रौतहट । रौतहटबाट एक किलो अवैध सुनसहित दुईजना पक्राउ परेका छन् । वीरेन्द्र राजमार्ग अन्तर्गत बम नहरबाट ४६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको सुनसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नम्बर ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।
काठमाडौंबाट गौरतर्फ आउँदै गरेकोे भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा सो सुन बरामद भएको हो ।
पक्राउ गरिएको पहेलो धातु नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटले परीक्षण गरेपछि सो धातु सुन नै भएको प्रमाणित गरे पछि आन्तरिक राजस्व कार्यालय पथलैयालाई बुझाइएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।
अभियुक्तहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको टाटा स्पेसिओ गोल्ड गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।