काठमाडौं । भारत र चीनबीच डोकलाम क्षेत्रलाई लिएर विवाद चर्किएका बेला नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्दा सन्तुलित सम्बन्धमा असर पर्नसक्ने बताएका छन् ।
भारत र चीनबीच पछिल्ला डेढ महिनाभन्दादेखि भुटानको डोकलाम क्षेत्रलाई लिएर विवाद चलिरहेको छ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले प्रधानमन्त्रीले यस्तो अवस्थामा भारत भ्रमण गरेमा त्यसले नेपाललाई दुई देशको विवादमा अनावश्यक रुपमा तान्ने र नेपालको सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेका छन् ।
परराष्ट्रविद् श्रेष्ठ भन्छन्, ‘दुई छिमेकी देशबीचको विवादमा नेपालले तटस्थ भूमिका खेल्नुपर्छ । जसरी नेपाल सन् १९६२ को युद्धमा पनि तटस्थ बसेको थियो ।’ अहिले पनि प्रधानमन्त्रीले यस्तो विवादित समयमा भारतको भ्रमण नगरे राम्रो हुन्छ ।’
प्रधानमन्त्रीले अहिले भारतको भ्रमण गर्दा नेपालले भारतलाई सहयोग गरेको अर्थ लगाउन, अन्तराष्ट्रिय क्षेत्रमा नेपालको गलत प्रचार हुने तथा र चीनसँगको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने सम्भावना रहने उनको भनाई छ ।
सन् १०५० को असमान नेपाल–भारत सन्धीअनुसार पनि नेपालले भारतलाई सहयोग गर्नुपर्ने भएपछि नेपाल तटस्थ बसेको उदाहरण प्रस्तुत गर्दै उनले त्यसबेला नेपाल तटस्थ बस्नका लागि तात्कालीक परिस्थिति पनि मिलेको र अहिले पनि नेपालले तटस्थ भूमिका खेल्नु नै नेपालको हितमा हुने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौंको पहिलो साता भारत भ्रमण गर्ने तयारी गरेका छन् ।
भुटान र चीनबीचको सीमा क्षेत्र डोकलाममा चीनले निर्माण गरेको सडकका विषयलाई लिएर सुरु भएको विवादले दुई देशबीचको तनाव उत्कर्षमा पुगिरहेको छ ।
सन् १८९० मा भएको एङ्लो–चाइनिज सन्धीअनुसार यो भुभाग चीनमा पर्छ भने सन् १९६२ पछि भुटानका लागि भारतले गरिदिएको नक्सांकनमा यसलाई भुटानी सीमाभित्र पारिएको भारतकै बुद्धिजीवी तथा रुस र टर्कीलगायत देशका राजदूत समेत भइसकेका मेलकुलानगारा भद्रकुमारले उल्लेख गरेका छन् ।
भुटान र चीनबीचको सीमा विवाद समाधान गर्नका लागि भुटानका पूर्वप्रधानमन्त्री जिग्मे वाई थिन्लेका पालमा २२ पटकसम्म वार्ता भएपनि समाधान हुन सकेको थिएन ।
त्यसबेला वार्ता निर्णायक मोडतिर पुग्दै गर्दा त्यसलाई असफल बनाउनुका साथै भुटानको सुरक्षा भारतको छत्रछायाँमा राखिएपछि सो क्षेत्र विवादित रहेको छ ।
सो क्षेत्रका बारेमा भुटान र चीनबीच वार्ताका माध्यबाट समस्या समाधान गर्नुपर्नेमा भारत स्वयम् सेनासहित चीनले निर्माण गरेको सडकमा अवरोध गर्न गएपछि तनाव चुलिएको हो ।
परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ भन्छन्, ‘यो सीमा विवाद मिलाउनका लागि भुटान र चीनबीच २२ पटक सम्म वार्ता भएको थियो । तर त्यसलाई असफल पारियो । यसको समाधान दुई देशबीचको वार्ताबाट मात्रै समाधान हुनसक्छ । भुटानको सार्वभौमिकताको सम्मान गर्दै स्वतन्त्रतापूर्वक आफ्नो विषय आफैं राख्न दिनुपर्छ ।’