काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले जनसमुदायको नाममा एक अपील जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुको पक्षमा मतदान गर्न सार्वजनिक आव्हान गरेको छ । पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले २३ बैशाखमा एक अपील जारी गर्दै यस्तो आव्हान गरेका हुन् । मोर्चाले स्थानीय तहको निर्वाचनमा क्रान्तिकारी उपयोगको नीतिसहित सहभागी बनेको छ । पहिलो चरणको निर्वाचनमा मोर्चाका उम्मेदवारहरुले अधिकांश जिल्लामा उम्मेदवारी दिएका छन् ।
यस्तो छ अपीलको पूर्णपाठ :




देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुको पक्षमा मतदान गर्न
जनसमुदायमा हार्दिक आह्वान !
आदरणीय जनसमुदाय,
अहिले पुरानो राज्यसत्ता र संसदीय व्यवस्था अन्तर्गत स्थानीय निर्वाचन हुन गइरहेको छ । यस निर्वाचनमा हाम्रो पार्टीले भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको छ । त्यस अनुसार सो मोर्चाका उमेदवारहरुको पक्षमा मतदान गर्नका लागि हाम्रो पार्टी मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित हार्दिक अनुरोध गर्दछ ।
नेपाली जनताले देशमा विद्यमान सामन्तवाद, साम्राज्यवाद तथा विस्तारवादद्वारा हुँदैआएका उत्पीडन, दमन तथा प्रभुत्वको अन्त्यगरी राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि धेरै रगत र पसिना बगाए । ठूलो संख्यामा सहादत प्राप्त गरे, कैयौं राज्यद्वारा वेपत्ता पारिए, कैयौं घाइते अपाङ्ग बने । परन्तु, जनतालाई वर्गीय आत्मसमर्पणवादी, राष्ट्रघाती तथा जनघाती तत्व र दक्षिणपन्थी संशोधनवादी नेताहरुले धोका दिए । फेरिपनि दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गको राज्यसत्ता र संंसदीय व्यवस्था कायम गरिए । यद्यपि दोस्रो संविधानसभाद्वारा निर्मित संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, संंघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता केही विषय मात्रा र रुपमा सकारात्मक रहेका छन्, परन्तु गुण र सारतत्वमा सो संविधानले पश्चगामी राज्यसत्ता र वर्गकै संरक्षण गरेको छ । त्यसैले सो संविधानलाई हामीले अस्वीकार गरेको कुरा स्पष्ट नै छ ।
वस्तुतः हामी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको समाधानका लागि संघीय जनगणतन्त्रको स्थापना गरी समाजवाद हुँदै साम्यवादको दिशामा अगाडि बढ्ने उद्देश्यमा आधारित रही नयाँ जनवादी क्रान्तिको तयारी गर्न गइरहेका छौं । यस प्रकारको तयारीका लागि जनताको बिचमा जान, प्रतिगामी राज्यसत्ता, व्यवस्था तथा त्यस प्रकारका प्रतिगामी एवम् दक्षिणपन्थी राजनीतिक तत्वहरुले लिएको गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीहरुलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुन सक्ने हामीले देखेका छौं । तसर्थ, हाम्रो पार्टी उक्त उद्देश्यमा सहयोग पु¥याउनका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारहरुलाई मत दिई विजयी बनाउन सम्पूर्ण आदरणीय जनसमुदायसित विशेष अनुरोध गर्दछ ।
मितिः २३ वैशाख २०७४
मोहन बैद्य ‘किरण’
अध्यक्ष
नेकपा (क्रान्तिकारी माओवादी)