काठमाडौं– गोपाल पराजुलीलाई प्रधान न्यायाधीस बन्ने बाटो खुला भएको छ । प्रस्तावित प्रधानन्यायाधीस पराजुलीको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको हो ।
समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेका थिएनन् । समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् ।
प्रधानन्यायाधीसको पद बहादुरी देखाउने पद नभएको भन्दै आफूले पद्धति र प्रणालीका आधारमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘यो पद्दती र प्रणालीमा चल्ने पेसा हो । प्रधानन्यायाधीश बहादुरी देखाउने पद हैन । म पद्दती र प्रणालीमा काम गर्छु ।’
नेपाल प्रहरीले पनि केही समयअघि मुस्कानसहितको सेवा सुरु गरेको थियो । जुन सेवाको प्रभावकारिता नभएपनि विभिन्न समयमा व्यंग्य समेत हुने गरेको छ ।
अहिले १५ प्रतिशत नागरिकको मात्रै न्यायमा पहुँच रहेको भन्दै आफ्नो कार्यकालमा न्यायमा नागरिकको पहुँच बढाउने प्रतिबद्धता समेत उनले जनाएका छन् ।
वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै सामाजिक अपराध समेत बढेको उल्लेख गर्दै उनले फुटकर मुद्दाको कार्यविधि सुधार गर्नुपर्ने र हार्ने पक्षबाट जित्ने पक्षलाई क्षतिपूर्ति भराउने कि भन्ने आफ्नो सोच रहेको जानकारी गराए ।
पराजुलीले आफू प्रधानन्यायाधीश भए न्यायालयभित्रका विकृति र विसंगति अन्त्यका लागि भूमिका खेल्ने र त्यसका लागि सम्पत्ति विवरण अनुगमनका साथै मूल्यांकनमा समेत विषेश ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।






























