पत्रकार जिसीको गिरफ्तारीको घोर भत्र्सना

पत्रकार जिसीको गिरफ्तारीको घोर भत्र्सना

काठमाडौं । आफ्नो संगठनका केन्द्रीय सदस्य गोपाल जिसीलाई प्रहरीले समाचार लेखेकै कारण गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार महासंघले त्यसको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतले एक प्रेस वक्तव्य जारी गर्दै गिरफ्तार पत्रकार जिसीलाई तत्काल रिहाइ गर्न र उनीमाथि ज्यानमार्ने धम्की दिने कांग्रेसी नेतालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि माग गरेका छन् ।

बिहिबार राती जारी गरिएको वक्तव्यमा भनिएको छ, “हाम्रो संगठनका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका पर्वतका पूर्वउपाध्यक्ष समेत रहेका नवदृष्टि अनलाइनका पत्रकार गोपाल जिसीलाई समाचार लेखेकै कारण अपराधीलाई जसरी बिहिबार राती साढे ११ बजेतिर अनलाइनको समाचार कक्षबाटै प्रहरीले गिरफ्तार गरेको छ । “कांग्रेस नेता रामचन्द्र जोशीको घरमा सकेट बम” शीर्षकको समाचार प्रकाशित भएलगत्तै १९ बैशाखमा अनलाइनको कार्यालयमा छापा मारेर जिसीमाथि अभद्र व्यवहार गरेको प्रहरीले पुनः मध्येरातमा गिरफ्तार गरेर राज्यआतंक खडा गरेको छ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप गरेको छ । यस घटनाको हाम्रो संगठन घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दछ । गिरफ्तार गरिएका पत्रकार जिसीलाई तत्काल रिहाइ गर्न र समाचार लेखेबापत उनीमाथि ज्यानमार्ने धम्की दिने कांग्रेसी नेताहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि हाम्रो संगठन जोडदार माग गर्दछ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निरंकुशता प्रदर्शन गरेर वर्तमान सरकारले आफैले भन्ने गरेको लोकतन्त्र र कानुनी राज्यको धज्जी उडाएको छ । राज्यको यस्तो चरित्रका विरुद्ध आवाज उठाउन हाम्रो संगठन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सरकोकारवाला संगठनलगायत सबैसँग हार्दिक अपील समेत गर्दछ ।”