
१८ जेठ, काठमाडौं । बैंकहरुले निक्षेपको व्याज दर बढाउने क्रम रोकिएको छैन् । जनता बैंकले मुद्दती निक्षेपमा १३ प्रतिशत ब्याज दिने प्रस्ताव गरेको छ ।
‘मुद्दतीको दम बचत खाता पनि छैन कम’ भन्ने नाराका साथ न्युनत्तम मौज्दात ५० हजार रुपैयाँ राख्दा नै अब बचतकर्ताले १३ प्रतिशत ब्याजदर पाउने भएको छ ।
बैंकले यसअघि नै गौतम बुद्ध बचत खातामा ८ प्रतिशत ब्याज प्रस्ताव गरेको थियो ।
चुनाव पछि बैंकहरुको पुँजी अभावको समस्या समाधान हुने अपेक्षा गरिएको भएपनि त्यस्तो हुन सकेको छैन् ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्बले घटेको छ । गत जेठ ६ गते बाणिज्य बैंकहरुमा १९ खर्ब ५७ अर्ब निक्षेप रहेको बैंकहरुमा जेठ १२ गतेभने निक्षेप घटेर १९ खर्ब ५४ अर्बमा सिमित भएको छ ।
एक साताको अवधिमा भने कर्जा लगानीमा २ अर्बकै वृद्धि भएको छ । जेठ १२ गते कर्जा लगानी १६ खर्ब ६४ अर्ब पुगेको छ ।
बैंकहरुको कर्जा बढिरहेको र निक्षेप संकलनमा सुधार नहुँदा कोर पुँजी र निक्षेपको जोडको तुलनामा कर्जा लगानी अनुपात (सीसीडी रेसियो) मा दबाब पुगेको छ ।