पुष्पलाल र नयाँ जनवाद

प्रकाशित मिति : २०७४ असार १४

- कृष्णदास श्रेष्ठ

नेपाली कम्युनिष्ट आन्दोलनभित्र लामो समयदेखि रहिआएका प्रमुख मतभेदहरुमा एउटाको विषय नयाँ जनवादी बाटो अपनाउने कि पुँजीवादी–संसदीय बाटो अपनाउने भन्ने सवाल रहेको छ । अर्थात् उक्त आन्दोलनभित्र माक्र्सवाद र दक्षिणपन्थी संशोधनवादको बीचमा चल्दैआएको संघर्षको एउटा महत्वपूर्ण मुद्दा नौलो जनवाद, अर्थात् जनताको जनवाद बनाम पुँजीवाद जनवाद रहेको छ । मुलुक र जनताको भाग्यसित सम्बन्धित बाटोको चयनसम्बन्धी यो सवाल सिद्धान्त र व्यावहारिक राजनीतिको आधारभूत सवाल हो । वास्तवमा यो राजनीतिक कार्यदिशाको सवाल हो र त्यसैले क्रान्तिको लागि आधारभूत र निर्णायक महत्व राख्ने सवाल हो ।

हाम्रो कम्युनिष्ट आन्दोलन विभाजित छ र सांगठनिक दृष्टिबाट यो दर्जनौं समूहहरुमा विभाजित रहेको छ । तर राजनीतिक कार्यदिशाको दृष्टिबाट हेर्ने हो भने तिनलाई दुई ठूला शिविरमा विभाजित गर्न सकिन्छ– पुँजीवादी–संसदीय बाटोको अनुशरण गर्ने शिविर नौलो जनवादी बाटोका अनुशरण गर्ने शिविर । तथाकथित ‘जनताको बहुदलीय जनवाद’ र त्यस्तै ‘राष्ट्रिय जनवाद’ जुन हाम्रो सन्दर्भमा पुँजीवादी–संशोधनवादी धाराको ठोस अभिव्यक्ति रहेका छन्, तिनलाई मान्ने समूहहरु पहिलो शिविरमा पर्छन् भने अन्य धेरैजसो समूहहरु पछिल्लो शिविरमा रहेका छन् ।

नयाँ जनवादी बाटो र पुँजीवादी–संसदीय बटोमाझको संघर्षमा कमरेड पुष्पलाल आफ्नो जीवनकालमा कुन पक्षमा रहनुभएको थियो र यस सम्बन्धमा उहाँको दृष्टिकोण, धारणा र अडान कस्तो रहेको थियो भन्ने बारेमा संक्षिप्त रुपमा चर्चा गर्ने यस छोटो निबन्धको उद्देश्य रहेको छ । लेखको शीर्षकबाट पनि यो कुरा स्पष्ट छ ।

कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलन र साथै नेपाली जनवादी आन्दोलनको इतिहासमा एकजना प्रमुख व्यक्तित्वको रुपमा सुपरिचित नाउँ हो । नेपाली कम्युनिष्ट आन्दोलनलाई सर्वप्रथम सांगठनिक रुप दिने नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरुमा उहाँ सबभन्दा प्रमुख तथा शीर्षस्थ स्थानमा रहनुभएको तथ्य सुविदित रहेको छ ।

जुन नेपाल कम्युनिष्ट पार्टीका पंक्तिहरु यति विशाल र व्यापक रुपमा आज फैलिएका छन्, त्यसको जग बसाल्ने शुभकार्यमा उहाँको प्रमुख तथा महत्वपूर्ण भूमिका रहेको थियो, र उहाँ त्यसको अभियन्ता हुनुहुन्थ्यो । त्यस दृष्टिबाट उहाँको महत्व र महानता त रहेकै छ । तर, उहाँको महानता त्यतिमा मात्र सीमित रहेको छैन । उहाँको महानता र योगदान अर्काे कुन तथ्यमा पनि रहेको छ भने नेपालको जनवादी आन्दोलनलाई नौलो आयाम, नौलो दिशा र नौलो मोड प्रदान गर्ने प्रयासमा पनि उहाँ सबभन्दा प्रमुख संस्कर्ता (Initiator) हुनुहुन्थ्यो । उक्त पार्टीको संस्थापनको घोषणासँगै प्रकाशित नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र (पहिलो घोषणापत्र)मा व्यक्तितएको उक्त प्रयास उहाँको तत्परतामा भएको थियो ।

उहाँको नेतृत्व र तत्परतामा १९४८ सेप्टेम्बर १५ तारिखमा प्रकाशित उपरोक्त नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र नेपाली सर्वहारावर्गको पहिलो कार्यक्रमगत घोषणा थियो, जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठित पार्न कार्यक्रमगत आधार प्रदान ग¥यो । उक्त घोषणापत्रको प्रकाशन मुलुकको राजनीतिक जीवनमा र जनवादी आन्दोलनको इतिहासमा एक अति महत्वपूर्ण घटना थियो । हाम्रो सम्पूर्ण जनवादी आन्दोलनलाई नयाँ दिशाबोध प्रदान गर्ने पहिलो प्रयासको रुपमा त्यसको ठूलो ऐतिहासिक महत्व रहेको छ ।

उपरोक्त घोषणापत्रमा जनवादी चरणमा रहेको नेपाली जनक्रान्तिले लिनुपर्ने बाटोलाई स्पष्टसित दर्शायो । तत्कालीन उदार–पुँजीवादी पार्टीहरुद्वारा अनुसरित साम्राज्यवादपरस्त तथा सम्झौतावादी नीतिको पर्दाफास गरेर त्यसमा क्रान्तिकारी उपायले लड्नुपर्ने आवश्यकतामा जोड दिइयो र साथै कुन तथ्यलाई स्पष्टसित देखाइयो भने पुरानो खालको पुँजीवादी–जनवादी क्रान्तिको बाटोबाट वास्तविक मुक्ति हासिल हुन सक्दैन र सच्चा मुक्ति र प्रगतिको बाटो नयाँ खालको पुँजीवादी–जनवादी क्रान्तिको बाटोबाट वास्तविक मुक्ति हासिल हुन सक्दैन र सच्चा मुक्ति र प्रगतिको बाटो नयाँ खालको पुँजीवादी–जनवादी क्रान्ति हो, जसको वास्तविक नेतृत्व मजदुरवर्गले मात्र प्रदान गर्न सक्दछ । त्यसमा नेपाली सर्वहारावर्गको पार्टीले अनुशरण गर्नुपर्ने राजनीतिक कार्यदिशाको आधारभूत रुपबाट निर्धारित गरियो, जसको मूल तत्व निम्न प्रकारको रहेको छ ः ‘त्यसैले नेपाली जनताले एउटा भिन्नै बाटो लिनुपर्छ । त्यसो बाटो हो– विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई पूरैसित खत्तम पार्नु, मजदुरवर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी व्यवस्था स्थापना गर्नु, अर्थात् यस्तो राज्य व्यवस्था स्थापना गर्नु जसमा जनता राष्ट्रको सम्पत्तिका मालिक हुनेछन् र त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्नेछन् ।’

माथि–उद्धृत भनाइमा रहेको ‘भिन्नै बाटो’को वास्तविक तात्पर्य नयाँ जनवादी (अर्थात् जनताको जनवादी) क्रान्तिको बाटो थियो । उक्त दस्तावेजमा जुन राजनीतिक कार्यदिशाको प्रतिपादन गरियो, त्यसमा आधारभूत र सारगत रुपमा नौलो जनवादी धारणाका प्रमुख चारित्रिक विशेषताहरु रहेका थिए, अर्थात् क्रान्तिमा मजदुर वर्गको नेतृत्वको आवश्यकता, माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने पार्टी, जनक्रान्तिमा विजयको लागि एक बलियो, जनआधारित कम्युनिष्ट पार्टीको खाँचो, मेहनतकश जनताको जनवादी राज्य, ‘लोक जनवाद’को स्थापना आदि ।

महान् अक्टोबर समाजवादी क्रान्तिपछिको बदलिंदो अन्तर्राष्ट्रिय परिस्थिति र मुलुकको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थितिको सन्दर्भमा उपरोक्त प्रस्थापनाहरु बिल्कूल सही र उपयुक्त रहेका थिए । त्यसो भए पनि, पार्टी जीवनमा पछि घटेका घटनाहरुबाट के देखियो भने पार्टीभित्र उक्त स्थितिहरु प्रभुत्वशाली रुपमा रहेनन् । तथापि उपरोक्त महत्वपूर्ण प्रस्थापनाहरुसहितको घोषणपत्रको प्रकाशन नेपाली कम्युनिष्ट तथा जनवादी आन्दोलनहरुको लागि एउटा ठूलो उपलब्धि थियो । पार्टीको तत्कालीन महामन्त्रीको हैसियतबाट उक्त कार्यमा पुष्पलालको ठूलो योगदान र तत्परता रहेको थियो, र यसलाई उहाँको एउटा ठूलो ऐतिहासिक योगदान मान्नुपर्छ ।

पुष्पलाललाई पार्टीको महासचिवबाट पदच्युत गरेर पार्टी नेतृत्व हत्याएका मनमोहन माझी डफ्फाहरुको कार्यकालमा उपरोक्त राजनीतिक कार्यदिशालाई विस्तार–विस्तार पन्छाइयो र त्यसको ठाउँमा अवसरवादी–सुधारवादी कार्यदिशालाई स्थापित गरियो । उक्त नेतृ डफ्फाहरुले पार्टीलाई योजनाबद्ध ढंगबाट उदारवादी–सुधारवादी दिशातर्पm लैजान प्रयास गरे । २०१९ सालमा माझी डफ्फाबाट छुट्टै रुपमा, अन्तरजोनल सामञ्जस्य समितिको आयोजकत्वमा भएको तेस्रो पार्टी महाधिवेशनमा पनि नौलो जनवादी कार्यदिशा स्थापित भएन, त्यसले राष्ट्रिय प्रजातन्त्रको कार्यदिशालाई अपनायो ।

यसैबीचमा नौलो जनवाद र पुँजीवादी प्रजातन्त्रको बीचमा कुनै न कुनै रुपबाट संघर्ष चलिरह्यो तर अवसरवादी डफ्फााको हातमा पार्टी नेतृत्व परेको कारणले गर्दा अवसरवादी कार्यदिशा र प्रवृत्तिहरुको बोलवाला रह्यो । उक्त डफ्फाको गलत क्रियाकलापको फलस्वरुप पार्टी विभाजित तथा छिन्नभिन्न भयो र पार्टीपंक्तिहरुमा भ्रम र अन्योल व्यापक रुपमा फैलियो । त्यसरी विश्रृंखलित तथा बिथोलिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई नौलो जनवादी दिशामा निर्देशित गर्न ठोस तथा संगठित प्रयत्न क.पुष्पलालको नेतृत्व र तत्परतामा फेरि २०२५ सालमा (तदानुसार इस्ववी सम्बत १९६८मा) भयो । २०२५ जेठ महिनामा (१९६८ मई १५ तारिखमा) सुरु भएको पार्टीको तेस्रो सम्मेलनले पुष्पलालको तत्पतामा तयार पारिएको नयाँ जनवादी कार्यक्रम (नेपाली क्रान्तिको एक मात्र मूल बाटो) पारित ग¥यो । नेपाली कम्युनिष्ट आन्दोलनको लागि ठूलो ऐेतिहासिक महत्वको ठानिएको उक्त सम्मेलनमा पुष्पलालद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सम्मेलनको उद्देश्यबारे सो प्रतिवेदनमा भनिएको थियो ः ‘यस सम्मेलनको मुख्य काम नै माओ विधारधाराको आधारमा सैद्धान्तिक, राजनीतिक तथा संगठनात्मक एकताले युक्त भएको पार्टीको जग हाल्नु हो ।’ सम्मेलनद्वारा पारित नयाँ जनवादी कार्यक्रममा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिको अलि विस्तृत रुपमा विश्लेषण गरियो, नयाँ जनवादी कार्यक्रमका प्रमुख बुँदाहरुबारे चर्चा गरियो, क्रान्तिका मित्र र विरोधी शक्तिहरुको पहिचान गरियो, क्रान्तिको लागि अपनाउनुपर्ने उपायहरुबारे स्पष्ट पारियो । यसरी क्रान्तिका विभिन्न प्रमुख समस्याहरु र तिनको समाधानको सम्बन्धमा आधारभूत रुपले ठीक किसिमबाट विश्लेषण प्रस्तुत गर्ने प्रयत्न गरियो ।

कार्यक्रममा नेपाली कांग्रेसको साम्राज्यपरस्त तथा सम्झौतावादी नीतिको उल्लेख गरी एउटा महत्वपूर्ण प्रस्थापनालाई निम्न रुपमा प्रस्तुत गरियो ः ‘यी पार्टीहरुको उपरोक्त नीतिले गर्दा आजको संघर्षको मुख्य भूमिका कम्युनिष्ट पार्टीको काँधमा परेको छ । यो जिम्मेदारी नेपाल कम्युनिष्ट पार्टीले मजदुर– किसान एकताको आधारमा सामन्त–विरोधी संघर्षमा पार्टीको झण्डामुनि समस्त क्रान्तिकारी वर्गहरु र जनसमुदायहरुलाई एकत्रित गरेर मात्र गर्न सक्छ । यो आजको ऐतिहासिक अवस्थाको माग हो । जबसम्म कम्युनिष्ट पार्टी यस्तो क्रान्तिकारी संघर्षमा आम किसान समुदायलाई सशस्त्र गरी अघि बढ्ने छैन, तबसम्म देशको मूल अन्तद्र्वन्द्वले बाटो पाउने छैन र संघर्ष सामन्त र पुँजीवादी पार्टीको बीचमा नै रही सम्झौतामा सीति रहन जानेछ ।’ अनि लक्ष्य प्राप्तिको उपाय जस्तो आधारभूत महत्वको सवालबारे चर्चा गर्दै त्यसमा स्पष्टसित भनिएको छ ः ‘… हामीले नेपालबाट सामन्तवाद र साम्राज्यवादलाई खत्तम गरी नयाँ जानवादी व्यवस्थाको स्थापना गर्ने कुरा उल्लेख गरेका छौं । यो हाम्रो लक्ष्य हो । दीर्घकालीन सशस्त्र किसान क्रान्तिको सञ्चालनबिना यस्तो व्यवस्थको स्थापना हुन सक्दैन ।’ उपरोक्त व्यवस्थाको स्थापनाको लागि राज्यको रुपको सम्बन्धमा भनिएको छ ः ‘तसर्थ नेपाल कम्युनिष्ट पार्टी यस सामन्ती वर्गीय सत्तालाई खत्तम गरी देशमा सर्वहारावर्गको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी वर्ग तथा जनसमुदायको संयुक्त अधिनायकत्वमा एउटा जनवादी गणतन्त्रीय राज्यसत्ता कायम गर्नेछ, जसले देशमा सामन्ती व्यवस्थालाई समूल नष्ट गर्ने, साम्राज्यवादलाई राष्ट्रिय जीवनबाट लखेटी विदेशी पुँजीलाई राष्ट्रियकरण गर्नेछ र पुँजीलाई नियोजित किसिमको विकास गर्न दिई समाजवादी संक्रमणको निम्ति बाटो खन्नेछ ।’

तेस्रो पार्टी सम्मेलनको लगत्तैपनि प्रकाशित नेपाल कम्युनिष्ट पार्टीको अठाइस वर्षको क्रान्तिकारी संघर्षको सिंहवलोकन शिक्षा नामक कृतिमा पुष्पलालले नयाँ जनवादी दृष्टिकोणबाट अवसरवादी तथा संशोधनवादीहरुको पर्दाफास गर्नुभयो र उक्त गलत विचारधाराहरुको विरुद्ध संघर्षलाई अघि बढाउनुपर्ने खाँचोमा जोड दिनुभयो । त्यस चर्चाको सिलसिलामा उहाँले कुन कुरालाई जोडका साथ प्रस्तुत गर्नुभयो भने पार्टीले ‘अन्तर्राष्ट्रिय सैद्धान्तिक विवादमा माओको विचारलाई मान्ने, राष्ट्रिय क्षेत्रमा नयाँ जनवादी कार्यक्रम र कार्यनीति मान्ने र जनवादी केन्द्रीयताका अनुसार पार्टीको नयिम र अनुशासनमा बसी काम गर्ने’ व्यक्तिहरुलाई मात्र सदस्यता प्रदान गर्नुपर्छ । त्यसका अतिरिक्त उहाँले पँजीवादी प्रजातन्त्रको विरुद्ध नयाँ जनवादको वकालत गर्दै अनेकौं लेखहरु लेख्नुभयो ।

यसरी नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी माक्र्सवादलाई स्थापित गर्न र त्यसलाई सही आधारमा बढाउन र साथै नेपाली जनवादी आन्दोलनलाई नौलो जनवादी दिशामा लैजान पुष्पलालले निकै प्रयत्न गर्नुभयो । पुँजीवादी प्रजातन्त्रको विरुद्ध नौलो जनवादको पक्षमा र अवसरवाद तथा संशोधनवादको विरुद्ध माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधाराको पक्षमा उहाँले चलाउनुभएको संघर्ष कम्युनिष्ट तथा जनवादी आन्दोलनहरुको इतिहासमा एउटा गौरवशाली पाना रहेको छ । यस क्षेत्रमा उहाँले गर्नुभएका योगदानहरु ठूलो ऐतिहासिक महत्वका छन् ।

यसै सन्दर्भमा यहाँ एउटा कुन कुराको उल्लेख गर्नु प्रासंगिक हुनेछ भने नयाँ जानवादी क्रान्ति र नयाँ जनवादी व्यवस्थाको समर्थन, विश्लेषण तथा विवेचना गर्नमा अग्रणी रहेका पुष्पलाललाई पुँजीवादी प्रजातन्त्र (बहुदलीय जनवाद) र पुँजीवादी–संसदीय व्यवस्थाका पक्षपातीको रुपमा प्रस्तुत गर्ने प्रयास केही क्षेत्रहरुबाट निरन्तर रुपले चलिआएको छ । खास रुपले नेपाली कम्युनिष्ट आन्दोलनभित्र पुँजीवादी–संशोधनवादी धाराको प्रतिनिधित्व गर्ने तथाकथित ‘जनताको बहुदलीय जनवाद’का समर्थकहरु उक्त प्रयासमा जोडले लागिरहेका छन् । त्यस प्रयासमा त्यसको औचित्य साबित गर्नका लागि संशोधनवादी धाराका समर्थहरुले नौलो जनवादी अडानबाट यदाकदा भएको पुष्पलालको सामयिक विचलनलाई अगाडि सार्ने गरेका छन् । खास रुपले हाम्रो ‘मूलबाटो’ नामक उहाँको कृतिमा उहाँबाट नौलो जनवादबाट पुँजीवादी संसदवादमा हुन गएको सैद्धान्तिक–राजनीतिक विचलनलाई जोडका साथ प्रस्तुत गर्ने गरिन्छ ।

उपरोक्त विषयबारे संक्षिप्तमा विचार गरौं । २०१९ सालमा अन्तर्जाेलन सामञ्जस्य समितिको आयोजकत्वमा सम्पन्न भएको तेस्रो पार्टी महाधिवेशनबाट राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पारित भयो । उक्त महाधिवेशनपछि त्यसका आयोजकहरुका बीच उठेका मतभेद र वादविवादको सिलसिलामा स्व.तुलसी अमात्यबाट कुन बाटो ? भन्ने पुस्तिका लेखेर प्रकाशित गरियो भने पुष्पलालद्वारा लिखित हाम्रो मूल बाटो शीर्षकको पुस्तिका प्रकाशनमा आयो । उक्त पुस्तिकामा पुष्पलालले संसदीय व्यवस्थाको पुनःस्थापना गर्ने भन्ने दरभंगा प्लेनमद्वारा पारित भनिएको राजनीतिक प्रस्तावप्रति (जुन प्रस्ताव वास्तवमा तत्कालीन पार्टी केन्द्रीय समितिमा बहुमत रहेको माझी डफ्फाले प्लेनममाथि लादेको थियो) समर्थन गरी संसदीय– प्रजातान्त्रिक व्यवस्थाको समर्थन गर्नुभएको थियो । सो पुस्तिकामा उहाँले तत्कालीन अन्तर्जाेनल सामञ्जस्य समितिको अपिलबाट (जसमा उहाँको पूर्ण समर्थन रहेको थियो) निम्न भनाइ उद्धृ गर्नुभयो ः

‘संसदीय प्रजातान्त्रिक व्यवस्था भन्ने बित्तिकै पुँजीवादी प्रजातन्त्र भन्नु एक गलत समझदारी हो । संसदीय प्रजातन्त्र पुँजीवादी प्रजातन्त्र अथवा राष्ट्रिय प्रजातन्त्र तथा जनवादी प्रजातन्त्र दुवै हुन सक्छ । निश्चय पनि ठाउँ–ठाउँमा आफ्नो आर्थिक स्थितिले गर्दा देशको पुँजीपति वर्गले संसदमाथि कब्जा गरी यसलाई आफ्नो स्वार्थ साधन गर्ने यन्त्र बनाउन समर्थ भएको छ । यस्तो प्रजातन्त्रको चरित्र पुँजीवादी जनतन्त्र नै हुन्छ, तर यदि कम्युनिष्ट पार्टीको नेतृत्वमा जनतालाई व्यापक रुपमा संंंगठित गरी संसदम तमाम क्रान्तिकारी वर्गहरुको बहुमत हुन्छ भने, जनताको क्रान्तिकारी ताकतलाई आधार बनाएर यसै संसदलाई पुँजीपतिवर्गको स्वार्थ साधन गर्ने यन्त्र बन्न दिनुको सट्टा तमाम जनताको स्वार्थ साधन गर्ने यन्त्रमा परिणत गर्न सकिन्छ र त्यसबेला संसदको वर्गस्वरुप पुँजीवादी वर्ग स्वरुप नभई जनताको स्वार्थको प्रतिनिधित्व गर्ने जनवाद वर्गस्वरुप हुनेछ ।’

पुँजीवादी संसदमा बहुमत ल्याएर त्यसको वर्गस्वरुपमा आमूल फेबदल गर्ने जुन धारणा उपरोक्त उद्धृत भनाइमा व्यक्तिएको छ, त्यो बिल्कुल माक्र्सवाद–विरोधी, संशोधनवादी– सुधारवादी धारणा हो भन्ने कुरा बिल्कुल स्पष्ट छ । अहिले कथित ‘जनताको बहदुलीय जनवाद’ र ‘राष्ट्रियजनवाद’को राजनीतिक कार्यदिशामा मूल धारणास्वरुप रहेको उक्त धारणा नै हो । त्यसैले, त्यस्तो कार्यदिशा मान्ने समूहहरुले आफ्नो पुँजीवादी–संशोधनवादी लाइनको पक्षमा पुष्पलाल–समर्थित उपरोक्त विचारमा जोड दिनु अस्वाभाविक कुरा होइन ।

जनवादसम्बन्धी माक्र्सवादी–लेनिनवादी धारणाको विपरीत रहेको उक्त धारणाप्रति पुष्पलालबाट समर्थन गरिनु अवश्य पनि एउटा गम्भीर विचलन (Deviation) हो । तर पुष्पलालमा त्यस प्रकारको विचलन अस्थायी मात्र रह्यो । पछि चाँडै नै (२०२५ जेठ) उहाँले उक्त संशोधनवादी–सुधारवादी अडानलाई परित्याग गरेर नौलो जनवादी अडानलाई ग्रहण गर्नुभयो । यस कुरालाई तेस्रो पार्र्टी सम्मेलनद्वारा पारित नयाँ जनवादी कार्यक्रमले स्पष्ट गरेको छ । यस सम्बन्धमा एउटा ध्यानयोग्य तथ्य के छ भने पुष्पलालमा यदाकदा देखिएका यस्ता विचलनहरु र सैद्धान्तिक–राजनीतिक गल्तीहरु कहिले पनि दक्षिणपन्थी–क्षणिक (Temporary) मात्र रहे । त्यस्ता विचलनहरु हुँदाहुँदै, उहाँ आधारभूत र प्रमुख रुपले क्रान्तिकारी माक्र्सवाद र नौलो जनवादी क्रान्तिका पक्षधर हुनुहुन्थ्यो ।

उक्त तथ्यको सन्दर्भमा कुन कुरा स्पष्ट छ भने पुष्पलाललाई पुँजीवादी प्रजातन्त्र र पुँजीवादी– संसदीय प्रणालीका दृढ समर्थकको रुपमा प्रस्तुत गर्ने अहिलेका दक्षिणपन्थी संशोधनवादीहरुको प्रयास बिल्कुल गलत र निन्दनीय छ । त्यस्तो प्रयास गर्नुको अर्थ उहाँको राजनीतिक अवमूल्यन गर्न र उहाँको क्रान्तिकारी छविलाई धमिल्याउन खोज्नु हो, जुन कुरा एकदमै निन्दनीय छ ।

यस सानो लेखलाई म पुष्पलालको मूल्यांकनसम्बन्धी केही कुराहरु शीर्षकको पहिले प्रकाशित आफ्नो लेखको तल उद्धृत भनाइबाट टुंग्याउन चाहन्छु ः ‘पुष्पलाल हाम्रा त्यस्ता पूर्वज हुनुहुन्छ, जसले मुलुकले कम्युनिष्ट तथा जनवादी आन्दोलनहरुमा केही महत्वपूर्ण योगदानहरु गर्नुभएको छ भने कतिपय भुलहरु पनि गर्नुभएको छ । मुलुकमा माक्र्सवादी विचारहरुको प्रचारप्रसारमा र कम्युनिष्ट आन्दोलनलाई संगठित पार्नमा उहाँको भूमिका, नेपाली जनआन्दोलनलाई नौलो जनवादी दिशातर्पm निर्देशित गर्नका लागि उहाँको कष्टसाध्य प्रयत्न, दक्षिणपन्थी तथा ‘वामपन्थी’ अवसरवादको विरुद्ध उहाँद्वारा चलाइएको संघर्ष, सोभियत नेतृ–डफ्फाद्वारा प्रतिनिधित्व गरिएको आधुनिक संशोधनवादको विरोधमा र माओत्सेतुङ विचारधाराको समर्थनमा उहाँको दृढ अडान, कठिनतम तथा संकटपूर्ण स्थितिमा पनि शत्रु वर्गसामु नलत्रने उहाँको भावना– यी सारा चहकिला योगदानहरु हुन् उज्ज्वल ध्वजाहरु हुन् । यी हाम्रो आन्दोलनका स्वस्थ, गौरवशाली परम्परा हुन्, जसलाई वर्तमान अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थिति अनुरुप अघि बढाउनु हाम्रो एक गम्भीर कार्यभार रहेको छ ।… अर्काेतिर हामीले उहाँका गम्भीर गल्तीहरु तथा असफलताहरुलाई पनि बेवास्ता गर्नु हुन्न, बरु तिनको ठीकसँग विश्लेषण गरी उचित शिक्षाहरु ग्रहण गर्नुपर्छ ।’
सन्दर्भ सामग्री
१. पुष्पलाल छानिएका रचनाहरु भाग १, पृष्ठ ६९
२. पूर्ववत् पृष्ठ २६०
३. पूर्ववत् पृष्ठ २९७
४. पूर्ववत् पुष्प २९६
५. हेर्नुहोस्, पुष्पलाल, छानिएका रचनाहरु भाग ३, पृष्ठ ८४
६.. पुष्पलाल, छानिएका रचनाहरु भाग २ पृष्ठ ५५