एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्रोहीको हमलामा परी ७ जना हिन्दू तीर्थयात्रीको मृत्यु भएको छ ।
दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी उनीहरुको मृत्यु भएको हो ।
विद्रोहीको हमलामा परी मृत्यु भएकामध्ये ६ जना महिला रहेका छन् । कश्मीर भारतको एक मात्र मुसलमान बहुल राज्य हो ।
कश्मिरको अनन्तनाग जिल्लामा विद्रोही आक्रमणकारीहरुले सुरक्षाकर्मीहरु चढेको गाडीहरुमाथि हमला गरेका थिए ।
सो स्थान वर्षेनी लाखौं हिन्दु तीर्थयात्रीहरुले मेला भर्न जाने गरेको अमरनाथ गुफा भन्दा ८० किलोमिटर टाढा पर्छ ।
एक जना प्रहरी अधिकारीले भने, ‘तीर्थयात्रीलाई आक्रमण गर्ने उद्देश्यले हमला गरिएको होइन जस्तो देखिन्छ । तर दुई तर्फी गोली हानाहानको बीचमा तीर्थालु चढेको बस पनि फसेको थियो ।’
प्रहरीले सो बसले तीर्थयात्री बोक्ने अनुमति नलिएको र नियम विपरित रातिको समयमा चलिरहेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सो आक्रमणलाई ‘लज्जाजनक’ भन्दै त्यसलाई जति भत्र्सना गरेपनि कम हुने बताएका छन् ।
सो हमलामा अन्य १९ जना घाइते भएका छन् । ती मध्ये केही प्रहरी रहेको बताइएको छ । आक्रमणमा परेको बसमा कूल ५६ जना यात्रु सवार थिए ।