स्थानीय तहको पहिलो चरणको निर्वाचनमा जताततै चुनावी गठबन्धन देखियो । यो गठबन्धन एकै प्रकारको नभएर विभिन्न प्रकारको छ । कतै उम्मेदवार मनोनयन नहँुदै गठबन्धन भए भने कतै उम्मेदवार मनोनयन भएपछि गठबन्धन भएका छन् । काठमाडौं महानगरपालिकामा र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच चुनावी गठबन्धन भएको छ । पोखरा लेखनाथ महानगरपालिका र भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको बीचमा चुनावी गठबन्धन भएको छ । बाग्लुङ नगरपालिकामा एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चा बीच चुुनावी गठबन्धन भएको छ । लम्जुङ र तनहुँमा एमाले र माओवादी केन्द्र बीच तालमेल भएको छ । वडा तहसम्म जाँदा चुनावी गठबन्धन यस्तो भएको छ कि त्यहाँ कुनै नीति सिद्धान्त कार्यक्रमले काम गरेको छैन । चुनावी गठबन्धन पद जित्ने उद्देश्यसँग मात्र सिमित छ ।
जब प्रतिस्पर्धीलाई एक्लै पराजित गर्न सम्भव हुन्न, तब त्यहाँ चुनावी गठबन्धन हुन्छ । प्रतिपक्षीमा बसेर चुनाव जित्छौं भन्ने एमालेले राप्रपासँग चुनावी गठबन्धन ग¥यो । सरकारमा गएर चुनाव परिणाम आफ्नो पक्षमा पार्छौं भन्ने नेका र माओवादी केन्द्रले पनि चुनावी गठबन्धन गरेका छन् । सत्तामा रहेका र प्रतिपक्षमा रहेका पार्टीहरु नेका, एमाले र माओवादी केन्द्रले जसरी चुनावी गठबन्धन गरे त्यसले के कुरा प्रष्ट भयो भने बाहिर एक्लै चुनाव जित्छौं भनेर जति झ्याली पिटे पनि भित्र एकलै चुनाव जितिन्छ भन्ने विश्वास रहेन छ । त्यसकारण उनीहरुले अप्राकृतिक चुनावी गठबन्धन गर्न पुगे । आफुले गरेका जनविरोधी र राष्ट्रिय स्वाधीनता विरोधी कार्यहरुले गर्दा जनतामा आफुहरु प्रति आक्रोश छ भन्ने कुरा उनीहरुले राम्रैसँग मनन् गरेको कुरा यो चुनावी गठबन्धनले प्रष्ट पार्दछ ।
निर्वाचनमा राजनीतिक दलहरुको बीचमा चुनावी गठबन्धन हुन सक्छ र हुन्छ । चुनावी गठबन्धन राजनीतिक कार्यदिशा र राजनीतिक, आर्थिक, सामाजिक कार्यक्रमको आधारमा हुन्छ । तर नेपालमा अहिलेको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुको बीचमा जुन चुनावी गठबन्धन भएको छ त्यो नीति, कार्यक्रमको आधार होइन कि नितान्त सत्ता स्वार्थमा केन्द्रीत भएर भएको छ । आफुलाई बहुदलीय जनवादको पक्षधर र कम्युनिष्ट पार्टी भन्ने एमालेले राजतन्त्र र हिन्दूराज्य बनाउन पर्दछ भन्ने प्रतिगामी राप्रपासँग चुनावी गठबन्धन गरेको छ । ठीक त्यसैगरी आफुलाई सर्वहारा वर्गको राजनीतिक पार्टी भन्ने माकेले दलालपूँजीपति वर्गको पार्टी नेकासँग चुनावी गठबन्धन गरेको छ । यो चुनावी गठबन्धन जनता र राष्ट्रको स्वार्थलाई अगाडि राखेर होइन कि आफ्नो सत्तास्वार्थलाई केन्द्रमा राखेर बनेको हदै दर्जाको अवसरवादी गठबन्धन हो । यसले देश जनताको हितमा काम गर्दैन ।
राप्रपा र नेकाले एमाले र माओवादी केन्द्रसँग चुनावी गठबन्धन गर्नु कुनै अनौठो कुरा होइन । तर एमाले र माओवादी केन्द्रले राप्रपा र नेकासँग चुनावी गठबन्धन गर्न पुग्नुको मुख्य कारण यी पार्टीहरुमा आएको सैद्धान्तिक, राजनीतिक विचलन र वर्गीय पक्षधरताको परित्याग हो । कम्युनिष्ट पार्टी भनेको सर्वहारा वर्गको राजनैतिक पार्टी हो । यसले सर्वहारा वर्गको अधिनायकत्वमा आम शोषित पीडित जनसमुदायको पक्षमा काम गर्दछ । नाम कम्युनिष्ट पार्टी राखे पनि जब त्यो पार्टीले सर्वहारा वर्गको पक्षधरतालाई बिर्सन्छ, त्यसबेला त्यो पार्टीले पूँजीपति र सामन्त वर्गकै हितमा काम गरेको हुन्छ । वर्ग संघर्षलाई छोडेको हुन्छ र वर्ग समन्वयलाई लागु गरिरहेको हुन्छ । अहिले यहाँ एमाले र राप्रपा, नेका र माओवादी केन्द्र बीच भएको चुनावी गठबन्धनमा यही कुराले काम गरेको छ ।
यसप्रकारको चुनावी गठबन्धनले देशलाई अग्रगामी परिवर्तनको दिशातिर होइन कि यथास्थिति र प्रतिगमनको दिशातिर ढकेल्ने छ । स्थानीय तहको निर्वाचनमा यसप्रकारको चुनावी गठबन्धन पहिलो चोटी भएको भएता पनि सत्ता प्राप्तिको लागि यस प्रकारको गठबन्धन पहिलेदेखि नै हुँदै आएको छ । २०४६ सालको परिवर्तन पछि जब एमालेको नौ महिने सरकार ढल्यो, त्यसपछि एमालेले नेकाको विरुद्धमा पूर्वपञ्चहरुको पार्टी राप्रपासँग मिल्न पुग्यो । यतिसम्म कि पूर्वपञ्च सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर त्यो सरकारमा एमाले सहभागी हुन पुग्यो । दशवर्षे जनयुद्ध र ०६३÷०६३ को आन्दोलनले ल्याएको परिवर्तनपछि पनि नेका, एमाले र माओवादी केन्द्रको नेतृत्वमा सरकार हुँदा पनि सबै पार्टीहरुले पूर्व पञ्चहरुको पार्टी राप्रपालाई सरकारमा सामेल गराए । ०४६ को जनआन्दोलन र ०६२÷०६३ को आन्दोलनले पाखा लगाएका पूर्व पंचहरु र राजावादी शक्तिहरुलाई नेका, एमाले र माओवादी केन्द्रले काखी च्यापेर मलजल गरिरहेका छन् । अहिले पनि स्थानीय तहको चुनावमा उनीहरु सँग तालमेल गरेर विभिन्न ठाँउबाट जिताएर ल्याउदै छन् । यी ठुला भनिने पार्टीहरुको यस प्रकारको गतिविधिले आन्दोलनले पाखा लगाएको राजावादी शक्तिहरुको गुमेको जन आधारलाई विस्तारै बढाउँदै छ । एमाले र माओवादी केन्द्रको राप्रपा र नेकासँग चुनावी गठबन्धन गर्ने र सत्ता साझेदारी बनाउने नीति र कार्यले नेपालको कम्युनिष्ट आन्दोलनलाई त क्षति पु¥यायो नै पूँजीवादी संसदीय व्यवस्था भित्र हुने काम पनि गर्न सकेको छैन । जनतालाई अधिकार विहिन र राष्ट्रलाई पराधिन बनाउँदै लगेका छन् ।
यस प्रकारको अवस्थामा सरकारमा भएका नेका, माओवादी केन्द्र, प्रतिपक्षीमा भएको एमाले र प्रतिगामी शक्ति राप्रपाको विरुद्धमा भण्डाफोर अभियानलाई तीव्र बनाउनु सबै क्रान्तिकारी शक्तिहरुको साझा कर्तव्य हो ।