५ मे, सन् १८१८ मा जर्मनीमा जन्मिएका दार्शनिक कार्ल माक्र्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र र सन् १८६७ मा अर्को कृति पुँजीको पहिलो खण्ड प्रकाशनमा ल्याएपछि विश्वमा नै त्यसले हलचल पैदा ग¥यो । उनको यो कृतिको उद्देश्य एडम स्मिथ, जीन बाप्टिस्ट सेभ, जोन स्टुअर्ट मिल, डेभिड रिकार्डोजस्ता शास्त्रीय राजनीतिक अर्थशास्त्रीको विपरित उत्पादनको पूँजीवादी तरिका र समाजवादी र साम्यवादी व्यवस्थालाई प्रष्ट पार्नु थियो ।
उनले विश्व राजनीतिमा देखाएको समाजवाद र साम्यवादको बाटोमा हजारौं लामबद्ध हुन पुगे र विश्वमा वर्गसंघर्षलाई नयाँ ढंगबाट अघि बढाउने क्रम सुरु भयो । यसैको जगमा रुसमा लेलिनले मजदुर वर्गलाई मुख्य रुपमा साथमा लिएर अक्टुबर क्रान्तिद्वारा रुसमा समाजवादी सत्ता स्थापना गर्न सफल भए भने चीनमा माओले किसानलाई मुख्य शक्ति मानेर गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको बाटोबाट घुमाउरो यात्रा तय गर्दै नयाँ जनवादी क्रान्तिमार्फत सत्ता स्थापना गर्न सफल भए । त्यसपछि विश्वभर नै प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध क्रान्तिकारी माओवादीहरुले बन्दुक उठाउने क्रम सुरु भयो । विश्वमा धेरै देशमा माओवादीले राज्यसत्तालाई हायलकायल बनाएका छन् भने कतिपय देशमा त्यसले सोचेजस्तो प्रगति हासिल गर्न सकेनन् ।
विश्वका कम्युनिस्ट आन्दोलनलाई हेर्ने हो भने सन् १८७१ मा सम्पन्न पहिलो मजदुर क्रान्ति ‘पेरिस कम्युन’ ले ठूलो उत्साह पैदा गरेको थियो तर त्यो ७२ दिनमा नै समाप्त भयो । त्यसपछि कम्युनिस्ट क्रान्ति सम्पन्न हुन ४६ वर्ष लाग्यो । रुसमा लेनिनले नेतृत्व गरेको रुसी कम्युनिस्ट पार्टीको नेतृत्वमा सन् १९१७ मा पहिलो वैज्ञानिक सिद्धान्त र वैज्ञानिक योजनामा आधारित अक्टुबर समाजवादी क्रान्तिले संसारभर यति ठूलो प्रभाव पा¥यो कि विश्वका कैयौं देशमा कम्युनिस्ट पार्टीहरु धमाधम बन्ने र क्रान्तिकारी आन्दोलनहरु अघि बढाउने काम तिव्रतामा अघि बढ्न थाले । माओले सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको प्रमुख कारण रुसी समाजवादी क्रान्तिको चीनमा परेको सकारात्मक प्रभाव भएको कुरा उल्लेख गरेका थिए । सन् १९४९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति सफल भएपछि विचार र राजनीति मात्र होइन भूगोल र जनसंख्याका हिसाबले पनि ठूलो प्रभाव पार्न सफल भयो ।
नेपालमा पनि १० वर्षसम्म चलेको जनयुद्ध मुख्य नेतृत्वले गरेको धोखा र गद्दारी गरेका कारण रक्षात्मक अवस्थामा पुगेको छ । नेपालमा माओवादी आन्दोलनलाई नयाँ ढंगबाट संगठित गर्ने प्रयत्न भइरहेको छ । गत वर्षमात्रै ५२ वर्ष लामो गृहयुद्ध सञ्चालन गरेको कोलम्बियाको वामपन्थी फार्क विद्रोही समूह शान्तिवार्तामा सहभागी भयो भने फिलिपिन्सको युद्धरत माओवादी पार्टी आफ्नो योजनामा अघि बढिरहेको छ । भारतमा नक्सल आन्दोलनका रुपमा सुरु भएको माओवादी जनयुद्ध पूर्वी भारतीय राज्यहरुमा फैलिइरहेको छ । पश्चिम बंगाल, झारखण्ड, छत्तिसगढलगायतका राज्यहरु माओवादी आन्दोलन व्यापक बन्दै गएको छ । पछिल्लो समयमा भारतको सुकमामा माओवादीले गरेको आक्रमणमा परी २५ भारतीय अर्धसैनिक बलका जवानको मृत्यु भएपछि एकपटक पुन भारतीय माओवादीबारे चर्चा चुलिएको छ ।
सुकमा हमला र फर्जी मुठभेड
भारतको छत्तिसगढको सुकमा जिल्लामा अप्रिल अन्तिम साता माओवादी हमलामा २५ जना सीआरपीएफ जवानको मृत्युपछि संदिग्ध माओवादीको शबलाई लिएर अहिले प्रश्न चिन्ह खडा भएको छ । सुकमामा माओवादी हमलापछि स्थानीय जनतामाथि त्रास उत्पन्न हुनुका साथै भारतीय सुरक्षाफौजले स्थानीयमाथि दमन जारी राखेको छ । यसैक्रममा भारतीय सेनाले एक व्यक्तिको माओवादीसँगको मुठभेडमा मृत्यु भएको भन्दै शब ल्याएपछि त्यसले बहस र विवाद सिर्जना गरेको छ ।
बुरकापालका जनताले माओवादी भनिएका मृतक मडकम बामनलाई घटनाको अघिल्लो दिन सुरक्षाफौजले लगेको र हत्या गरेको आरोप लगाउँदै आएका छन् । स्थानीयले सुरक्षाफौजले नै उनको हत्या गरेर माओवादीले शब अन्त्येष्टि गरेको स्थानबाट बरामद गरिएको झुठो बयान बाहिर ल्याएको बताउँदै आएका छन् । तर दन्तेवाडाका डीआईजी सुन्दरराज पीले यो आरोप गलत भएको बताएका छन् । उनले भनेका छन्, ‘सुरक्षाफौजमाथि हमला गर्नका लागि माओवादीले जनमिलिशियालाई लिएर आउने गरेका छन्, यी व्यक्तिलाई पनि माओवादीले ल्याएको हुनसक्छ, जो मुठभेडमा मारिए । हामीले यो शब तीन दिनपछि फेला पारेका हौं, जसलाई गाडिएको स्थानबाट कुनै जनावरले बाहिर निकालेको हुन सक्छ ।’
बुरकापालमा बस्ने मकडम बामनका बाबु माडवी दुलालाई प्रहरीले ताडमेट्लामा ७६ जना सीआरपीएफ जवानको हत्याको घटनामा सन् २०१० मा गिरफ्तार गरिएको थियो । तर अदालतले उनी निर्दोष रहेको ठहर गर्दै छाड्न आदेश दिएको थियो । तर यसैवर्ष मार्च ११ मा माओवादीले प्रहरीको सुराकी भएको आरोपमा हत्या गरेको थियो । प्रहरीले घटनाको तेस्रो दिन घटनास्थलबाट एक शब बरामत गरेको थियो ।
प्रहरीले सीआरपीएफको जवाफी कारबाहीमा उनी मारिएको र शब माओवादीले नै गाडेको आशंका गरेको छ । तर स्थानीयले बरामद गरिएको शब बुरकापाल गाउँका माडवी दुलाका छोरा मडकम बामनको भएको र उनलाई सीआरपीएफको टोलीले अघिल्लो दिन गाउँबाट पक्राउ गरी लगेर फर्जी मुठभेडमा मारिएको बताएका छन् । प्रहरीले भने घटनाको अघिल्लो दिन पुरै इलाकामा सुरक्षा बलका जवान र मिडियाकर्मी समेत उपस्थित भएको भन्दै आफूहरुले यस्तो गरेको भए पहिले नै घटना सामने आउने दाबी गरेको छ । यस घटनाका विषयमा स्थानीयले कुनैपनि उजुरी गरेका पनि छैनन् ।
ठूलो संख्यामा पुरुषहरु वेपत्ता
भारतको छत्तिसगढको सुकमामा माओवादी हमलापछि ठूलो संख्यामा स्थानीय पुरुषहरु वेपत्ता पारिएका छन् । बुरकापाल पुगेका आम आदमी पार्टीका नेता डा.संकेत ठाकुरले सो स्थानमा माडेवी दुलाका छोरा बामनको मात्रै प्रश्न नभएर ठूलो संख्यामा पुरुषहरु वेपत्ता पारिएको बताएका छन् । संकेत ठाकुरले भने, ‘गाउँमा केबल बच्चा, बुढा र महिलाहरु मात्रै छन् । उनलाई सोध्दा थाहा भयो कि गाउँका अधिकांश पुरुगा वेपत्ता छन् । उनीहरुको बारेमा कुनै जानकारी छैन । हुनसक्छ सुरक्षाबलको डरका कारण जंगलमा भागेका हुनसक्छन् । तर उनीहरु कहाँ छन् भन्नेबारेमा ठीक उत्तर पाउन सम्भव छैन ।’
किन हुन्छन् ठूला हमला ?
छत्तिसगढको सुकमामा भएको जस्ता हमला हुनुमा केही कारणहरु जिम्मेवार छन् । पहिलो कुरा भारत सरकारले माओवादी समस्या लगभग समाप्त भइसक्यो र अब चार/पाँच वर्षमा यसको पुरा उन्मुलन हुन्छ भन्नेजस्तो जुन सन्देश दिन खोजेको छ यो गलत हो । सरकारले यस्तो प्रकारको रबैया अपनाएपछि त्यसको प्रतिक्रियामा माओवादीले यस्ता घटना घटाउने गरेका छन्, जसले अझै पनि माओवादी आन्दोलन नसकिएको सन्देश दिन सकोस् । उनीहरुले अझै आफूहरुको शक्ति कायमै रहेको र सरकारी अर्धसैनिक बलमाथि हमला गरेर नोक्सानी पु¥याउन सक्ने क्षमता आफूहरुमा रहेको देखाउन चाहन्छन् । दोस्रो महत्वपूर्ण कुरा भनेको राज्य प्रहरीका एक जवान पनि घाइते भएको खबर छैन, मर्नेको कुरा फरक भयो ।
सरकारले पनि यस्ता हमलाबाट केही पनि सिक्न चाहेको छैन भन्ने देखिन्छ । सबैभन्दा ठूलो कमजोरी भनेका अहिलेसम्म पनि माओवादी आन्दोलनलाई राजनीतिक आन्दोनका रुपमा स्वीकार गरेर त्यसलाई सम्बोधन गर्ने कोशिस भएको छैन । यसैगरी राज्यसँग माओवादी समस्यालाई हतियारकै बलमा समाधान गर्न खोजेपनि राज्य र केन्द्र सरकारको एउटै बुझाई छैन । राज्यको जुन आँकलन छ, सोही अनुसारको नीति बनाउँछ । छत्तिसगढ भनौं या महाराष्ट्रको त्यस्तो कुनै नीति नै छैन ।
अहिले भारतमा माओवादीका विरुद्धमा जुन अभियान चलिरहेको छ, त्यसको कुनै स्पष्ट आधार र गन्तव्य देखिदैन । सबै आ–आफ्नो डम्फु बजाइरहेका छन् र आफ्नो आफ्नो सिद्धान्तको राग अलापिरहेका छन् । सेना तथा प्रहरी सरकारी यो नीतिबाट खुसी छैनन् । यसैगरी भारतीय सुरक्षाफौजभित्रै पनि माओवादी समस्यालाई राजनीतिक तरिकाले समाधान खोज्नुपर्ने आवाज छ । तर हाल यो पुरै समस्यालाई प्रहरीमाथि सुम्पिएको छ । सुरक्षाफौजमा नै बर्दीधारीभन्दा केही बढी जिम्मेवारी प्रशासनको भएको र सुदूर इलाकामा सक्रिय आदिवासीलाई मुख्यधारामा जोड्नका लागि योजना बनाउनुपर्ने धाराणा पाइन्छ ।
स्थानीय माओवादीमा जान किन बाध्य छन् ?
माओवादी सिद्धान्तलाई ठीक ढंगले बुझेर वा त्यसलाई व्यवहारमा नै लागु गरेर आन्दोलनमा होमिनेसँगै राज्यको दमनचक्रका कारण माओवादी आन्दोलनमा समाहित हुनेहरुको ठूलो संख्या छ । नेपालमा पनि १० वर्षे जनयुद्धका क्रममा राज्य पक्षबाट ठूलो दमन भएको थियो । भारतमा पनि राज्यदमनबाट ठूलो संख्यामा पूर्वी राज्यका आदिवासीहरु माओवादीमा सामेल भएका छन् ।
यसबारेमा भारतमा हालै रायपुर सेन्ट्रल जेलकी सहायक जेल अधिकृत वर्षा डोङ्ग्रेले फेसबुकमार्फत व्यक्त गरेका भनाइले प्रष्ट पार्दछ । उनले मे २ मा फेसबुकमा लेखेको सो स्टाटस अहिले अन्तर्राष्ट्रिय स्तरमा नै चर्चामा रहेको छ । उनले विदेशी पुँजीपतिको स्वार्थ पूरा गर्नका लागि आदिवासी जनतालाई विस्थापित गर्ने गरिएको, प्रहरीले गरेका अपराध बाहिर जाने डरले ती क्षेत्रहरूमा पत्रकार तथा मानवअधिकारवादीहरूलाई जान नदिएको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, ‘पुँजीपति व्यवस्थालाई आदिवासी क्षेत्रमा जबर्जस्ती लागु गर्नका लागि उनीहरूलाई जल, जङ्गल र जमिनबाट बलपूर्वक विस्थापित गर्न गाउँका गाउँ आगोमा भष्म पार्नु, आदिवासी महिलालाई बलात्कार गर्नु र आदिवासी महिला नक्सली हुनु कि होइनन् भनेर प्रमाण दिन स्तर निचरेर दूध निकाल्न लगाउने समेत गरिएको छ । टाइगर प्रोजेक्टको नाममा आदिवासीहरूलाई जल, जङ्गल र जमिनबाट बलपूर्वक विस्थापित गर्ने रणनीति बनाइएको छ ।
जब कि संविधानको पाचौँ अनुसूची अनुसार सरकारसित आदिवासीको जल, जमिन र जङ्गल हडप्ने कुनै अधिकार हुँदैन । आखिर यो सब किन भइरहेको छ ? नक्सलवाद समाप्त पार्न हो जस्तो लाग्दैन ।’ उनको सामाजिक सञ्जालमा व्यक्त यस धारणाले पनि त्यहाँका आदिवासी जनतालाई कतिसम्म थिचोमिचो राज्यबाट गरिएको छ भन्ने प्रष्ट हुन्छ । उनले विदेशी पुँजीपतिका दलालहरूले भारतमा मानवीयता नै समाप्त पारेका र आफूहरू अन्याय पनि नगर्ने र अन्याय पनि नसहने भन्दै घुमाउरो रुपले त्यसविरुद्धका संघर्षका लागि आव्हान गरेकी छन् ।
अन्त्यमा सन् १९७६ मा माओको निधनपछि विश्वमा माओवादी आन्दोलन नेतृत्वविहीन जस्तो बन्न पुग्यो । यसमा रहेका कमीकमजोरीलाई सच्याउँदै अघि बढाउने प्रयत्न भइरहेको छ । मुख्य कुरा विचारधाराको विकासमा आएको अवरोध हो । अब विचारधाराको संकटको हल गर्दै आन्दोलनलाई उठाउन सक्ने हो भने माओवादी आन्दोलनको भविष्य उज्वल छ ।