ललितपुरको कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा मारिए प्रवीण खत्री

ललितपुरको कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा मारिए प्रवीण खत्री

काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा एक जना मारिएका छन् ।

लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली पुग्दा उनले गोली चलाएको र प्रहरीको जवाफी कारबाहीमा परी उनी मारिएको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

उनले दुई वटा पेस्तोल भेटिएको र उनलाई प्रहरीले हानेको गोली लागेको हो या उनी आफैंले गोली हानेको हो भन्ने बारेमा थाहा नभएको बताएका छन् ।

एसपी प्रकाशजंग कार्कीका अनुसार प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट हामफालेका खत्री भाग्ने प्रयास गरेका थिए ।

प्रहरीले पछ्याउँदै गर्दा उनले फायर खोलेको र आफूहरुले जवाफी कारबाही गरेको प्रहरीको भनाई छ । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।