गोर्खाल्याण्ड माग्दै चिठ्ठी आन्दोलन, अझै कडा आन्दोलन गर्ने मोर्चाको तयारी

गोर्खाल्याण्ड माग्दै चिठ्ठी आन्दोलन, अझै कडा आन्दोलन गर्ने मोर्चाको तयारी

दार्जिलिङ । भारतको पश्चिम बंगाल सरकारले जबरजस्त नेपालीभाषीमाथि बंगाली भाषा लाद्न खोजेपछि सुरु भएको गोर्खाल्याण्ड आन्दोलन थप कडा बनाइने भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको बैठकले गोर्खाल्याण्ड आन्दोलन कडा बनाउने निर्णय गरेको हो । पातलेबासमा मोर्चाका अध्यक्ष विमल गुरुङ, भातृ संगठनका प्रमुख, तीन विधायक, सबै नगरपालिकाका नगर पार्षद, पूर्वसभासदसहितको बैठकले आन्दोलन कडा बनाउने निर्णय गरेको हो ।

भारतीय जनता पार्टीसँग केही नरम देखिएको मोर्चाले सो पार्टीविरुद्ध पनि कडा नीति लिने देखिएको छ । डेढ महिनादेखि जारी आन्दोलनका कारण ११ जना नेपालीभाषीको मृत्यु भइसकेको छ भने २५ जना गम्भीर घाइते भएको मोर्चाले जनाएको छ ।

पश्चिम बंगाल सरकारले गोर्खाल्याण्ड क्षेत्रमा इन्टरनेटमा समेत रोक लगाएको छ भने खाद्य सामग्री सिलिगुढीबाट माथि लैजान दिएको छैन ।

मोर्चाका सहसचिव विनय तामाङले भने, ‘हामीले धेरै पर्खियौं, केन्द्र पटक्कै बोलेन । यसै कारण केन्द्रलाई खुला चुनौती दिदै अन्तिम अल्टिमेटम दिन्छौं । केन्द्रले ८ अगस्टको ६ बजेसम्म पनि गोर्खाल्याण्ड आन्दोलनबारे बोलेन, संसदमा कुरा उठाएन वा हामीलाई वार्तामा बोलाएन भने ९ अगस्टदेखि केन्द्रलाई दबाब दिन आन्दोलनलाई कठोर बनाएर लैजान्छौं ।’

उनले अबको आन्दोलन कि वा कि पारको हुने बताएका छन् । केन्द्र सरकारले सम्बोधन नगरे ९ अगस्टदेखि आन्दोलनलाई थप कडा बनाउन मोर्चा तयारीमा लागेको बताइएको छ ।

गोर्खाल्याण्ड माग्दै चिठी आन्दोलन
यसैबीच भारतको सिक्किमबाट सुरु भएको अनौठो चिठी आन्दोलनले देहरादुनमा समेत निरन्तरता पाएको छ । अलग गोर्खाल्याण्ड माग्दै सिक्किमेली जनताले चिठी आन्दोलन सुरु गरेका थिए ।

देहरादुनमा ठूलो संख्यामा गोरखा समाजका जनताले प्रधानमन्त्री नरेन्द्र मोदीलाई गोर्खाल्याण्ड माग्दै चिठी पठाएका छन । गोर्खाली सुधार सभाको तीज महोत्सव समितिले समेत प्रधानमन्त्रीलाई चिठी पठाएको छ ।

भारतको हिमान्चल, मध्यप्रदेश, जम्मु काश्मिरलगायतका राज्यबाट समेत गोर्खाल्याण्ड माग्दै चिठी पठाउने क्रम सुरु भएको छ ।