गाउँपालिका र १ महानगरसहित ७७ नगरपालिका

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा नौं वटा स्थानीय तह थपिने भएको छ । सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ । देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ ।

स्थानीय तह पुनः संरचना आयोगले प्रतिवेदन बुझइसकेपछि राजपालगायत मधेसी दलकै दवाबमा प्रदेश नम्बर २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि गरिएको हो । यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुनस् संरचना प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएको थियो । प्रदेश नम्बर २ मा हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगर सहित ७७ नगरपालिका हुने भएका छन् ।