संसदीय निर्वाचनको कुरुपता

संसदीय निर्वाचनको कुरुपता

स्थानीय तहको पहिलो चरणको निर्वाचन छिटफुट घटनाका बाबजुद सम्पन्न भएको छ । यसले सरकार र निर्वाचन आयोग हौसिएको छ । निर्वाचन सम्पन्न गर्नका लागि चुनौतीको रुपमा राज्यले मधेशमा सी.के. राउत, मधेशी मोर्चा र नेकपा विप्लवलाई लिएको थियो । मधेशी मोर्चामा विवाद भै अब मधेशी मोर्चा नरहेको अवस्था छ । उपेन्द्र यादव पार्टी र राजपा दुई पार्टीको रुपमा अब रहन गएको छ । उपेन्द्र यादव निर्वाचनमा सहभागी भैसकेको छ भने राजपा अहिले पनि बहिष्कारमा छ । सी.के. राउत सरकारकै कब्जामा छ भने नेकपा विप्लवले देखिने खालको बहिष्कारको प्रतिक्रिया पनि देखाउन सकेन । यसरी निर्वाचनमा राज्यले ठूलो चुनौती सामना गर्नु परेन तर दोस्रो चरणको निर्वाचन केही तनावपूर्ण हुने संकेत राजपा र संघीय गठबन्धनले संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने निर्णय गरेकोले देखिएको छ ।

संविधान संशोधनको डेटलाइन जेष्ठ ४ गतेको संसदले गर्ने भन्ने सरकारसँगको भद्र सहमति रहेको थियो तर जेष्ठ ४ गतेको संसदमा त्यसले विषय प्रवेश नै पाएन र प्रचण्डले राजीनामा दिइसकेको अवस्थामा छ । ९ महिनासम्मको आन्दोलनकारी शक्तिहरुलाई भुल्याउन प्रचण्ड सफल भए । यस बीचमा पहिलो चरणको स्थानीय तहको निर्वाचन गर्ने समेत सफल भए । अब दोस्रो चरणको निर्वाचन देउवा नेतृत्वका ने.का., मा.के.को सरकारले गराउनुपर्ने छ, यो निर्वाचन चुनौतीपूर्ण छ । प्रथम चरणको निर्वाचनको परिणाम हेर्दा संसदभित्र पुरानो र ठूला दलकै वर्चश्व देखिन्छ ।

परिणाम सहज ढंगले आएको छैन जनताले यी दलहरुलाई विश्वास गरेर मतदान गरेका होइन । यस्तो परिणाम ल्याउनका लागि एमाले, कांग्रेस र माकेले पुरानै शैली साम, दाम, दण्ड, भेद, प्रसस्त मात्रमा गेरेको देखिन्छ । १ वडामा २० लाख खर्च गरेको देखिन्छ । लोभ लालचमा मतदातालाई प्रभावित बनाएको देखिन्छ, त्यसका साथै संसदभन्दा बाहिरका दलहरुलाई निर्वाचन चिन्ह नदिने नयाँ दललाई दल दर्ता नगराउने जस्तो संविधान र जनताका मौलिक हक विपरीत गई आफूभन्दा अरुलाई निषेध गरेर निर्वाचन गराएको कारणले पनि उनीहरुले यो हात पार्न सफल भएको छ । लोकतन्त्र भन्ने संविधानको सर्वाेच्चता कुरा गर्ने तर अलोकतान्त्रिक असम्बैधानिक क्रियाकलाप गर्ने, योे केवल षडयन्त्र जालझेलको फल मात्र हो । वास्तविक जनताको मन जितेर भएको छैन ।

त्यसैले यो जीतको औचित्य पुष्टी हुन सक्दैन । निर्वाचनमा उनीहरुको पोल्टामा परिणाम आउनुको पछाडि जनताको विश्वास जित्न सक्ने वैकल्पीक राजनैतिक शक्तिको अभाव पनि हो । संसद भित्र रहेका साना दलहरु वैकल्पिक शक्ति हुन सक्दैन । तामझामका साथ स्थापना गरेका नयाँ शक्ति पनि हुन सक्दैन । अपेक्षाकृत परिणाम हासिल गर्न सकेन भने राप्रपा यस निर्वाचनमा नराम्ररी पराजित भएको छ तर यो स्वाभाविक हो उसको मत यहि नै हो । किन संविधान सभाको निर्वाचनमा एक भोट दाईलाई, एकभोट गाईलाई एकभोट बाछी, एक भोट गाछी भनेर हिन्दुवादी राजावादी एमाले, कांगे्रसले राप्रपालाई समानुपातिक भोट हालेका थिए । तर यसपालि त्यस्तो भएन । परिणामतः राप्रपा पराजित भयो । यसले के निश्कर्षमा पुगिन्छ भने अब राप्रपाको एजेण्डा सन्दर्भपूर्ण रुपमा समाप्त भयो । र, पराम्परागत शक्तिको अस्ताएको शुभसंकेत देखा पर्दछ र अहिले राप्रपाको जे परिणाम आएको छ, त्यसले आगामी प्रदेश र संघीय संसदमा झन सकिने छ र अब राष्ट्रिय पार्टीको रुपमा पनि आउन नसक्ने देखिन्छ ।

हामीले सर्सती हेर्दा यस निर्वाचनमा परम्परागत प्रतिगामी, यथास्थितिवादी, प्रतिक्रियावादी शक्ति र प्रगतिशिल अग्रगामी शक्ति गरी तीन प्रकृतिको राजनैतिक विचारको प्रतिस्पर्धा भएको छ । यसमा परिणामको हिसाबले हेर्ने हो भने यथास्थितीवादी प्रतिक्रियावादीको विजय भएको देखिन्छ । परम्परागत शक्ति र अग्रगामी शक्तिको हार भएको देखिन्छ ।

पराम्परागत शक्तिको हार एजेण्डाको संगठन शक्तिको पनि हार हो तर अग्रगामी शक्तिको त्यस्तो होइन । हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी)ले समर्थन गरेको देशभक्त जनगणतान्त्रिकका उम्मेद्वारहरुको पराजित हुनु स्वभाविक नै हो । हामीले यो निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने भनेका थियौं । त्यो भनेको यो प्रतिक्रियावादी संसदीय व्यवस्था र यसका संचालक प्रतिक्रियावादी पूँजीवादीहरुको भण्डाफोरको लागि हो । त्यस विषयमा मोर्चाले केही कमि कमजोरीको बावजुद जनता माझ पुगेर आफ्ना एजेण्डाका साथ भण्डाफोर गर्न सफल भएकै छ ।

हाम्रो उद्देश्य अनुसार जुन रुपमा व्यापक भण्डाफोर हुनुपर्ने, जनपरिचालन गर्नुपर्ने, उचित समयमा नीति निर्माण र निर्देशन, बृहत सहकार्य उचित तालमेत, विरोधीहरुबीचको अन्तरविरोध, स्थानीय विशेषताको आधारमा, संसदवादीहरुको विपक्षमा जनमतको गोलबन्द गर्ने कार्यलाई समय अभावका कारण गर्न सकिएन । यद्यपि हामीले भण्डाफोर मार्फत् संगठन निर्माणको आधार तयार गर्ने उद्देश्य केही हदसम्म हासिल गरेका छौं । हामीले यो अवसरको सदुपयोग गरेका छौं । हामीले हाम्रो राजनैतिक लक्ष्य हासिल गर्नको लागि जनता माझ जाने हरेक अवसरहरुलाई उपयोग गर्नुपर्छ । निर्वाचनको परिणामले त्यस्तो ठुलो तत्विक भिन्नता राख्दैन र क्रान्तिकारीहरु यो परिणामबाट निराश हुनुपर्ने जरुरी छैन ।