झर्रोटर्रो : भाँडमा एकता

झर्रोटर्रो : भाँडमा एकता

पार्टी एकताको अन्तिम चरणमा आएर घोषणा गर्ने बेला भाँडिएपछि ‘पुरानो विचार नयाँ शक्ति’ पार्टीका प्रमुख गोर्खाली डाक्साव नाराज भए । उता ‘जातीवादी फोरम’का कमाण्डर मिस्टर महिषपालले पनि गोर्खाली डाक्सावलाई नेता मान्न नसकिने भन्दै अब उनीसँग एकता नगर्ने घोषणा गरे । दुई खेपमा सम्पन्न भइसकेको गाउँले तहको चुनाउमा एउटै चुनाउ चिन्ह लिएर चुनाउ लडेका र चुनाउ सकिएपछि एकता गरेर एउटै पार्टी बनाउने भनेका दलहरूका बिचमा भुइँचालाले झैँ धाँजा पारिदियो । अन्तिम बेलामा आएर किन वार्ता भाँडियो त भन्ने कुरोको चुरो बताउन, पार्टीको बैठकले लिएका निर्णय सुनाउन भन्दै डाक्सावले पत्रकार सम्मेलनको आयोजना गरे । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राखिसकेपछि पत्रकारले विभिन्न प्रश्नहरू सोधे । उक्त सम्मेलनमा पत्रकारहरू र डाक्सावका बिचमा भएको बातचितको सारसंक्षप यहाँ जस्ताको तस्तै राखिएको छ ।

पत्रकार  : तपाइँको पार्टी र फोरमको पार्टी मिलाउने कुरो किन बिग्रियो ?

डाक्साव : उहाँको र हाम्रो विचार मिलेन त्यसैले कुरो बिग्रियो भन्ने हाम्रो भनाई हो । 

पत्रकार : कसरी विचार मिलेन त ? सिद्धान्त त तपाइँहरूको एउटै हो । दुबैले कम्युनिष्ट विचार त्यागेर हिँडेको नेताहरू हुनुभो । तपाइँहरूले चुनाउ चिन्ह एउटै लिएर सँगै उमेद्वार उठाउनुभो । सबै कुरा मिलेर कमिटीको टुङ्गो लाग्ने बेला एकाएक कसरी भाँडियो ?

डाक्साव : सिद्धान्त त हामी दुबैको एउटै हो । कम्निस्ट विचार पनि हाम्ले त्यागेकै हो । किनकि अब हाम्रा लागि त्यो विचार काम छैन भन्ने हाम्रो भनाइ हो । फोरम र हाम्रा विचमा नमिलेको विचार त माउ नेता को हुने भन्नेमा हो । त्यसैले भाँडियो ।

पत्रकार  : तपाइँले फोरमवालालाई नेता मानेको भए के हुन्थ्यो त ?

डाक्साव : त्यस्तो काँ हुन्च ? उहाँ पनि जनयुद्धमा लागेको म पनि लागेको । त्यतिवेला म पार्टीको पोलिट ब्युरोको बरिष्ठ नेता हुँदा उनी सामान्य क्षेत्रका कार्यकर्ता थिए । म देशको पर्धानमन्त्री खाइसकेको मान्छे उनी उपर्धानमन्त्री मात्रै भएको, मैले डाक्टरी पढेको उनी डिग्रीधारी मात्रै, मेरो पार्टी देशैभरी छ उनको मधेश र पूर्वतिरको पाडमा अलिअलि भएको, उनको पार्टी फोरम भएकाले कतिखेर कस्ले फोर्ने हो केही ठेगान नभएकोले म नै पावरफूल नेता हुन पर्च भन्ने हाम्रो भनाइ हो । यसैमा विचार मिलेन । मैले आपूm भन्दा कनिष्टलाई नेता मान्ने त कुरै भएन नि भन्ने हाम्रो भनाई हो । 

पत्रकार : नेतामा कुरो नमिल्ने पनि विचार हुन्छ र ?

डाक्साव : त्यही त हो ऐलेको २१औँ शताब्दीको नयाँ विचार । नेता को हुने भन्ने कुराले पार्टी कस्तो हुने भन्ने हुन्च भन्ने हाम्रो भनाई हो । सबै पार्टीमा त मुख्य नेताले जे भन्यो त्यही हुने गरेको छ । हाम्रो मात्रै कुरा होइन नि । माउ नेताले जे चाह्यो जस्तो चाह्यो त्यस्तै हुन्च पार्टीको नीति ।

पत्रकार : फोरमसित त भाँडियो अब माकेसँग एकता हुन्च त ? 

डाक्साव : हुन्न हुन्न । माकेसँग त झन् हुन्दै हुन्न । एकफेरा थुकेको थुक कस्ले चाट्छ ? मोकेका सुप्रिमोले जीवनभर अध्यक्ष नछोड्ने, मैले जीवनभर अध्यक्ष बन्न नपाउने भएरै त पार्टी छोडेर हिँडेको हो । फेरि रुझेको बिरोलोझैँ लुथ्रुक्क परेर फर्किने कुरा हुन्न भन्ने हाम्रो भनाई हो ।

पत्रकार : उनले जस्तो तपाइँले पार्टी हाँक्न सक्नुहुन्न, तपाइँले गुट मात्रै चलाउनुहुन्च भन्छन् त ।

डाक्साव : मेरै विचारमा हिँड्ने, मलाई पार्टी चलाउन सक्दैन भन्ने ? मैले भन्दा झन् बढी गुट त तिनै सुप्रिमोले चलाउँचन् नि । गुटमा रमाउने मान्छे त उनै हुन् ।

पत्रकार : तपाइँको पार्टीका दोस्रो तहका नेताले त माकेसँग एकता गर्नु पर्च भनेर कस्सिएका छन् । ऐले   तपाइँले पार्टी कमिटी पनि भङ्ग गर्नुभो । दोस्रो तहका नेता माकेमा फर्किए भने के गर्नुहुन्च ?

डाक्साव : माकेबाट पार्टी छोड्नेबेला पैला त म एक्लै छोडेको हुँ । दोस्रो तहका गएचन् भने तेस्रो तहकालाई ल्याउँचु । म त ज्यान गएपनि सुप्रिमोलाई नेता मान्न त जाँदिन भन्ने हाम्रो भनाई हो । 

पत्रकार : माकेका सुप्रिमोले त तपाइँहरू पार्टीमा फर्कनुहुन्च एकता हुन्च भनेका छन् त ?

डाक्साव : त्यो उनको सपना हो । उनले रातमा नभएर दिनमा सपना देख्चन् । ब्यँुझँदा त उनी कैले सिङ्गापुर कैले दिल्ली, कैले डेउडापति निवास र कैले बालकोट पुगेका हुन्चन् । बास्तवमा उतिबेला मलाई भारत परस्त भनेर कारवाही गरेर निकाले, तर म भन्दा झन् बढि भारत परस्त र उसको टाङ मुनि छिरेर लम्पसार पर्ने र खुट्टामा तेल लाउँदै मलाई पर्धानमन्त्री बनाइदेऊ भन्दै हिँड्ने त उनै रैचन् भन्ने कुरा दुनियाँले छ्याङ्ङै देखिहाल्यो । त्यसैले उनीसँग एकता हुँदैन भन्ने हाम्रो भनाई हो । लौ आजलाई यत्ति भनौँ । सबै कुरा ऐल्यै सक्ने कुरा पनि भएन । सबैलाई चेतना भया ।

१४ साउन २०७४ 

kailubraha73@gmail.com