धनुषामा शिक्षकमाथि गोली प्रहार

धनुषामा शिक्षकमाथि गोली प्रहार

जनकपुर । धनुषामा एक शिक्षकमाथि एकाविहानै गोली प्रहार भएको छ । जिल्लाको सिनरजोरास्थित विलख सर्वोदय मा. वि.का प्रधानाध्यापक नरेन्द्र शर्मामाथि गोली प्रहार गरिएको हो । गोली प्रहारबाट शर्मा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ । आइतबार बिहान आफ्नो घर जिरो माइलबाट मोटरसाइकलमा विद्यालय जाँदै गर्दा मोटरसाइकलमै आएका दुई अज्ञात व्यक्तिले सुनसान स्थलमा मोटरसाइकल रोक्न लगाई गोली प्रहार गरी फरार भएका हुन् । आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकलको नम्बर नखुले पनि होण्डा साइन मोटर साइकलमा आएको प्रहरीको भनाइ छ । प्रधानाध्यापक शर्मासँगै मोटर साइकलमा सवार सिराहाका आनन्द मण्डललाई केही नगरिएको भएपनि डरले उनी बेहोस भएका छन् । दुवै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।