एजेन्सी । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने पक्षमा भारी बहुमत परेको छ ।
१ सय १९ सदस्यको समर्थनबाट यो विधेयक हाउस अफ रिप्रेजेन्टेटिभबाट पारित भएको हो । यो विधेयकको विपक्षमा तीन जना मात्रै सांसदले मतदान गरेका थिए ।
यो विधेयक अमेरिकी संसदको माथिल्लो सदनबाट पनि पारित भएमा अमेरिकी राष्ट्रपति चुनावमा भएको भनिएको रुसी हस्तक्षेप र पूर्वी युक्रेनमा रुसले गर्दै आएको हस्तक्षेपमाथि निशाना बनाउन सकिनेछ ।
रुसको संसद दुमाको अन्तर्राष्ट्रिय मामला समितिका लियोनिद स्लत्स्कीले यो प्रतिबन्धको कुराले रुस र अमेरिकाबीचको सम्बन्ध झनै जटिल हुने टिप्पणी गरेका छन् ।
यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमाणित गर्न पठाउनुअघि सिनेटको स्वीकृति आवश्यक हुनेछ ।
सिनेटबाट पनि यो विधेयक पारित भएका राष्ट्रपति ट्रम्पमाथि अर्को तनाव थपिनेछ । किनकी रुससँग सम्बन्ध राम्रो बनाउने उनको योजनामा यो अर्को झट्का हुनेछ ।
राष्ट्रपतिसँग यस विधेयकलाई भिटो प्रयोग गरेर निस्तेज पार्ने विकल्प समेत रहेको छ । तर यसो गरेमा उनीको रुसतर्फको झुकाब प्रष्ट देखिनेछ ।
रिपब्लिकन पार्टीका नेता स्कट टेयलरले राष्ट्रपतिले यो विधेयकमाथि भिटो प्रयोग गर्ने सम्भावना कम रहेको बताएका छन् । अमेरिकाले पहिले देखि नै रुसी नागरिक र कम्पनीमाथि प्रतिबन्ध लगाइरहेको छ ।
गत वर्षको डिसेम्बरमा पूर्व राष्ट्रपति बाराक ओबामाले ३५ रुसी अधिकारीलाई फिर्ता पठाउने निर्देशन दिएका थिए । इरान र उत्तर कोरियालाई उनीहरुको परमाणु कार्यक्रमको हवाला दिँदै प्रतिबन्ध लगाउने अमेरिकी तयारी रहेको छ । अमेरिकी विदेशमन्त्री रेक्ट टिलरसनका अलावा ट्रम्प प्रशासनका दुई सदस्यले यसको विरोध गरेका थिए ।