काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०४ औं जन्मजयन्ती, आज विभिन्न कार्यक्रम गरी मनाईदै छ ।
राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो । भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गरेका थिए ।
उनका बधुशिक्षा, प्रश्नउत्तर, भक्तिमाला, रामगीतालगायतका कृति बहुचर्चित रहेका छन् । नेपाली भाषीको वाहुल्य रहेको भारतको सिक्किम दार्जिलिङ, आसाम र डुवर्सलगायतका क्षेत्रमा समेत भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम गरिन्छ ।
मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगतमा भानुभक्तको योगदान प्रकाशमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो ।
भानुभक्तको रामायण नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घरघरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो ।
पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका उनले हजुरबुवा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीले घाँस घाटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरे ।