माओवादीहरु नै सच्चा कम्युनिस्ट हुन्

माओवादीहरु नै सच्चा कम्युनिस्ट हुन्

पचास बर्ष भयो र उत्साह अझै जारी छ । यो एउटा आन्दोलन हो, जसलाई धेरैले मन पराएका छन् र कतिले घृणा पनि गरेका छन् । यो कसैले वेवास्ता गर्न नसक्ने आन्दोलन हो । तर के यसलाई मान्छेले राम्रोसँग बुझेका छन् त ? रगत, हिंसा, बलिदान, खिन्नता, रमाइलो, दुस्साहस लगायत थुप्रै विषयहरु यो आन्दोलनसँग जोडिएका छन् । भारतमा नक्सल आन्दोलनलाई गलत तरिकाले बुझ्ने कुरामा पनि कुनै कमी छैन । राज्य, त्यसले गर्ने प्रचार र राज्यलाई समर्थन गर्ने संचार माध्यमहरुले यसलाई गलत ढङ्गले चित्रित गर्न सफल भएका छन् । यसलाई चिर्न नक्सलहरुको असक्षमताले पनि यस बारेको गलत बुझाईलाई मलजल गरेको छ ।

प्रथमतः नक्सलबादी आन्दोलन अक्सर चित्रण गरिने जस्तो कुनै रिसाहा युवाहरुको काम होइन । यो विगत साठी र सत्तरीको दशकको सामाजिक परिस्थितीका कारण पैदा भएको आन्दोलन हो । भारतको कुनै ठाउँबाट यो आन्दोलन सुरु हुनु पर्ने थियो, एउटा बंगाली गाउँ नक्सलबारीबाट सुरु भयो । भारत बेलायतको उपनिवेशबाट मुक्त भएपछि मानिसका थुप्रै आशा अपेक्षाहरु थिए । तर चाँडै नै ती निराशामा परिणत भए । भारतीय कम्युनिष्ट पार्टीमा विश्वास गरेका मानिसहरु पनि निराश भए । क्रान्तिको अगुवाई गर्न सक्ने क्षमताको भनेर धेरैले अड्कल गरेको महान तेलंगना सशस्त्र संघर्षलाई पनि धोकापूर्ण तरिकाले फिर्ता लिइयो । त्यसपछि असन्तुष्ट कार्यकर्ताहरुले भाकपा माक्र्सवादीको स्थापना गरे । तर त्यो परीक्षण पनि खेर गएको पुष्टि भयो । अन्तर्राष्ट्रिय स्तरमा पनि असन्तुष्टि उम्लिरहेको थियो । सोभियत अनुभव पनि असफल भएको पुष्टि हुदै गएको थियो । त्यति नै बेला माओ आशाको किरण बनेर उदाए । पार्टीको बुर्जुवा हेडक्वार्टरमा बम बर्षाउ भन्ने चीनको आह्वान थियो । महान सर्वहारा साँस्कृतिक क्रान्तिले बाटो देखायो । तरिक अलिले भने झैं, ती सडक संघर्षका बर्षहरु थिए ।

ल्याटीन अमेरिकामा भएका मुक्ति आन्दोलनहरु, पेरिसको विद्यार्थी विद्रोह र अमेरिकाको ब्ल्याक प्यान्थर्सको आन्दोलन जस्तै नक्सलबारी अपरिहार्य भैसकेको थियो । नक्सलबारी आन्दोलन र त्यसले पैदागरेको तरङ्ग भारतीय क्रन्ति सम्पन्न गर्नुपर्छ भन्ने उद्देश्यको परिणाम थियो । यो आन्दोलनले सिपिआई र सिपिआइएमलाई जगडेको सुधारवादी प्रवृत्तिका विरुद्ध सम्बन्ध विच्छेद ग¥यो । र यसले भारतीय क्रान्तिको बाटो स्पष्ट ग¥यो ।

यो कृषि क्रान्तिको सार बोकेको एउटा सशस्त्र संघर्ष थियो । यसले भारतीय समाजको वर्ग चरित्रको र शोषणका विद्यमान रुपहरुको विश्लेषण तुलनात्मक रुपले राम्रो ग¥यो । पचास बर्ष पछि यो आन्दोलनलाई वर्तमान राजनीतिक प्रणालीमाथिको सबैभन्दा ठूलो आन्तरिक चुनौती बनेको छ भन्ने विश्लेषण गरिएकोे छ । स्वभावतः यो विश्लेषणमा नक्सलीहरुले गर्व गर्ने गर्छन् । अघि भनिए झैं, नक्सलवादीहरुका बारे आम मानिसहरुमा कैयौं गलत बुझाईहरु पनि रहेका छन् । धेरैले नक्सलवादीहरुलाई कम्युनिष्ट भन्दा फरक हुन भन्ने गर्दछन् । वास्तवमा अहिले नक्सलवादी अथवा माओवादी भनेर चिनिनेहरु आफैमा कम्युनिष्टहरु हुन् ।

वास्तवमा, पेरु कम्युनिष्ट पार्टी सहित माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई माक्र्सवाद–लेनीनवाद–माओवाद, छोकटरीमा माओवादको स्तरमा विकास गर्ने नक्सलवादीको योगदानलाई विश्वका धेरै कम्युनिष्ट पार्टीहरुले स्वीकार गरेका छन् । सोभियत युनियन र चीनमा पूजीवादको पुनस्र्थापनाका कारण समाजवादले धक्का खाएको स्थिति र अग्रदस्ता पार्टीको भूमिकालाई अस्वीकार गर्ने उत्तराधुनिक आक्रमणको पृष्ठभूमीमा नक्सलीहरु अगाडि आए र तिनीहरुले वैचारिक चुनौतिको डटेर सम्बोधन गरे ।

नक्सलीहरुको कार्यक्षेत्र आदिवाशीहरुको बाहुल्य रहेको ईलाकामा पर्ने हुनाले उनीहरुको पार्टीेको उद्देश्य आदिवासीहरुको जीवनस्तरलाई माथि उठाउनु हो भन्ने गलत धारणा पनि रहने गरेको पाईन्छ । माओवादी पार्टी वास्तवमा आदिवासी पार्टी होइन, यो भारतमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यमा आधारित एउटा कम्युनिष्ट पार्टी हो । अन्य मूलधारका कम्युनिष्ट पार्टीहरुको जस्तो नभई, नक्सलीहरुले जात लगायतका विषयमा केही गम्भीर प्रश्नहरुको इमान्दारीपूर्वक सम्बोधन गर्ने प्रयास गरेका छन् र त्यो क्षेत्रमा केही विकास पनि भएको छ । अचम्म मान्नुपर्ने कुरा होइन कि यो आन्दोलनलाई एकजना आदिवासी मिसिर बेस्रा र अर्का दलित मिलिन्द तेलतुम्बदेले पनि अगुवाई गरेका छन् ।

नक्सलीहरु क्रान्ति सम्पन्न गर्न सफल नभएका हुन सक्छन् । तर यसले भारतमा पारेको प्रभावलाई ईन्कारगर्न सकिदैन । सँस्कृतिक क्षेत्र होस, साहित्यिक क्षेत्र होस या अन्य कुनै, यो आन्दोलनले खेलेको भूमिकालाई कसैले अवमूल्यन गर्न सक्दैन । पूर्व नक्सलीहरुले भारत भरी माक्र्सवाद सम्मत नदेखिने नयाँ सामाजिक आन्दोलन पनि सुरु गरेका थिए । अझ पिछडिएका क्षेत्रमा नक्सलीलाई काउण्टर गर्नका लागि केही कथित विकासका कामहरु पनि गरिए । नक्सलीहरुको बढ्दो प्रभाव र केही हिंसात्मक क्रियाकलापका कारण केरला जस्तो राज्यमा नाममात्रको भूमि सुधार पनि गरियो । देशमा पार्टी प्रतिवन्धित भएको हुनाले माओवादीको तागत सजिलैसँग आँकलन गर्न सकिदैन । तर, गम्भीर दमनका बाबजूद पनि तिनीहरुको तागत बलियो छ भन्ने कुरा स्पष्ट छ ।

देशको राजनीतिक प्रणाली जुन भित्रैदेखि हिंसात्मक छ त्यसले नक्सली हिंसालाई काउण्टर गर्न सक्दैन । सशस्त्र बलको प्रयोगबाट हुने प्रत्यक्ष हिंसादेखि गरिबी र असमानता लगायत संरचनागत हिंसासम्मले राज्य भित्रैदेखि हिंसात्मक छ भन्ने स्पष्ट छ । समस्याको मूल समाधान भनेको राज्यले यस्तो खाले हिंसा त्याग्नु हो । जबसम्म यस्तो हुँदैन, नक्सलीहरुले अझ विकास गरिरहने छन् । यो अभियान अगाडि बढने छ ।

लेखक एक मानवअधिकारवादी कार्यकर्ता हुन् ।  (अनु. प्रतीक सिग्देल)