एजेन्सी । गत साता उत्तर कोरियामा १५ महिनाको जेल सजायबाट रिहा भएर अमेरिका फर्किएका अमेरिकी विद्यार्थी २२ वर्षीय ओटो वार्मबिएरको मृत्यु भएको छ । उनका बाबुले मृत्युको पुष्टि गरेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओटोको मृत्युमा शोक प्रकट गर्दै उत्तर कोरियाको सत्ता एक क्रुर शासन भएको र त्यहाँ उनले धेरै समस्याको सामना गर्नुपरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘कुनै पनि परिवारका लागि कम उमेरमा नै आफ्ना सन्तान गुमाउनुभन्दा बढी पिडा केही हुँदैन ।’ ओटो वार्मबिएर यसरी कोमामा कसरी पुगे भन्नेबारेमा अहिलेसम्म स्पष्ट भइसकेको छैन ।
उत्तर कोरियाले वार्मबिएरलाई कोमाको अवस्थामा नै रिहा गरेको थियो । अमेरिका पुगेपछि उनलाई सिनसिनाटीमा अस्पतानमा भर्ना गरिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले उनमा गम्भीर दिमागी चोट रहेको जनाएका छन् ।
उत्तर कोरियाले उनले जेलमा रहँदा निद्रा लाग्ने औषधी अत्याधिक सेवन गरेका कारण यस्तो समस्या आएको बताएको छ । अमेरिकी चिकित्सकले भने यसलाई अस्वीकार गरेका छन् ।
उनका बाबुले उत्तर कोरियामा आफ्ना छोरामाथि चरम यातना दिएका कारण मृत्यु भएको बताएका छन् । वार्मबिएर परिवारले विज्ञप्तिमा भनेको छ, ‘जब जुन १३ तारिखमा वार्मबिएर घर फर्किदा उनी कुरा गर्न सक्ने, देख्न सक्ने र कसैको कुरा सुन्न सक्ने अवस्थामा थिएनन् । उनी हेर्न पनि सहज रुपमा सकिरहेका थिएनन् र थकित देखिन्थे ।’
भर्जिनिया विश्वविद्यालका अर्थशास्त्रका विद्यार्थी वार्मबिएर गत वर्षको जनवरीमा उत्तर कोरियाको भ्रमणका क्रममा एक होटलबाट प्रचार चिन्ह चोरी गर्ने कोशिसको आरोपमा पक्राउ परेका थिए ।