जित्ने भन्दा पनि हामीले मत संरक्षण गर्ने हो
रामप्रसाद पाेखरेल, मेयरका उम्मेदवार, बुटवल उपहानगरपालिका, रुपन्देही
नेकपा (क्रान्तिकारी माओवादी)को मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले निर्वाचनको क्रान्तिकारी उपयोगको नीति अन्तर्गत मत जित्नेभन्दा पनि मत संरक्षण गर्ने नीति लिएको हो । संसदवादीवाहरुको भण्डाफोर गर्ने हो । टाउकाको मूल्य तोकेको कांग्रेससँग घाँटी जोड्ने मोक, खोक्रो राष्ट्रवादको प्रलाप गर्ने एमालेलगायतका संसदवादी पार्टीहरुको भ्रमबाट जनता मुक्त हुँदै गएका छन् । अहिले उनीहरुले चुनाव जित्नलाई एउटा वडामा २२ देखि २५ लाखसम्म खर्च गरेका छन् । पैसा खर्च गर्नमा उनीहरुको प्रतिस्पर्धा छ । यति ठूलो धनराशी खर्च गरेर जितेमा उनीहरुले त्यसको कैयौं गुणा बढी स्थानीय तहमा विनियोजित बजेटबाट नै असुल्ने हुन् । उनीहरुले जितेर गएपछि तिनै जनतालाई चुस्ने र लुट्ने मात्र हुन् । जसले चुनावमा जति तडकभडक गरेको छ, त्यो जनताको हितमा छैन भन्ने कुरा जनताले बुझेका छन्, बुझ्नु पर्दछ ।
संसदीय पितृसत्ताविरुद्ध मेरो उम्मेदवारी
शुशिला आचार्य, मेयरकी उम्मेदवार, घोराही उपमहानगरपालिका, दाङ
म एउटा महिला पनि भएका कारण मेरो उम्मेदवारी समग्र अहिलेको प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध हो, त्यसमा मुख्यतः संसदीय पितृसत्ताविरुद्ध हो । एकाथरी मान्छेहरुले अब मुलुकमा सबै चिज प्राप्त भइसक्यो, अब अधिकारका लागि कुनै आन्दोलन गर्न आवश्यक छैन भन्दै हिडेका छन्, तिनीहरुका विरुद्ध पनि हो मेरो उम्मेदवारी । घोराही उपमहानगरपालिका पछिल्लो पटक घोषणा गरिएको हो । यसको आवश्यक भौतिक पूर्वाधार केही पनि छैन । यहाँका धेरै जनता विपन्न छन् । मजदुरहरुको समस्या समाधान हुन सकेको छैन । भूखण्डीकरण गरेर रातारात किसानका बस्तीहरु उठाइएका छन् । त्यस्ता भूमाफिया, विचौलियाहरुका विरुद्ध पनि हो मेरो उम्मेदवारी । दाङ दक्षिण एशियाकै ठूलो उपत्यका हो । त्यसैले पाँच नं. प्रदेशको राजधानी(सदरमुकाम) दाङमा नै हुनु पर्दछ भन्ने आवाज उठाउँदै आएको छु । लुम्बीनीलगायतका धार्मिक मठमन्दीरका कारण यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न सकिन्छ । यस्तै मुद्दाहरुलाई लिएर जनताको बीचमा गएका छौं हामी । जनताको साथ सहयोग राम्रै पाएका छौं । कांग्रेस, एमाले र माकेजनहरु हाम्रो उम्मेदवारीबाट अत्तालिएका छन् । खासगरी माके बढी आत्तिएको छ । हाम्रा उम्मेदवारहरुलाई धम्क्याउने, उम्मेदवारी फिर्ता लिन सबै किसिमले दबाब दिने गर्दै आएको छ । हामीले संसदीय व्यवस्थाको भण्डाफोर गर्नमा राम्रै समय खर्चेका छौं । तर चुनाव चिन्ह ढिलो पाउँदा मतदातासम्म चुनाव चिन्हको प्रचार राम्रोसँग गर्न सकेनौं । तथापि गणतन्त्रको नाममा लुटतन्त्र चलिरहेको बुझेका जनताले वैकल्पिक राज्यव्यवस्थाका निम्ति पनि मेरो चुनाव चिन्ह ‘क्यामेरा’मा खोजी खोजी मतदान गर्ने छन् ।
हामीले जनताको भरपुर सहयोग पाइरहेका छौं
पेमडोमा शेर्पा, मेयरकी उम्मेदवार, खिजिदेम्बा गाउँपालिका, ओखलढुंगा
कांग्रेस–माके र एमाले जस्ता संसदवादीहरुले लादेको तीन दलीय अधिनायकत्वका कारण हामीले दलीय चुनाव चिन्हमा चुनाव लड्न पाएनौं । स्वतन्त्रको रुपमा पाएको चुनाव चिन्ह पनि विकट जिल्लामा हिडेरै धेरै ठाउँ पुग्नुपर्ने हुँदा मतदातासम्म निर्वाचन चिन्हको प्रचार गर्न सकिएन । तर जनताको हामीले भरपपुर सहयोग पाइरहेका छौं । उनीहरुले व्यक्ति पनि चिनेका छन्, पार्टी पनि चिन्दछन् तर चुनाव चिन्ह नै चिन्ने र चिनाउने समय प्राप्त भएन । जनतामा संसदवादीहरुको छवि राम्रो छैन । गाउँको विकास हुन नसक्नुमा उनीहरुलाई नै जनताले मुख्य दोषी ठान्ने गरेका छन् । गाउँपालिकालाई सडक सञ्जाल, भएकाको स्तरोन्नती, खानेपानीको व्यवस्था, पर्यटन, आर्थिक रुपमा आत्मनिर्भर बनाउन पहल गर्ने, स्रोत साधनको समानरुपले बाँडफाँड गर्ने, सूचना तथा सञ्चारको पहुचभन्दा टाढा रहेकोले विद्युत, सिचाइ, टेलिफोनको व्यवस्था गर्नेलगायत लैङिग विभेदको अन्त्य गर्नुपर्ने जस्ता आवाजहरु हामीले उठाउँदै आएका छौं । जनताले बुझेका छन्– संसदवादीहरुजस्तो हामी बेइमान छैनौं । उनीहरुको पहिलो रोजाई देजमोका उम्मेदवारहरु नै पर्छन् । त्यसैले मलाई पूर्ण विश्वास छ– खिजिदेम्बाका जनताले यसपटक पानी फिल्टर चुनाव चिन्ह खोजी खोजी मतदान गर्नेछन् ।
चुनाव चिन्हको प्रचार गर्ने समय नै भएन
शान्तिराम गिरी, मेयरका उम्मेदवार, बेलवारी नगरपालिका, मोरङ
मुलुकमा सुशासन भएन । संसदवादीहरुका कारण भ्रष्टाचार, व्यथिति, कमिसन र अनियमितताले देश अहिले आक्रान्त छ । कांग्रेस, एमाले र माकेप्रति जनतामा तीव्र घृणा र आक्रोश छ तर पनि जनताले विकल्प पाएका छैनन् । विकल्पको रुपमा अगाडि आएको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाललाई दलीय चुनाव चिन्ह नदिंदा जनताले चाहेर पनि मत दिन सक्ने स्थिति बनेन । देजमोका उम्मेदवार चिने पनि चुनाव चिन्ह थाहा नपाउँदा मत अन्तै दिनुपर्ने वाध्यतामा छन् जनता । मलाई के विश्वास छ भने मेरो ‘इस्टकोट’ चुनाव चिन्ह हो भन्ने मतदाताले हामीलाई नै मतदान गर्नेछन् । संसदीय व्यवस्था, संविधान र सत्ताको भण्डाफोर गर्दै संगठन विस्तारको मुख्य आधार निर्माण गर्ने उद्देश्य राखेर मोर्चाले निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको हो । हामी यो उद्दश्यमा जनताबीचमा खरो उत्रेका छौं । साथै, यस नगरपालिकाभित्रका मजदुर, किसान, सुुकुम्बासी, साना लगानीका व्यवसायीहरुले भोग्नु परेका समस्या र त्यसको समाधानका विषयहरुलाई प्रमुखताका साथ उठाएका छौं । यसका अतिरिक्त २५ सय सुत्केरी भत्ता दिने, बृद्धबृद्धालाई सुरक्षा भत्ता घरमै गएर दिन, बेलबारीभित्र सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, दुई खाले शिक्षा नीतिको अन्त्य गर्ने, आकाशे पुलको व्यवस्था गर्ने, बेरोजगार युवाहरुलाई विना धितो ३ देखि ५ लाखसम्म ऋण दिने, प्राविधिक विद्यालयहरुको स्थापना गर्ने, धनपालगढी र बेतना सिसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, चिल्डेनपार्कको व्यवस्था गर्ने, साँस्कृतिक संग्रालयको स्थापना गर्ने लगायतका विषयहरु अगाडि सारेका छौं । हामी जनतासँगै चिउरा भुजा खाएर यस्तो प्रचार गरिरहेका छौं, संसदवादीहरु ह्वस्की, वियर, मासुको भोजभत्तेरमा मग्न छन् ।
हामी जे बोल्छौं, त्यो गर्छौं भन्ने जनतामा प्रभाव छ
विष्णुराम दमाई,मेयरका उम्मेदवार, बेदकोट नगरपालिका, कञ्चनपुर
ठोकेरै भन्न सक्छौं तीन दलीय शासकहरुले दलीय चुनाव चिन्हमा हामीलाई प्रतिबन्ध नलगाएको भए, हामीले उम्मेदवारी दिएका अधिकांश ठाउँमा जनताको प्रमुख रोजाइमा हामी पर्ने थियौं । स्वतन्त्रको रुपमा उम्मेदवारी दिनु, चुनाव चिन्ह ढिलो पाउँदा मतदातासम्म चुनाव चिन्हकै प्रचार गर्न नपाउनुले हामीलाई धेरै अप्ठ्यारो परेको छ । तथापी हामीले हाम्रा मुद्दाहरुलाई स्थापित गराउन सफल भएका छौं । यो प्रतिक्रियावादी व्यवस्थाबाट अहिलेको मुलुक र मुलुकबासीले भोगिरहेको समस्याको समाधान हुन सक्दैन । त्यसका लागि जनताको संघीय जनगणतन्त्रको स्थापना अनिवार्य छ । यो कुरा हामीले कम्तिमा जनतालाई धेरै हदसम्म बुझाउन सफल भएका छौं । जनताले भनेका छन्– जनताको पार्टी भनेको नेकपा (क्रान्तिकारी माओवादी) नै हो । यो पार्टीका नेताहरु निजी स्वार्थमा गएनन् । संसदीय सत्तामा गएर ऐस आरामको राजनीति गर्न चाहेनन् भन्ने छाप जनतामा छ । उनीहरुलाई विश्वास छ– हामी जे बोल्छौं, त्यही गर्छौं । उनीहरुले भनेका छन् हामी तपाईंको चुनाव चिन्हमा नै भोट हाल्छौं ।
हारे पनि जिते पनि गर्ने जनताको सेवा हो
गोपाल नेपाली, अध्यक्षका उम्मेदवार, ऐरावती गाउँपालिका, प्युठान
यो गाउँपालिकाको मुख्य समस्या भनेको खानेपानीको नै हो । सडक विस्तार, सडकको स्तरोन्नती, विकट क्षेत्रहरुमा बस्ती विकासको समस्या, पुलपुलेसा, अस्पताल शैक्षिक सुधारको समस्या छन् । कांग्रेस, एमाले, माकेलगायतबाट यी समस्याको समाधान यस गापाबासीले देखेका छैनन् । उनीहरुले विकल्प खोजी रहेका छन् । त्यो विकल्पको रुपमा हामी अगाडि आएका छौं । तर दलीय चुनाव चिन्ह नहुँदा जनताले चुनाव चिन्ह नै ठम्याउन गाह«ो परेको छ । मैले जनताबीचमा भन्ने गरेको छु– हारे पनि जिते पनि हामीले गर्ने जनताको सेवा नै हो ।