अन्तत स्थानीयलाई सेयर दिने भयो अपरमादी जलविद्युत्ले

अन्तत स्थानीयलाई सेयर दिने भयो अपरमादी जलविद्युत्ले

जेष्ठ २६, २०७४ । कास्कीको सिल्दुजुरेमा निर्माण सम्पन्न २५ मेगावाट क्षमताको अपरमादी जलविद्युत् आयोजनाले स्थानीयका मागमा अधिकांश सहमति पूरा भएको र बाँकी केही पूरा हुने प्रक्रियामा रहेकाले अनावश्यक माग राखेर दुःख नदिन अनुरोध गरेको छ ।

आयोजनाले स्थानीयलाई प्रमोटर तथा पब्लिक सेयरसमेत दिन तयार रहेको भन्दै स्थानीय बासिन्दाले पनि आयोजनाको अपनत्व लिएर आवश्यक सहयोग गर्न भनेको हो । मादी नदी जलाधार प्रभावित क्षेत्र एवं समन्वय तथा सरोकार समितिलाई सँगै राखेर आयोजनाले बिहीबार पत्रकार सम्मेलनमार्फत सहयोगका लागि याचना गरेको हो ।

‘हामीले अधिकांश सहमति कार्यान्वयन गरिसकेका छौं,’ आयोजना सञ्चालक मादी पावर प्रालिका कार्यकारी निर्देशक विजयबाबु मल्लले भने, ‘केही कार्यान्वयन प्रक्रियामा छन् । स्थानीयले थपेका केही माग पनि पूरा गर्ने प्रतिबद्धता जनाएका छौं । अब माग राखेर हामीलाई असहयोग गर्न भएन ।’ उनले सानो आयोजनाबाट स्थानीयस्तरमा उल्लेख्य काम भएको बताए ।

सडक, कजवे निर्माण, घरजग्गाको क्षतिपूर्ति, सिँचाई, स्वास्थ्य, आयआर्जन, विद्युत्, विभिन्न समाज, स्कुल, क्लब समूह, खानेपानी झोलुंगेपुल, ग्रामीण सडक विस्तारका लागि ठूलो रकम सहयोग दिइएको आयोजनाले जनाएको छ । समितिबीच २३ बुँदे सहमतिअनुसार काम भएको आयोजनाले जनाएको छ । सहमति कार्यान्वयन गर्दागर्दै पनि स्थानीयबाट विभिन्न थप माग राख्ने काम भएको मल्लले बताए । एम्बुलेन्स हस्तान्तरण, सडक स्तरोन्नतिलगायत मसानघाट, पौवा र त्यहाँसम्म पुग्ने बाटो बनाउने काम बाँकी रहेकोमा छिट्टै पूरा हुने उनले बताए।

आयोजनाका सञ्चालन प्रबन्धक वी जुन्जाओले सानो आयोजना भए पनि स्थानीयस्तरमा थुप्रै काम गरेको बताए । विकास निर्माण र समाजसेवा गर्ने इच्छा भए पनि भौगोलिक अवस्था, बाढी पहिरो, भूकम्पलगायत कारणले आयोजनाको लागत बढेकाले समस्या आएको उनको भनाइ थियो । ‘अब अरू माग राखेर दुःख दिनु भएन,’ उनले भने, ‘हाम्रो सहयोग ठूलो छ । आर्थिक रूपमा मजबुत भएपछि थप सहकार्यका लागि इच्छुक छौं।’

समितिका संयोजक मनबहादुर गुरुङले आयोजनाले गर्न बाँकी काम एक महिनाभित्र कार्यान्वयन गर्ने सहमति भएको बताए । स्थानीयको ठूलो र धेरै माग हुँदाहुँदै पनि समितिका तर्फबाट आयोजनालाई सक्दो सहयोग गरेको उनको भनाइ थियो ।

दुवै पक्षबीच बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएर कार्यान्वयन गर्ने सहमति भएको थियो । ‘कतिपय योजनामा स्थानीयले पैसा लगेर कामसमेत नगरेकाले त्यसको अनुगमन हुनुपर्छ,’ गुरुङले भने, ‘हामी आयोजनालाई सहयोग गर्न सकरात्मक छौं । आयोजनाले पनि सोहीअनुसार स्थानीयलाई सहयोग गर्नुप¥यो ।’

आयोजना र स्थानीयबासीबीच स्थानीय माग समस्यामा आवश्यक समन्वय गरी समस्या समाधानका लागि मादी नदी जलाधार प्रभावित क्षेत्र एवं समन्वय तथा सरोकार समिति गठन भएको थियो । आयोजनाले आसपासमा अरू जलविद्युत् आयोजना बन्न लागेकाले उनीहरूसँग पनि सहकार्य गरी बाँकी आवश्यकता पूरा गर्न सुझाएको छ ।

आयोजनाले प्रमोटर तथा पब्लिक सेयर दिन तयार रहेको जनाएको छ । ‘प्रमोटर सेयर लिन चाहेमा नियमअनुसारको प्रतिशत असार मसान्तभित्र लिनुपर्ने भनेका छौं,’ मल्लले भने, ‘चीन र नेपाल सरकारले स्वीकृति दिएमा स्थानीयलाई पब्लिक सेयर पनि दिन तयार छौं ।’ झन्डै चार वर्षमा करिब ७ अर्ब रुपैयाँको लागतमा सम्पन्न आयोजनाको गत पुस १५ मा उद्घाटन भएको थियो ।

आयोजनामा स्वदेशी सञ्चालक विजयबाबु मल्लको २० र चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) को ८० प्रतिशत लगानी छ। आयोजना चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले निर्माण गरेको हो।