बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन निषेध, नारायणघाट–मुग्लिन भएर चल्ने सवारी ४ बजेभित्र हिँडिसक्नुपर्ने

बीपी राजमार्गमा रातको समयमा सवारी चलाउन निषेध, नारायणघाट–मुग्लिन भएर चल्ने सवारी ४ बजेभित्र हिँडिसक्नुपर्ने

काठमाडौं– यातायात व्यवस्था विभागले बीपी राजमार्गा अन्तर्गत सिन्धुलीको नेपालथोक–भिमान सडक खण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।

दुर्घगटना बढेको निश्कर्ष निकाल्नै विभागले लामो दुरीमा चल्ने सवारी साधनका लागि नयाँ नियम ल्याएको हो । अब नयाँ व्यवस्थाअनुसार बीपी राजमार्गमा बेलुका ६ बजेदेखि विहान ५ बजेसम्म सवारी साधन चलाउन पाइने छैन ।

यातायात ब्यवस्था विभागका प्रवक्ता डा.टोकराज पाण्डेले नेपालथोक–भीमान सडक खण्डमा यो व्यवस्थालाई अझ कडाइ गर्न लागिएको जनाएका छन् । रातको समयमा रुट पर्मिट नभएका सवारी पनि चल्दा दुर्घटनाको जोखिम बढेको र सडकको अवस्था पनि बिग्रने स्थिति आएको भन्दै विभागले नयाँ नियम ल्याएको हो ।

यसैगरी आइतबारदेखि नै लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधनले गोंगबु तथा पुरानो बसपार्कलाई नै आगमन तथा प्रस्थानको विन्दु बनाउनुपर्ने भएको छ । अब नयाँ बसपार्कबाट छुटेका सवारी जोरपाटी र कोटेश्वर हुँदै कलंकी पुगेमा ट्राफिक तथा यातायात ब्यवस्था विभागले ५ हजार रुपैयाँसम्म जरिवाना तिराउनेछ ।

अहिले यात्रु खोज्न बसपार्कबाट छुटेका बस चक्रपथ घुमेर बस्ने गरेका छन् । यसले ट्राफिक जामको समस्या बढाएको ट्राफिक प्रहरीको निश्कर्ष छ । अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलंकीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलंकीबाट सिधा बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।

विभागले लामो दुरीका सवारी साधनहरु यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने समस्या बढेपछि नयाँ नियम ल्याइएको हो । नियम नमान्ने सवारी साधनमाथि आइतबारदेखि नै कारबाही सुरु भएको छ ।

अब नारायणघाट–मुग्लिन भएर चल्ने रात्री समयका सवारी साधनहरु दिउँसो ४ बजेभित्र कलंकीबाट हिँडिसक्नुपर्नेछ । मर्मत कार्य चलिरहेका कारण रातको समयमा सो सडक भएर चल्ने सवारी साधनलाई छिटै कलंकीबाट पठाउन लागिएको हो ।

यो व्यवस्था अनुसार अब साउन ५ गतेदेखि मेची र कोशी क्षेत्रमा जाने सवारी साधन दिउँसो ३ बजे नै नयाँ बसपार्कबाट छुटिसक्नुपर्नेछ ।

रातमा चल्ने पूर्वका बसहरुले मुग्लिनको जाम छल्न नौबिसे–पालुङ–हेटौंडाको बाटो प्रयोग गर्छन् । यी रात्री बसहरुलाई रातको ९ बजेसम्म नौबिसे कटिसक्नुपर्ने नियम पनि लगाइने भएको छ ।

यो त्रिभुवन राजपथमा ठूला बसहरुको आवागमन सहज बनाउनका लागि ६ चक्काभन्दा ठूला मालबहाक ट्रकहरुलाई निषेध गरिएको छ । स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधनका हकमा भने यो नियम लागु हुनेछैन ।