दोस्रो चरणको निर्वाचन सम्पन्न, तेस्रो चरणको अनिश्चित

दोस्रो चरणको निर्वाचन सम्पन्न, तेस्रो चरणको अनिश्चित

काठमाडौं । दोस्रो चरणको निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले दावी गरेको छ । असारे झरीका बावजुत मतदाताहरुको मतदान केन्द्रमा उल्लेख्य उपस्थिति रहेको थियो ।

निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ । यो पहिलो चरणको तुलानामा साढे २ प्रतिशत कम हो । तर, मध्य वर्षामा भएको चुनावमा ७०.५ प्रतिशत मत खस्नु निकै उत्साहपूर्ण भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार सबैभन्दा धेरै मत बाजुरामा खसेको छ । त्यहाँ ८० प्रतिशत मत खसेको छ । सबैभदा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको छ । राजनीतिक दलहरुको झडपका कारण केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ । सोलुखुम्बुको नेचा गाउँपालिकाको तिङ्ला गाउँमा भने एक भोट पनि खसेन । नवलपरासीको एउटा मतदान केन्द्रमा २ मत मात्र खसेको छ । स्थानीय तह पुनर्संरचनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले चुनावमा सहभागिता नजनाएका हुन् ।

निर्वाचन आयोगका अनुसार मतपेटिका संकलनपछि आवश्यक तयारी गरेर मत गणना सुरु हुनेछ । हप्तादिनभित्र सबै निर्वाचन परिणाम सार्वजनिक गर्नेगरी मतगणनाको तयारी गरेको जनाएको छ ।

यसैबीच, संविधान संशोधनमा अडान राख्दै आएको राजपासँग सहमति नहुँदा असोजमा हुने भनेको दुई नम्बर प्रदेशको तेस्रो चरणको निर्वाचन अनिश्चित बनेको छ । राजपालगायतका पार्टीले सहमति नजनाउँदै तेस्रो चरणमा पु¥याइएको २ नं. प्रदेशको निर्वाचन सरकारले असोजमा गर्ने भने पनि राजपाको असहमतिमा असोजमा हुने सम्भावना देखिन्न । संविधान संशोधनका लागि चाहिने दुई तिहाइ मत संसदको दोस्रो ठूलो दल एमालेको सहमतिविना पुग्ने देखिन्न । एमालेले संविधान संशोधनको विपक्षमा अडान राख्दै आएको पृष्ठभूमिमा संविधान संशोधन नहुने र संविधान संशोधनविना चुनावमा सहभागि बन्दा आफ्नो फेस सेभिङ नहुने अडानमा रहेको राजपाका कारण तेस्रो चरणको निर्वाचन अनिश्चिततातर्फ धकेलिएको हो । संसदवादी राजनीतिक दलबीच अहिलेकै अन्तर्विरोध कायम रहेमा तेस्रो निर्वाचन अर्कै सरकारको नेतृत्वमा हुन सक्ने पनि राजनीतिक विश्लेषण गर्न थालिएको छ ।