पोखरा । कम्युनिष्ट नामधारी दर्जनौं कम्युनिष्ट पार्टी भएको नेपालमा मालेमावादी विचार सिद्धान्तको खडेरी परिरहेको छ । सुधारवादी, संशोधनवादी र अवसरवादी कम्युनिष्टहरुले विचार सिद्धान्तको महत्वलाई असाध्यै न्यूनीकरण गर्ने, धुमिल पार्ने, विकृत पार्ने र स्वार्थ अनुसार व्याख्या गर्ने गरेका कारण कम्युनिष्ट क्रान्तिकारीहरु समेत भ्रममा पर्ने गरेका छन् । आम श्रमजीवि जनतालाई समेत वास्तविक र क्रान्तिकारी कम्युनिष्ट पार्टी पहिचान गर्न समस्या परिरहेको छ । अवसरवादी, संशोधनवादी र सुधारवादी कम्युनिष्टहरुले वास्तविक र क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि चौतर्फी हमला बोलिरहेको अवस्थामा सही रुपमा मालेमावादको वैचारिक सैद्धान्तिक पथप्रदर्शनमा त्यसको क्रान्तिकारी आत्मालाई आत्मसात् गरेर हिड्ने संकल्प गरिरहेको एक मात्र पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले मालेमावादी सिद्धान्तको वैचारिक महत्व र त्यसको आवश्यकतालाई बोध गर्दै स्कूलिङ चलाउँदै आएको छ । केही समय अगाडि पार्टीको केन्द्रीय स्कूल विभागले मिथिला र पूर्वी मगराँतमा चलाएको स्कूलिङको स्प्रिटलाई निरन्तरता दिदै तमुवान राज्यले राज्यका अगुवा नेता कार्यकर्ताहरुको प्रतिनिधिमूलक सहभागितामा दुईदिने वैचारिक सैद्धान्तिक विषयमा आधारभूत कक्षा सञ्चालन गरेको छ ।
तमुवान राज्यन्तर्गतका विभिन्न जिल्लाबाट १८ जना छानिएका प्रशिक्षार्थीहरुलाई चार जना प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । वैज्ञानिक समाजवाद, दर्शन, संगठन, राजनैनिक अर्थशास्त्रको विषयमा नेकपा क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा तमुवान राज्यका इन्चार्ज समेत रहेका नेता श्रीनाथ अधिकारी‘श्याम’ले प्रशिक्षण दिएका थिए भने दर्शन, संस्कार र संस्कृतिका विषयमा माक्र्सवादी सिद्धान्तका ज्ञाता प्राध्यापक परशुराम कोइरालाले दिएका थिए । त्यसैगरी बिज्ञान र दर्शनको विषयमा अर्का माक्र्सवादी विद्वान प्राध्यापक होमनाथ पाठकले पढाएका थिए भने क्रान्तिकारी माओवादीको राजनैतिक कार्यदिशा, रणनीति र कार्यनीतिको विषयमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका नारायण अधिकारीले स्पष्ट पारेका थिए । पोखरामा शनिबार सम्पन्न उक्त स्कूलिङमा स्याङ्जा, पर्वत, तनहुँ, कास्की र गोरखाबाट प्रशिक्षार्थीहरु सहभागी भएका थिए । स्कूलिङले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, नेपालको कम्युनिष्ट आन्दोलन (माओवादी आन्दोलनसमेत), त्यसमा देखिएका विभिन्न धारा तथा प्रवृत्तिको विश्लेषणले नेपालमा अब कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई सही रुपमा बुझ्न र अगाडि बढाउन वैचारिक तथा राजनीतिक उर्जा प्रदान गरेको सहभागीहरुले अनुभूति साटे ।