काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै सिंहदरबार आएर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण सम्हाल्दै उनले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
यसैगरी अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्री र चार मन्त्री नियुक्त गरेका छन् । देउवा सरकारमा ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि महेश आचार्य र डा.रामशरण महतमध्ये एक अर्थमन्त्री बन्ने चर्चा थियो । तर देउवाले नेता रामचन्द्र पौडेल समूहका दुवै नेतालाई छाडेर आफ्नै समूहका कार्कीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री बनेका छन् । गच्छदारले स्थानीय विकास, महराले परराष्ट्र र श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
कांग्रेसबाटै फर्मुल्लाह मन्सुर श्रममन्त्री भएका छन् भने माओवादीबाट जर्नादन शर्मा गृहमन्त्री र प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।