साहित्य लेख्नु भनेको क्रान्तिका लागि विचार निर्माणको आधार तयार गर्नु र जनतामा वर्गचेतना जागृत गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हो । क्रान्तिको निम्ति विचार पहिलो र महत्वपूर्ण हतियार हो । विचारले नै क्रान्तिका साधनहरू जुटाउँछ । त्यसैले साहित्य जनताका निम्ति लेखिनु पर्छ र यसले जनताको सेवा गर्नु पर्छ । जनताको सेवा नगर्ने साहित्य, साहित्य होइन । त्यो बुर्जुवा वौद्धिक विलासको साधन र सस्तो मनोरन्जन दिने वस्तु मात्र बन्न पुग्छ ।
अझ प्रगतिशील तथा प्रगतिवादी भावधारामा आधारित साहित्य, कला र संस्कृतिको कुरा गर्ने हो भने त यो मालेमावादी विचारधाराले दीक्षित र निर्देशित हुनु जरुरी छ । प्रगतिवादी साहित्यको प्रस्थान बिन्दु समाजवादी यथार्थवाद हो । हाम्रो देशको सन्दर्भमा र अहिले लेखिने साहित्य नवीन यथार्थवादी हुनु पर्छ । यो अहिलेको समाजवादी यथार्थवाद हो ।
यतिवेला क्रान्तिको झण्डा मुर्झाएको छ । ठूलो त्याग र बलिदानी युक्त युद्धलाई क्रान्तिनायकबाटै प्रतिक्रान्तिमा ब्यापार गरेपछिको उत्पन्न निरासा, कुण्ठा र पलायनताले क्रान्तिको झण्डा मुर्झाउने परिवेश निर्माण गरिदिएको हो । प्रगतिवादी साहित्य, कला र संस्कृतिको विकास र संरक्षण गर्दै निरन्तर क्रान्तिको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नु सच्चा क्रान्तिकारी साहित्यकर्मीहरूको दायित्व रहन गएको छ । हाम्रो कलम साहित्यलाई भाग्य र कर्मवादमा घोलेर जनतालाई पिलाउने वैचारिक विषका विरुद्ध खरो उत्रनु पर्छ ।
भौतिकवादी द्वन्द्ववादका आधारमा यथार्थको चित्रण र त्यसद्वारा समाजको रूपान्तरणकारी भूमिका निभाउने साहित्य सिर्जना गर्नु पर्छ । अर्कातर्फ साहित्य र कला केवल सस्तो मनोरञ्जन र बुद्धिविलासको साधनको रूपमा उपयोग गर्ने पुरातनपन्थी एवम् यथास्थितिवादी प्रवृत्तिका विरुद्धमा माओले भन्नुभएजस्तै ‘साहित्य र कला जनसमुदायको सेवाका निम्ति’ भन्ने कुरालाई दृढतापूर्वक आत्मसात गर्ने साहित्यको विकास गर्न प्रगतिवादी स्रष्टाहरू एकढिक्का भएर लाग्नुपर्छ ।
अहिलेको समय नेपाली जनताका निम्ति अत्यन्तै पेचिलो र चुनौतीपूर्ण बनेर उभिएको छ । जनतामा जागृत हुँदै गएको प्रगतिवादी भावधारालाई विखन्डित गर्न र त्यसलाई एक्लो बनाएर समाप्त पार्नका निम्ति माक्र्सवादी कला चेतनालाई नै विकृत बनाउने प्रयत्नहरू भइरहेका छन् । प्रतिकृयावादीहरूको कूलधर्म नै हो कि जनतामा भ्रम छर्ने, गोलमाल पार्ने र सखाप पार्ने । त्यसैले उनीहरू जनताप्रति सङ्लिँदै गएको वातावरणलाई धुमिल्याउने कसरत गरिरहन्छन् । यो प्रष्ट बुझिने कुरा हो ।
संसोधनवादीहरू पनि अन्ततः निर्णायक मोडमा पुग्दा प्रतिकृयावादी वर्गकै विचारधारामा गएर मिसिन्छन् । अफसोच र विडम्बनाको कुरा त के छ भने क्रान्तिकारी पार्टी र विचारभित्रको सुधारवादी चेताना र संस्कृति निकै जटिल र चुनौतीपूर्ण हुँदो रहेछ । यो त निल्नु न ओकल्नु जस्तो भएर घाँटीमा अड्कँदो रहेछ । अहिले प्रगतिवादी विचार र संस्कृतिभित्रको मूल समस्या यही बनेको छ । वस्तुगत अवस्था जतिसुकै अनुकूल भएपनि क्रान्तिकारीहरूमा आत्मगत परिस्थिति तयार नहुने हो भने क्रान्ति सुदूर भविश्यको विषय बन्दै जान्छ ।
अर्को कुरा क्रान्तिकारीहरूमा क्रान्तिको निसाना छनौटमा एकरूपता पैदा हुन सकेन भने त्यसले एकातर्फ स्वयम् क्रान्तिकारीहरूमा विभाजित मनोविज्ञान पैदा गर्छ भने अर्कातर्फ मध्यमवर्गीय तप्काको ठूलो हिस्सालाई क्रान्तिमा गोलवन्द गर्न सक्तैन । यसले क्रान्तिको विषयमा द्विविधा र संशय पैदा गर्छ र निर्णायक धक्काको समय पछाडि पछाडि धकेलिंदै जान्छ ।
फलश्वरूप क्रान्तिका लागि समय आइनसकेको भन्ने तर्कले सार्थकता पाउँछ र क्रान्ति सुधारवादको दलदलमा नराम्रोसँग भासिँदै जान्छ । विश्व कम्युनिस्ट आन्दोलनमा यो रोगले निकै बलियो जरा गाड्दै आएको छ । अहिले हाम्रो देशको क्रान्तिकारी आन्दोलनमा पनि यो रोग सङ्क्रमित भएर पसेको छ र फैलने कोसिस गरिरहेको छ ।
इतिहासको विभिन्न कालखण्डमा जनताले निरङ्कुस र फासिवादी शासनसत्ताका विरुद्ध त्याग र बलिदानीपूर्ण सङ्घर्ष गर्दै आएका छन् । तिनै सङ्घर्षका गाथाहरूलाई पछ्याउँदै पचासको दसकदेखि यता निकै पेचिलो र चुनौतीपूर्ण ढङ्गबाट सञ्चालित वर्गसङ्घर्षद्वारा प्राप्त जनताका उपलब्धिहरूको अपहरण गर्ने र समाजलाई यथास्थितिमै फर्काउने षड्यन्त्रहरू प्रतिगामी कित्ताबाट भइरहेका छन् । यस्ता षड्यन्त्रहरू विगतमा अँध्यारो कुनाबाट मन्चन गरिन्थ्यो भने अहिले खुलेआम नाङ्गो तरिकाले गरिएको छ । जसले गर्दा जनताले प्राप्त गरेका जनतन्त्रका सीमित उपलब्धिहरू पनि गुम्ने र राष्ट्रिय स्वाधीनता झन् पछि झन् खतरामा पर्दै जाने भएको छ ।
यसप्रकारको आक्रमणमा साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्षेप तीव्र बन्दै गएको छ भने घरेलु प्रतिकृयावादीहरूले उनीहरूको दलाली गरेर राष्ट्रिय आत्मसमर्पणवादी संस्कृतिको विकास गरिरहेका छन् । अब कलमजीवी सिपाहीहरू आफ्ना कलम, मादल र सारङ्गीहरूलाई तिखारेर, माझेर र अझ तेजिलो स्वर उरालेर जनतालाई सचेत बनाउनुपर्ने भएको छ । साथै विगतमा जनयुद्धले निर्माण गरेको संस्कृतिको संरक्षण गर्दै रातो लालटिनको सांस्कृतिक इतिहासलाई निरन्तरता दिनुपर्ने भएको छ ।
यतिखेर नेपाली कम्युनिस्ट आन्दोलनका एकाथरी नेतादेखि कार्यकर्तासम्ममा वैचारिक स्खलनता आएको छ । शान्ति प्रकृयामा आएपछि उनीहरूमा प्राप्त भएको भौतिक परिवेसले क्रमशः चेतनामा स्खलनता ल्याइदिएको हो । यो वस्तुले चेतना निर्धारण गर्छ भन्ने द्वन्द्ववादी भौतिक विज्ञानले पुष्टि गरेको कुरा हो । आर्थिक अपारदर्शिता, अनियमितता, दण्डहिनता, अराजकता र गुटगत चेतनाका कारण वैचारिक स्खलनता आयो र त्यसले कम्युनिस्ट आदर्श, मूल्य, मान्यता र सपनाप्रति नै विचलनता ल्यायो ।
क्रान्तिकारीहरूलाई जडतावादी देख्नु र सिर्जनात्मक माक्र्सवादको रटान लगाउनु नै त हो नवसंशोधनवाद । यो भन्दा पनि अझ डरलाग्दो कुरा त के छ भने जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको संस्थागत विकास गर्दै अघि बढ्नुपर्छ भन्ने नाममा प्रकारान्तरले ‘लोकतान्त्रिक गणतन्त्र’मै क्रान्तिलाई सीमित गर्ने र त्यसैमा गोलचक्कर लगाउने प्रयत्न हुनु आमूल परिवर्तनकारी क्रान्तिका निम्ति घातक कुरा बन्न गएको छ । सिर्जनात्मक माक्र्सवादको रटान लगाउँदा लगाउँदै एउटा धारा माक्र्सवादलाई नै तिलाञ्जली दिएर कम्युनिस्ट विचार नै गलत भनेर हिँडेको छ भने अर्को धारा संसदीय व्यवस्थाको प्रवक्ता बनेर फासिवादतर्फ उन्मुख भइरहेको छ ।
जनयुद्धलाई जनविद्रोहमा वदल्ने भनेर शान्ति प्रकृयामा आएको शक्तिको मुख्य नायकहरूको पङ्क्ति नै यसरी एकाएक आफैँ प्रतिक्रान्तिको बाहक बनेर हिँडेपछि जनतामा नैरास्यता छाउनु, अविश्वासको दरार पैदा हुनु, कार्यकर्ताहरूमा पलायनता आउनु र निरास बन्नु स्वाभाविक हो । अहिले त्यही भएको छ ।
विचारमा स्खलनता आएपछि संस्कृति, कला र साहित्यमा पनि स्खलनता आउँदो रहेछ । नेपाली कम्युनिस्ट आन्दोलनको एउटा धारा २०४६ को पञ्चायती व्यवस्थाको अन्त्य पछि आएको बहुदलीय कालदेखि नै विचारबाट विचलित भएको थियो । त्यो धाराका केही व्यक्ति विशेष बाहेक सबै संस्कृतिकर्मी र साहित्यकारहरूमा पश्चगामी विचार हावी भएको छ ।
उसले लेख्ने साहित्य पनि पश्चगामी र यथास्थितिवादी मात्रै रहेको छ । त्यसैगरी अहिले माओवादी धाराबाट विचलित भएको धाराका संस्कृति, कलाकर्मी र साहित्यकारहरूमा पनि विचारधाराबाट तीव्र स्खलित हुँदै छ र त्यसले पनि यथास्थितिका पक्षमा कलम चलाउँदै छ । क्रान्तिको धङधङी बचेकाहरूमा केही मात्रामा अग्रगामीपना देखा परे पनि मूलरूपमा यो पङ्क्ति द्विविधायुक्त मनस्थितिमा गुज्रिरहेको छ । विचार र राजनीति पश्चगमनतर्फ गएको छ र त्यो प्रतिक्रियावाद उन्मुख हुँदै छ भने साहित्यकारहरूमा ढुलमुलपन देखा पर्छ ।
यो पङ्क्ति निरास, अकर्मण्य, ढुलमुल, हतास, कुण्ठाग्रस्त र सत्तालिप्साको तीव्र आङ्क्षीका रूपमा देखा परेको छ । आज यसका विरुद्ध हाम्रो साहित्य अझ बढि खरो र धारिलो भएर आउनु जरुरी छ । हामी साहित्य लेख्छौँ समाज रूपान्तरणका लागि । हाम्रो साहित्यले नवीन यथार्थको चित्रण गर्छ र त्यसको भावधारा पकड्छ । यसरी मात्र हाम्रो साहित्यको सार्थकता रहन्छ ।
वर्गीय समाजमा हरेक कुरा वर्गीय हुन्छन् भन्ने कुरा माक्र्सवादको कखराजस्तै सास्वत तथ्य हो । त्यसैले हाम्रो साहित्य, कला, सङ्गीत र सम्पूर्ण सांस्कृतिक पहलुहरू पनि वर्गअनुरूप आआफ्नो पक्षधरतामा खडा भएका हुन्छन् । हुनु पर्छ । हाम्रो समाज पनि वर्गविभाजित छ । जसका कारण यहाँ वर्गसङ्घर्ष झन्पछि झन् निर्मम् र पेचिलो बन्दै गएको छ । यस्तो परिस्थितिमा हाम्रा कलम कतातिर भन्ने प्रश्न जब उपस्थित हुन्छ त्यो बेला हामीले भन्नैपर्छ कि हाम्रो कलम जनतातिर ।
एकातर्फ देशमा अशान्ति, असुक्षा, अराजकता, दण्डहीनता, हत्या, आतङ्क, लुटपाट, चोरी, डकैती, अपहरण, फिरौतीकाण्ड, वलात्कार आदि जघन्य आपराधिक कृयाकलापहरू दिनहुँ बढिरहेका छन् भने अर्कोतर्फ दमन र राज्यआतङ्क पनि यथावत नै छ । यो सबैको कारकतत्व पछ्यौटे र असमान आर्थिक अवस्थाले निम्त्याएको गरिबी, अभाव, अशिक्षा, बेरोजगारी, वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको परिणाम हो, जो प्रतिक्रियावादी शासनसत्ताका उपज हुन् भन्ने कुरा हाम्रो लेखनकर्ममा अभिव्यक्त हुनुपर्छ । अहिलेको शाषनसत्ता पनि प्रतिक्रियावादी वर्गकै हातमा छ ।
जतिसुकै क्रान्तिकारी भनिएका नेताका हातमा शाषनसत्ताको एउटा अङ्ग सरकार भएता पनि वर्तमान राज्यसत्ताको मूल चरित्र प्रतिक्रियावाद नै हो । यो कुरा हाम्रो साहित्यमा अभिव्यक्त हुनु पर्छ । त्यसका साथै निकासको प्रश्न पनि हाम्रो लेखनबाट प्रस्ट्याइनु पर्छ । तब मात्र त्यसले जनताको सेवा गर्न सक्छ । अन्यथा हाम्रो साहित्य पनि केवल बौद्धिक विलासको साधनमा सीमित हुन पुग्छ । यसप्रति हाम्रा सबै स्रस्टाहरू सजग र सचेत रहनु पर्छ ।
आउनुहोस् हामी यो मर्मलाई आत्मसात गरौँ र एकसाथ समाज रूपान्तरणको यो अभियानमा लामवद्ध हौँ । यहाँनेर साहित्य सिर्जना गर्दा हामीले बिर्सन नहुने कुरा के छ भने जनयुद्ध सिर्जित नवीन यथार्थको भावधारालाई आत्मसात गर्नु र त्यसको गहिरो अध्ययन, चिन्तन, मनन् गर्दै त्यसले स्थापित गरेका मूल्य मान्यताहरूलाई आत्मसात गर्नु र जीवनव्यवहारमा लागू गर्नु हो । यसलाई शब्द र कर्मको मेल पनि भनिन्छ । हाम्रा कयौँ प्रगतिशील वा प्रगतिवादी साहित्यकारहरूमा शब्द र कर्मको पर्खाल निकै ठूलो भएको पाइन्छ । त्यो पर्खाल भत्काउने कोसिस गरौँ ।
देशमा भइरहेका सबैखाले शोषण, उत्पीडन र दमनका विरुद्ध नेपाली मुक्तिकामी जनताले धेरैपटक ठूलठूला त्याग र बलिदानीपूर्ण सङ्घर्षहरू गरे । ती सबै सङ्घर्षहरूलाई हरेक पटक सम्झौतामा लगेर तुहाइयो । जनता जहाँको तहीँ रहन बाध्य भए । पचासको दसक यता भएको बलिदानीपूर्ण सङ्घर्ष नेपालको इतिहासमा निकै ठूलो, भारी महत्व र मूल्यको रहेको छ । जसको जगमा नै नेपालबाट सामन्तवादको नायक घोडाबाट खसालियो । यो कुरा सबैलाई ज्ञात भएकै विषय हो ।
परन्तु, नेपाली जनताले पूर्ण मुक्तिको श्वास फेर्न नपाएको वर्तमान परिवेशमा जनताले प्राप्त गरेका सीमित उपलब्धिहरूलाई पनि अपहरण गर्ने षड्यन्त्रहरू भइरहेका छन् । तसर्थ हामीले निरन्तर क्रान्तिको झन्डा उठाउने चेतना निर्माण गर्नु पर्नेछ । यी तथ्यहरू हाम्रा वर्तमानका गम्भीरतम् चुनौतीहरू हुन् । फेरि एकपटक क्रान्तिको विगुल फुक्न हाम्रा सबै सांस्कृतिककर्मी, साहित्यकार, कलाकारहरूका कलम तिखारिनु आवश्यक छ ।
यसले माओले भन्नुभएको कुरा ‘यसले क्रान्ति आउनुभन्दा अघि विचारधारात्मक रूपले भूमि तयार पार्दछ र यो क्रान्तिको बेलामा व्यापक क्रान्तिकारी मोर्चामा महत्वपूर्ण, साँच्चै आवश्यक र सङ्घर्षशील एक मोर्चा’ बन्न पुग्छ । त्यो बेला सबैखाले संसोधनवाद, सुधारवाद र अवसरवाद समाप्त भएर जानेछन् । क्रान्तिको व्याज खाएर बनेका नवसामन्त र नवपुँजीपतिहरू पनि जनयुद्धमा जस्तै क्रान्तिका निसाना बन्ने छन् ।