काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

एमालेको अवरोधले संसद चल्न नसकेपछि सभामुख ओनसरी घर्तीले सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको बहुमतीय प्रक्रिया सुरु भएको जानकारी गराएकी हुन् ।

सहमतीय सरकार गठनका लागि दिएको समयमा सरकार गठन हुन नसकेपछि बहुमतीय प्रक्रियाबाट सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले समय दिएकी छिन् ।

सभामुखले जानकारी दिएलगत्तै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने आइतबार बिहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ । चितवनको भरतपुरमा मतगणना तत्काल सुरु गर्न माग गर्दै प्रमुख विपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

विपक्षी एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदबाटै सुरु गर्नु पर्ने एमालेको भनाई छ ।

तर, सत्तारुढ दलहरुले भने सूचना टाँसेर भएपनि प्रक्रिया सुरु गर्नु पर्ने बताएका थिए । सहमतिको प्रयासमा विहान कार्यव्यवस्था परामर्श समितिको र दिउँसो तीन दलको बैठक बोलाइएपनि सहमति हुन नसकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर