विगत ५ दशकभन्दा लामो समयदेखि निरन्तर नेपालको राजनीतिमा क्रियाशील रहँदै आएका नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार गोर्कीप्रसाद श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् । वि.सं. २००८ सालमा काठमाडौंको न्हयौंखा महादेवटोलमा जन्मिएका श्रेष्ठ २०२२ सालदेखि नै नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रुपमा लागेका थिए ।
भियतनामको युद्धमा अमेरिकी बर्बरता र भियतनामी जनताले बहादुरीपूर्वक प्रतिकार गरेको देखेर राष्ट्रिय स्वाधीनताको युद्ध कति निर्ममतापूर्वक लड्नुपर्ने रहेछ भन्ने लागेर कम्युनिष्ट पार्टीमा संगठित भएर लागेका उनी सधैं क्रान्तिकारी एजेन्डामा आफूलाई समाहित गराउँदै आएका छन् । हो चि मिन्हको जीवनी र नेपाली कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालसँगको संगतले उनलाई कम्युनिष्ट आन्दोलनमा निरन्तर लागि रहन थप प्रेरणा मिलेको थियो ।
उनले २०४२ सालमा भारतको मेघालयबाट लखेटिएका नेपालीहरुलाई सहयोग गर्नका लागि बनेको समितिमा बसेर महत्वपूर्ण भूमिका खेलेका थिए भने २०४६ सालको जनआन्दोलनमा राष्ट्रिय जनआन्दोलन समितिको केन्द्रीय समितिमा बसेर काम गर्दागर्दे २०४६ साल फागुन १४ गते पक्राउ परी डेढ महिनासम्म जेल परेका थिए ।
नेपाली जनयुद्धलाई नजिक रहेर सहयोग गरेका उनी २०६२/६३ को जनआन्दोलनमा पनि सडकको मोर्चामा आफूलाई अग्रभागमा उभ्याएका थिए । यिनै संघर्षशील व्यक्तिको काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार गोर्कीप्रसाद श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप :
तपाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बन्नु भएको छ, विगतमा तपाईहरुले नै अस्वीकार गरेको संविधानसभाबाट बनेको संविधान कार्यान्वयनका लागि हुन लागेको निर्वाचनमा तपाईको पार्टीको सहभागिता किन ?
हामीले दोस्रो संविधानसभाको निर्वाचन बहिस्कार गरेकै हौं । किनभने त्यहाँ प्रजातन्त्रको पक्षधर हौं भन्ने दलहरुले प्रजातान्त्रिक आधार दलीय प्रणालीभन्दा पनि पछि हटेर कर्मचारीको नेतृत्वमा भएको थियो । त्यसकारण हामीले त्यो चुनाव स्वतन्त्र, निश्पक्ष हुन सक्दैन भनेर निर्वाचनमा भाग नलिएका हौं । जुन कुरा पुष्टि नै भयो ।
त्यसले जनताको संविधान बन्दैन भन्ने हाम्रो जुन भनाई थियो, अहिले आएर अन्तरिम संविधानमा भएका प्रावधानबाट समेत पछि हटेर संविधान ल्याइएको छ । यसप्रति हाम्रो कुनै समर्थन छैन । यसलाई हामी कुनै हालतमा स्वीकार गर्दैनौं । तर स्थानीय निकाय सिधै जनतासँग जोडिने भएकाले कतिपय कुरा बाहिर बस्दा भन्दा भित्र बसेर गर्न सकिन्छ भनेर हामी चुनावी मैदानमा आएका हौं ।
यसको अर्थ यो होइन कि हामी संविधान स्वीकार गरेर आएका हौं । हामी यसलाई उल्टाउन र जनताका जनजीविकाका सवाललाई सम्बोधन गर्नका लागि पनि निर्वाचनमा गएका हौं । आम जनताको आग्रहमा नै हामी निर्वाचनमा गएका हौं । त्यसैले हामीले यसलाई क्रान्तिकारी उपयोगका रुपमा लिएका छौं ।
तपाईहरुको उम्मेदवारी घोषणा देशैभरी हो कि केही स्थानमा मात्रै हो ?
हाम्रो उम्मेदवारी देशैभर छ । कतिपय स्थानमा नभएका पनि होलान् । तर हामीले पहिलो चरणमा हुने निर्वाचनमा पनि सबै जिल्लामा उम्मेदवारी दर्ता गराएका छौं । हामी नेपालको राजनीतिको वैकल्पिक शक्ति भएकाले पनि हामीले जनतालाई विकल्प दिन खोजेका छौं ।
तपाई देशकै सर्वाधिक चासोको केन्द्र काठमाडौं महानगरपालिकामा उम्मेदवारी दिनुभएको छ, चुनावी माहौल कस्तो छ ?
निर्वाचनको मैदानमा उत्रिइसकेपछि हाम्रो आधा जित भइसक्यो । अब जनताले हामीलाई चयन गर्नेछन् भन्ने विश्वासमा छौं । निर्णायक शक्ति जनता नै हुन् । जनताले चाहे भने हामीलाई ठूलो मत आउने छ । किनभने अहिले संसदवादी दलबाट जुन उम्मेदवार उठिरहेका छन्, उनीहरुले सत्ता र शक्तिको आडमा चुनावी मैदानमा आएका हुन् ।
काँग्रेस, एमाले माओवादी केन्द्र, राप्रपाजस्ता शक्ति जनविरोधी र राष्ट्रघाती शक्ति हुन् । यिनीहरुले दशौं, बीसौं वर्षदेखि जनतालाई चुस्ने बाहेक केही पनि काम गरेका छैनन् । जहिले पनि जनतालाई दुःख दिने काममा यिनै दलहरु अग्रपंक्तिमा छन् । त्यसकारण परिवर्तनकामी जनताले परिवर्तन चाहेका छन्, विकल्प खोजेका छन् । हामी ति जनताको विकल्प हौं ।
सत्तामा बसेर जनताको काम नगर्ने नालायकहरुलाई नै जनताले जिताउँछन् भने त मेरो भन्नु केही पनि छैन । होइन जनता परिवर्तन चाहेका हुन् भने हामी पवित्र छौं, हामीले जनतालाई कहिल्यै पनि दुःख दिएका छैनौं, जनतालाई ढाँटेका छैनौं, धोका दिएका छैनौं । त्यसकारण फटाहा पार्टी भन्दा जनताले हामीलाई चुन्नेछन् । प्रमुख भनिएका पार्टीले देशलाई लुट्नेबाहेक केही गरेका छैनन्, यिनीहरु नेता होइनन् लुटेरा हुन्, जनताले लुटेरालाई चुन्दैनन् भन्नेमा म विश्वस्त छु ।
यहाँले भनेजस्तै कुरा हो भने तपाईको उम्मेदवारी संसदवादी दललाई चुनौती दिनका लागि हो ?
पक्कै पनि हो । संसदवादी दलले कहिल्यैपनि जनताको पक्षमा बोलेका छैनन्, महंगी, भ्रष्टाचार, न्याय सुशासनमा समेत यिनीहरु असफल भइसकेका छन् । न्यायलयसमेत पवित्र हुन सकेन । किनकी न्यायलयमा पार्टीका न्यायधीसहरु छन्, यसले निश्पक्ष न्याय हुन्न भन्ने स्पष्ट देखिएको छ । यसको परिणाम अहले हामी देखिरहेका छौं । हाम्रो उम्मेदवारी संसदवादी आडम्बर, देश खोक्रो बनाउने दलाल, भ्रष्टहरुका विरुद्ध चुनौती नै हो । हामी देशलाई निकास दिनका लागि अब्बल छौं भन्ने लाग्छ ।
तपाईहरुले पार्टी छाडेर अर्कै मोर्चाबाट चुनावमा जानुभएको छ नी, तपाईहरुलाई जनताले कसरी चिन्ने र भोट हाल्ने ?
जनतालाई हामी काम गरेर चिनाउन चाहन्छौं । आफ्ना कुरा गरेर हामी जनतालाई बुझाउँछौं, जनतालाई फटाहा कुरा गरेर चिनाउन हामी चाँहदैनौं । हामीले जनताका लागि दुःख गरेका आएका छौं, संघर्ष गरेका छौं, त्यसले गर्दा जनताको श्रमलाई हामी सम्मान गर्छौ, त्यसकारण जनताले हामीलाई छान्नेछन् । यिनीहरुलाई चुनेर र चिनेर थाकिसकेका छन् । यि चारवटै पार्टीलाई भोट दिनु भनेको जनताले आफूले आफ्नै छातीमा छुरा हाने बराबर हो ।
निर्वाचन आयोगले यहाँहरुलाई दलको मान्यता र चुनाव चिन्ह समेत नदिएको अवस्थामा लत्रिदै किन निर्वाचनमा होमिनुभएको हो ?
हामी लत्रिएको होइन, हिम्मत गरेका हौं । यो सरकार, निर्वाचन आयोग निकम्मा र जनविरोधी छन् । यिनीहरु खाली कामचलाउ मात्रै हुन् । इमान्दारीतापूर्वक चुनाव गर्ने हो भने सबैलाई चुनाव चिन्ह दिएर मैदानमा उत्रने हिम्मत त तिनीहरुले गर्नुपर्छ । जनताको पक्षमा काम गर्छु भन्नेलाई आउनै नदिने जुन बार लगाएका छन् । यो कुरा अप्रजातान्त्रिक हो । अहिलेका चार दल तानाशाह हुन, प्रजातन्त्रविरोधी हुन् । उनीहरुसँग हामी मुकाबिला गर्दैछौं, डग्नेवाला छैनौं । उनीहरुको दशौं हजार भोट र हाम्रो ५ सय भोट भएपनि त्यो नै ठूलो कुरा हो । न्यायप्रेमी जनता नै हाम्रो शक्ति हो । हामी कमजोर छैनौं ।
निर्वाचन आयोगले दलीय चुनाव चिन्ह समेत नदिएको अवस्थामा किन जानुभएको त ?
जनताको अघि हामी आफ्ना कुरा राख्न आएका छौं । जनतासँग नजिक हुनका लागि हामी मैदानमा आएका हौं । अहिलेको परिस्थितिमा चुनावको भेल आएको छ हामी पनि त्यसमा सामेल भएका छौं । यदी जनताले चाहने हो भने अहिले सत्तामा भएका पुरातनवादी पार्टी भन्दा हामी एक नम्बरमा आउँछौं । यिनीहरुले जनताको पक्षमा के काम गरेका छन् ?
जनतालाई ढाँट्ने, फटाई काम गर्ने, असमान सन्धी सम्झौता गर्ने, भ्रष्टाचार, न्यायसमेत दिन सकेका छैनन् । त्यसकारण पनि न्यायप्रेमी जनता हाम्रो पक्षमा छन् । क्रान्ति गर्ने पार्टी कसैको लाइसेन्स, मान्यता चाहिएको छैन । क्रान्तिका लागि यसलाई हामी उपयोग गर्ने रणनीतिमा आएका हौं, त्यसमा हामी दृढतापूर्वक उभिएका हौं ।
काठमाडौंमा संसदवादीको विकल्पमा हामी छौं भन्दै गर्दा विवेकशील, नयाँ शक्ति जस्ता पार्टी पनि युवा उम्मेदवारसहित मैदानमा आएका छन्, उनीहरुको चर्चा देखिन्छ, तपाईहरुको चर्चा देखिन्न किन ?
गर्छु भनेर आउनेलाई स्वागत छ । तर हामीले, दुःख, कष्ट, जेलनेल, ठक्कर खाँदै यहाँ आएका हौं । हामीले मजदुर, किसान सबै हामीले भोगिसकेका छौं । यसरी नै देशलाई नेतृत्व गर्छौ भन्दै आएका प्रचण्ड–ओलीहरुलाई हेर्दा काफी हुन्छ । उनीहरु अहिले कसरी प्रतिक्रान्तिकारी कित्तामा गएर त्यसैलाई संस्थागत गर्न लागिसकेका छन् । उनीहरु पञ्चायतका पिछलग्गु बनेका छन् । हामी खारिएर परिपक्व बनेका छौं ।
युवाभन्दा कम हामी छैनौं, जोश घटेको छैन, हिम्मत हारेका छैनौं । हामी स्थानीय तहमा मात्रै होइन, राष्ट्रिय सरकारमा पुग्यौ भने पनि भारतसँग भएका असमान सन्धी सम्झौतालाई खारेज गरिदिन्छौं । के अहिलेका युवा भनिएकाले यो गर्न सक्छन् ?
काठमाडौं महानगरपालिकालाई कस्तो बनाउने सपना देख्नुभएको छ ?
हामीले यस्तो उस्तो होइन, यसलाई काठमाडौंकै रुपमा पहिचान दिन चाहन्छौं । यहाँको पुरानो पुरातात्विक स्थलको रुपमा थप सजावटसहित राख्न चाहन्छौं । म यहाँको आदिवासी नेवार समुदायको मानिस पनि हो, यसलाई हाम्रो पुरानो शैली र परम्परालाई बचाउन चाहन्छु ।
लामो समयदेखि काठमाडौंमा बसेर राजनीतिमा सक्रिय हुनुहुन्छ, यहाँका समस्याहरु के के रहेछन् ?
यहाँका मुख्य समस्या भनेको पानी, ढल, यातायातजस्ता कुरा व्यवस्थित हुन सकेका छैनन् । त्यसलाई वैज्ञानिक व्यवस्थापनको जरुरी छ । फोहोरको समस्या कहिलेकाँही विकराल बनेर आउने गरेको छ । त्यसको व्यवस्थापन जरुरी छ ।
जथाभावी फाल्ने गरिएको छ, त्यसलाई हामी नष्ट हुने र नष्ट नहुने दुई भागमा विभाजित गरेर मलको रुपमा प्रयोग गर्न सकियो भने अहिलेको फोहोरको ७० प्रतिशतभन्दा बढी समस्या हल हुन्छ । पानीको समस्यालाई समाधान गर्न हामीले ठोस कदम चाल्नेछौं । विकास निर्माणका कामलाई प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको अवस्था छ । यसलाई जनतासँग जोडेर गर्नुपर्ने आवश्यकता छ ।
काठमाडौं महानगरपालिकाका मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?
मतदाताहरुलाई हामी पुराना संसदीय भासमा गन्हाएका दलहरुको विकल्पमा हामी आएका छौं, अत्याधिक मत दिएर विजयी गराउनुहोला भन्न चाहन्छु । काठमाडौंलाई स्वच्छ वातावरण, प्रदुषणरहित काठमाडौं बनाउने हामीले सोचेका छौं । जति यहाँ यातायताको जुन समस्या छ, त्यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । सडक फराकिलो पार्ने नाममा सर्वसाधारणको जुन जनतालाई मार परेको छ । त्यस्तो अवस्थामा हामी उचित मूल्य दिएर मात्रै काम गर्नेछौं । जनतालाई अन्याय हुन दिदैनौं ।
काठमाडौं महानगरमा विकासका अनेक सपना अरु दलले देखाइरहेका छन् । यी सपना तपाईले बोक्नु भएको छैन ?
यहाँ हामीले सपना पाल्नु आवश्यक छैन । मलाई विपना नै काफी छ । जनतालाई काठमाडौं महानगरलाई जनताको आँखामा मेरो नगर भन्ने भावना जगाउन सक्यौं भनेमात्रै पुग्छ । अहिले साँच्चै भन्ने हो भने सरकार र महानगरले जुन व्यवहार गरिरकेको छ यसले आम जनतामा निराशा छाएको छ । म यहाँको नागरिक होइन भन्ने जस्तो भइरहेको छ, म पनि काठमाडौंको नागरिक हुँ, मैले पनि यहाँका लागि केही गर्नुपर्छ भन्ने भावना जगाउन सक्यौं भने धेरै काम गर्न सकिन्छ ।
याे पनि पढ्नुहाेस्
यस्तो छ देजमो काठमाडौं महानगरपालिकाको चुनावी घोषणा- पत्र