सीपी गजुरेलले भने, ‘चुनाव जिते जनताको काम, हारे क्रान्तिका कमाण्डर’

सीपी गजुरेलले भने, ‘चुनाव जिते जनताको काम, हारे क्रान्तिका कमाण्डर’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले आफूहरुले स्थानीय तहको निर्वाचन आधा जित हासिल गरिसकेको दाबी गरेका छन् । अहिलेको निर्वाचनबाट आफूहरु सत्ता प्राप्ति हुन्छ भन्ने भ्रममा नरहेका कारण स्थानीय निर्वाचनमा गएर क्रान्तिका कमाण्डरहरु पनि तयार पारेको बताए । बागबजारस्थित होटल हार्दिकमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले निर्वाचनको आधा हिस्सा जितिसकेका छौं, अब जनताले आफ्ना प्रतिनिधिका रुपमा चुनेमा जनताको काम गर्छाै, नगरेमा उनीहरुलाई नै क्रान्तिको कमाण्डर बनाएर नयाँ जनवादी क्रान्ति पूरा गर्ने दिशामा अघि बढ्छौं ।’

अहिलेको निर्वाचन परिवर्तनकारी र यथास्थितिवादी शक्तिबीचको प्रतिस्पर्धा भएका कारण आफूहरुको भोट नबाँडिने उनको भनाई थियो । उनले भने, ‘अहिलेको संविधान नमान्ने र क्रान्तिको पक्षमा रहेको शक्ति निर्वाचनमा भाग लिएको भए पो भोट बाँडिन्छ ? परिवर्तनको पक्षमा रहेका मतदाताका लागि हामी एकमात्र विकल्प भएका कारण आफूहरुको भोट सुरक्षित रहेको छ ।’

नेता गजुरेलले संविधान सभा बहिस्कार गरेर पनि स्थानीय निर्वाचनमा सहभागी भएको भनेर विभिन्न पक्षबाट आलोचना गर्नुको कुनै अर्थ नरहेको उल्लेख गरे । उनले क्रान्ति उभारमा रहेका बेला निर्वाचन बहिस्कार गर्ने र उतारमा रहेका बेला क्रान्तिकारी शक्तिलाई एकत्रित र सुदृढ बनाउनका लागि निर्वाचनमा भाग लिनु सामान्य विषय भएको भन्दै रुसमा जारशाहीले गराएको दुमाको निर्वाचनमा लेनिनको पार्टीले भाग लिएको उदाहरण दिए ।

उनले अहिलेको संविधान अस्वीकार गरेर निर्वाचनमा सहभागी हुने आफूहरु एक्लो पार्टी भएको उल्लेख गरे । उनले भने, ‘हामी स्थानीय निर्वाचनमा संविधान मानेर आएको भनेर हल्ला फैलाइएको छ, त्यस्तो भ्रममा नपर्नुहोला, हामी त यो संविधानलाई यही व्यवस्थाभित्र र बाहिर दुवैतिरबाट सिध्याउनका लागि निर्वाचनमा सहभागी भएका हौं ।’

अहिलेको स्थानीय तहको निर्वाचनमा संसदवादी दलले विकासका नारा दिन उनीहरुको ढोङमात्र भएको भन्दै पञ्चायती कालमा भन्दा बढी राष्ट्रघात गर्नेलाई विकासका नारा लगान नसुहाउने उल्लेख गरे । देजमोका अध्यक्ष गजुरेलले विकासका नारा अहिलेभन्दा बढी पञ्चायतले लगाएको, त्यसपछि बहुदलीय व्यवस्थामा दलहरुले त्यसैलाई नक्कल गरेको उल्लेख गर्दै नारा लगाउँदैमा देश विकास हुने भए राणाकालमा, पञ्चायती कालमा र बहुदलीय व्यवस्थामा किन नभएको भन्दै प्रश्न गरे । व्यवस्था परिवर्तन नभएसम्मम जनताले चाहेअनुसारको विकास, शान्ति र समृद्धि नआउने उल्लेख गर्दै उनले परिवर्तनको पक्षमा मतदान गर्न उनले आम जनतालाई आग्रह गरे ।

अहिलेको राजनीतिक व्यवस्था गणतन्त्र, या लोकतन्त्र नभई निरंकुश तन्त्र, लुट तन्त्र, ठग तन्त्र भएको उल्लेख गर्दै सुशीला कार्की, नवराज सिलवालहरु त्यसैको शिकार भएको उनको टिप्पणी थियो । देश दिनदिनै अधोगतीतिर गइरहेका बेला निर्वाचनको माहौलको कुरा गर्नु बेठिक भएको भन्दै उनले देशको चिन्ता नगरी चुनाव र सत्ताको चिन्ताका लागि भएको निर्वाचनको माहोलको अर्थ नहुने बताए । गजुरेलले भने, ‘जनताले पैसा तिरेर बिजुली बाल्न पाउँदा खुसी हुनुपर्ने र निशुल्कै पाएको जस्तो त्यसकै गुणगान गाउनुपर्ने अवस्था छ, यो के को लोकतन्त्र हो । अनी यीनै दलहरुले के विकास गर्छन र जनताहरु उनीहरुका पछि लाग्नुपर्ने ?’

अहिलेको स्थानीय निर्वाचनमा पैसाको खोलो बगाइएको उल्लेख गर्दै उनले संसदवादी दलहरुले अहिले खर्च गरेको पैसा स्थानीय तहबाटै ब्याजसहित उठाउने उल्लेख गर्दै आफूहरुले निर्वाचनमा एक पैसा पनि खर्च नगरेका कारण चुनाव जितेमा इमान्दारिताका साथ जनताको पक्षमा कामहरु अघि बढाउने समेत उल्लेख गरे ।

पत्रकार भेटघाटमा नेता गजुरेलले काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर र उपमेयरका प्रत्यासीहरु गोर्की श्रेष्ठको चुनाव चिन्ह ईंटा, उपमेयर सावित्रा खरेलको चुनाव चिन्ह गैती, ललितपुर मेयरका उम्मेदवार विजय खड्गीको चुनाव चिन्ह शंख, उपमेयर इन्दिरा अधिकारीको चुनाव चिन्ह मुढा रहेको जानकारी गराउँदै देशभक्त जनगणतान्त्रिक उम्मेदवारको पक्षममा मतदान गर्न जनसमुदायसँग अपील पनि गरे ।
कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका सचिव परि थापा, नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेल, कार्यालय सदस्य रामसिंह श्रीसलगायत नेताहरुको उपस्थिति रहेको थियो ।