डोटी घटनामा भारतीय सरकारलाई माफी मगाउन क्रान्तिकारी माओवादीको माग

डोटी घटनामा भारतीय सरकारलाई माफी मगाउन क्रान्तिकारी माओवादीको माग

काठमाडाैं । नेकपा (क्रान्तिकारी माओवादी)ले एक प्रेस वक्तव्य जारी गरी विना इजाजत वर्दीमा भारतीय प्रहरीका डीएसपी नागराजको टोली नेपाल प्रवेश गरी दीपायल सिलगडी नपा–८, लडागडाका लालबहादुर आउजीलाई अपहरण गरी लैजान खोजेको घटनालाई नेपाली सार्वभौमसत्तामाथि भारतले गरेको ठाडो हस्तक्षेपको रुपमा कडा विरोध एवम् तीव्र भत्र्सना गर्दै उक्त घटनामा भारतीय सरकारलाई माफी मगाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

भारतीय प्रहरीले बुधबार मध्यरातमा घरभित्र पसी, हातखुट्टा बाँधी मुखमा पट्टि बाँधेर आउजीलाई अपहरण गरी भारत लैजान खाजेका थिए । यस घटनाप्रति पार्टीको गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै क्रान्तिकारी माओवादीले भारतको यस्तो नाङ्गो हस्तक्षेप र ज्यादतीका विरुद्ध आवाज उठाउँदै दोषीउपर कडा कारबाही गर्नुको सट्टा सरकारको निर्देशनमा नेपाल प्रहरी प्रशासनको नियन्त्रमा रहेका भारतीय प्रहरीका डीएसपी नागराजसहितको टोलीलाई जनताको सूचनाको हकलाई कुण्ठित गरी गुपचुप रुपमा सिमामा पु¥याएर भारतीय पक्षलाई जिम्मा लगाएको घटनाले वर्तमान सरकारको लम्पसारवादी चरित्रलाई अझ उदाङ्गो पारिदिएको जनाएको छ ।

क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलको हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ, “भारतीय पक्षबाट नेपालको सार्वभौमिकतामाथि पटक पटक हुने गरेका यस्ता हस्तक्षेपकारी घटनामा भारतीय सरकारलाई सार्वजनिक रुपमा माफी मगाउन नेपाल सरकारले तत्काल पहल अगाडि बढाओस्, हाम्रो पार्टी जोडदार माग गर्दछ ।”

वक्तव्यमा एउटा सार्वभौम मुलुकमाथि पटक पटक हुँदै आइरहेका भारतीय हस्तक्षेप र ज्यादतीका विरुद्ध डटेर प्रतिरोध गर्न स्वाभिमानी नेपाली नागरिकसँग जोडदार आव्हान गरिएको छ भने भारतीय सत्तासिन वर्गसँग लम्पसार वर्तमान कठ्पुतली दलाल सरकारको राष्ट्रघाती चरित्रका विरुद्ध पनि जोडदार आवाज बुलन्द गर्न हार्दिक अपिल समेत गरेको छ ।